गायक अमृत विश्वकर्माको ‘पश्चिम पोखरा’ सार्वजनिक, शान्तिश्री परियारको स्वरले थपियो मिठास

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १८ जेष्ठ २०८३, सोमबार
3 Min Read
Aa

दाङ – लोक तथा दोहोरी गीत संगीतका प्रतिभाशाली गायक तथा सर्जक अमृत विश्वकर्माले आफ्नो नयाँ लोकदोहोरी गीत ‘पश्चिम पोखरा’ सार्वजनिक गर्नु भएको छ । उक्त गीत विश्वकर्माले आफ्नै आधिकारिक युट्युब च्यानल ‘अमृत अफिसियल’ मार्फत दर्शक तथा श्रोतामाझ ल्याउनु भएको हो ।

माया प्रेमको भावनालाई केन्द्रमा राखेर तयार पारिएको यो गीतमा प्रेमी प्रेमिकाबीचको आत्मीय सम्बन्ध, विश्वास, शंका र प्रेमिल संवादलाई निकै सरल तथा मन छुने ढंगले प्रस्तुत गरिएको छ । गीतका शब्दहरूले मायाको गहिराइ, प्रिय व्यक्तिप्रतिको चासो र मनभित्रका अव्यक्त भावनाहरूलाई जीवन्त रूपमा अभिव्यक्त गरेका छन् ।

गीतको मुख्य अंश “पश्चिम पोखरा, आफ्नै सम्झेर बोल्न खोज्छु म, बोल्नै खोज्दिनौ माया, मनमा को छ र…” ले मायालुसँगको सम्बन्धमा उत्पन्न हुने कौतुहलता, प्रतीक्षा र भावनात्मक संवादलाई उजागर गर्दछ । प्रेमीले आफ्नी मायालुलाई मनमा के छ भन्ने जिज्ञासा राख्दै सोधपुछ गरिरहेको भाव गीतभरि सुनिन्छ । यही भावनात्मक प्रस्तुतिले गीतलाई अझ आकर्षक बनाएको छ ।

गीतमा चर्चित लोक तथा दोहोरी गायिका शान्तिश्री परियारको सुमधुर स्वरले विशेष आकर्षण थपेको छ । अमृत विश्वकर्मा र शान्तिश्री परियारको स्वर संयोजनले गीतलाई थप जीवन्त र कर्णप्रिय बनाएको छ । दुवै गायक गायिकाको आवाजले गीतमा रहेको प्रेम, भावना र संवेदनालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको महसुस गर्न सकिन्छ ।

गीतको शब्द तथा संगीत स्वयं अमृत विश्वकर्माले सिर्जना गर्नु भएको हो । लोक संगीतको मौलिक स्वादलाई कायम राख्दै तयार पारिएको गीतमा आधुनिक संगीत संयोजनको समेत सुन्दर प्रयोग गरिएको छ । गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ आशिष अविरलले गर्नु भएको छ । उहाँको संगीत संयोजनले गीतलाई थप श्रवणयोग्य र स्तरिय बनाएको छ ।

भिडियो पक्ष पनि उत्तिकै आकर्षक बनेको छ । गीतको निर्देशन तथा नृत्य निर्देशन मुकेश नेपालीले गर्नु भएको हो । भिडियोमा अमृत विश्वकर्मा र जुना विश्वकर्माको अभिनय देख्न सकिन्छ । उनीहरूको प्रस्तुतिले गीतको कथावस्तु र भावनालाई प्रभावकारी रूपमा दर्शकसम्म पुर्‍याएको छ । बुद्ध थापाले छायाङ्कन गर्नु भएको भिडियो दृश्यात्मक रूपमा समेत उत्कृष्ट बनेको छ ।

लामो समयपछि नेपाली गीतसंगीत क्षेत्रमा पुनः सक्रिय रूपमा फर्किनु भएका गायक अमृत विश्वकर्माको यो गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ । विगतमा पनि थुप्रै सिर्जनामार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल विश्वकर्माले ‘पश्चिम पोखरा’ मार्फत पुनः आफ्नो सांगीतिक यात्रालाई नयाँ उचाइ दिन खोज्नु भएको देखिन्छ ।

माया प्रेमका मिठा शब्द, सुमधुर स्वर, उत्कृष्ट संगीत संयोजन र आकर्षक भिडियो प्रस्तुति रहेको ‘पश्चिम पोखरा’ अहिले दर्शक तथा श्रोतामाझ लोकप्रिय बन्दै गएको छ । नेपाली लोकदोहोरी संगीत रुचाउनेहरूका लागि यो गीत विशेष रोजाइ बन्न सक्ने देखिन्छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्