दाङ – “लमही नगर निर्माण, महाअभियान” अन्तर्गत चौथो मेयर कप फुटबल प्रतियोगितामा लमही नगरपालिका–५ को लमही फुटबल टिम विजेता बनेको छ । चैत २५ गते सम्पन्न फाइनल खेलमा लमही टिमले कोलही फुटबल टिमलाई ३ – ० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
यस प्रतियोगितासँगै चालु आर्थिक वर्षका मेयर कप अन्तर्गतका सबै खेलहरू सम्पन्न भएका छन् । लमही नगरपालिका ४ स्थित न्यु डाँफे युवा क्लबको आयोजना तथा लमही नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा ८ वटा फुटबल टिमको सहभागिता रहेको थियो । लामो समयदेखि रोकिएको मेयर कप यस आर्थिक वर्षबाट पुनः सञ्चालनमा आएको छ ।
प्रतियोगितामा विजेता टिमलाई ४० हजार रुपैयाँ र उपविजेता टिमलाई ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै लमही र कोलही दुवै टिमले प्राप्त नगद पुरस्कारबाट ४० हजार रुपैयाँ दुर्घटनामा परी घाइते भएका लमही नगरपालिका ५ कोलहीका अशोक चौधरीलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
समापन कार्यक्रममा लमही नगरपालिका ६ का वडा अध्यक्ष श्याम नारायण चौधरी, गोरक्ष नगर टोल विकास संस्थाका अध्यक्ष लिल बहादुर रोका, वडा प्रहरी कार्यालय लमहीका प्रहरी हवल्दार हरि गिरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले खेलकुद क्षेत्रको विकासलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी दिनमा यस्ता प्रतियोगितालाई अझ व्यवस्थित र निरन्तर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “खेलकुद केवल प्रतिस्पर्धा मात्र नभई अनुशासन, सहकार्य, नेतृत्व विकास र स्वस्थ जीवनशैलीको महत्वपूर्ण आधार हो । मेयर कप जस्ता प्रतियोगिताले स्थानीय प्रतिभालाई पहिचान गर्न, युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्न र समाजमा एकता तथा सद्भाव बढाउन ठूलो भूमिका खेल्छ ।”
नगर प्रमुख चौधरीले छोटो समयमै क्रिकेट, ब्याडमिन्टन र फुटबल प्रतियोगिता सञ्चालन गरिएको उल्लेख गर्दै तयारीका क्रममा केही कमीकमजोरी भएको स्वीकार गर्नुभयो । “सीमित समय र स्रोतका बाबजुद पनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनु सबैको सहकार्यको परिणाम हो । आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ योजनाबद्ध, व्यवस्थित र स्तरिय बनाउँदै लैजानेछौं,” उहाँले भन्नुभयो ।
उहाँले प्रतियोगिता सफल बनाउन योगदान दिने खेलाडी, आयोजक, सुरक्षाकर्मी, पत्रकार, स्वयंसेवक तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै खेलकुदको माध्यमबाट समृद्ध र स्वस्थ समाज निर्माण गर्ने लक्ष्यमा सबैको साथ आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्