रातो डाँडामा सडक बत्ती जडानपछि रात पनि झिलिमिली, पैदल यात्रुलाई सहजता

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २५ चैत्र २०८२, बुधबार
2 Min Read
Aa

दाङ – लमही नगरपालिका – ५ स्थित रातो डाँडा क्षेत्र पछिल्लो समय रातको समयमा पनि उज्यालो बनेको छ । यस क्षेत्रमा सडक बत्ती जडान गरिएसँगै मुख्य सडकहरू झिलिमिली भएका छन्, जसले स्थानीयवासी र यात्रुहरूलाई ठूलो राहत मिलेको छ ।

रातो डाँडाका अधिकांश सडकमा बत्ती जडान गरिएपछि अन्धकारका कारण हुने समस्या हट्दै गएको स्थानीयहरू बताउँछन् । विशेषगरी वडा प्रहरी कार्यालय लमहीको दक्षिण भागदेखि ग्रीन लुम्बिनी होटल हुँदै लमही नगर विकास समितिको कार्यालय अगाडिसम्मको सडक खण्डमा हालै १६ वटा बत्ती जडान गरिएको लमही नगर विकास समितिको कार्यालयका प्राविधिक अधिकृत तुलसीराम अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त क्षेत्रमा रातको समयमा हिँडडुल गर्ने नागरिक, सवारी चालक तथा पैदल यात्रुहरूलाई ध्यानमा राखेर बत्ती जडान गरिएको हो । “पहिले अँध्यारो हुँदा यात्रुहरूलाई निकै असहज हुन्थ्यो, अहिले बत्ती जडानपछि आवतजावत सहज भएको छ,” उहाँले भन्नुभयो ।

सडक बत्ती जडानसँगै रातो डाँडा क्षेत्रको सुरक्षा अवस्था पनि सुधारिने स्थानीयको अपेक्षा छ । अँध्यारोका कारण हुने साना–ठूला दुर्घटना तथा आपराधिक गतिविधि नियन्त्रणमा समेत यसले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

रातको समय सोहि बाटो भएर पैदल हिडी रहेका दामोदर खत्रीले सडक बत्ती जडानपछि सो बाटो भएर आवतजावत गर्न निकै सहज भएको प्रतिक्रिया दिएका छन् । विशेषगरी राति पैदल हिँड्ने, कामबाट ढिलो फर्किने तथा विद्यार्थीहरूलाई सुरक्षित रूपमा आवतजावत गर्न सजिलो भएको खत्रीको भनाइ छ ।

लमही नगर विकासले रातो डाँडालाई “उज्यालो शहर” बनाउने अभियानअन्तर्गत विभिन्न स्थानमा सडक बत्ती जडान गर्ने कार्यलाई प्राथमिकतामा राख्दै आएको छ । सोही अभियानअन्तर्गत रातो डाँडा क्षेत्रमा गरिएको बत्ती जडानले स्थानीय विकाससँगै नागरिकको दैनिक जीवनलाई सहज बनाएको देखिन्छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्