लमहीमा विपद् प्रतिकार्यका लागि सामुदायिक पहल स्वयंसेवक तालिम सुरु

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ७ बैशाख २०८३, सोमबार
2 Min Read
Aa

दाङ – लमहीमा विपद् प्रतिकार्यका लागि सामुदायिक पहल अन्तर्गत स्वयंसेवक तालिम सुरु भएको छ । लमही नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको उक्त तालिममा राजपुर, गढवा र राप्ती क्षेत्रका गरी २६ जना सहभागी रहेका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्य क्षमताको विकास गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा सहभागीहरूलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका मन्त्री प्रकाश श्रीवन्दलगायतको विज्ञ टोली तथा सशस्त्र प्रहरी बल नेपालको टोलीले प्रशिक्षण प्रदान गर्नेछ । तालिम अवधिभर सहभागीहरूलाई विपद् व्यवस्थापन, प्राथमिक उद्धार, आपतकालीन राहत वितरण, जोखिम मूल्याङ्कन, सुरक्षित स्थानान्तरणलगायतका विषयमा व्यवहारिक तथा सैद्धान्तिक ज्ञान दिइनेछ ।

तालिमको उद्घाटन गर्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले विपद् जस्तो संवेदनशील अवस्थामा सबै सरोकारवाला पक्षको समन्वय र सहकार्य अत्यन्त आवश्यक रहेको बताउनु भयो । उहाँले विपद् आउनु अघि नै तयारी अवस्थामा रहनु पर्नेमा जोड दिँदै, आफू र समुदायलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा सचेतना अभिवृद्धि गर्न सहभागीहरूलाई आग्रह गर्नु भयो ।

नगर प्रमुख चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा विपद् शाखा प्रमुख ललिता कुमारी कडायतले स्वागत मन्तव्य व्यक्त गर्दै स्थानीय तहमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्ता तालिमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नु भयो भने कार्यक्रमको सहजीकरण नगरपालिकाका प्रेस एडभाइजर प्रिया स्मृती गजमेरले गर्नु भएको थियो ।

तालिमले स्थानीय स्तरमै दक्ष स्वयंसेवक उत्पादन गरी विपद् आइपर्दा छिटो, प्रभावकारी र समन्वित रूपमा उद्धार तथा राहत कार्य सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै यसले समुदायमा विपद् पूर्वतयारी तथा जोखिम न्यूनीकरणसम्बन्धी सचेतना फैलाउन समेत टेवा पुग्ने विश्वास गरिएको छ । तालिम ७ दिन सम्म संचालन हुने छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्