राजपुरको सार्वजनिक सुनुवाइ : शिक्षा, स्वास्थ्यदेखि योजना अनुगमनसम्मका विषयमा नागरिकका गुनासा

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ७ असार २०८३, आईतवार
5 Min Read
Aa

दाङ – राजपुर गाउँपालिकाले आर्थिक वर्षभरि सम्पादन गरेका कामकारबाही तथा सेवा प्रवाहबारे नागरिकलाई जानकारी गराउने र जनताका गुनासा तथा सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागी स्थानीयवासीहरूले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, सडक पूर्वाधार, योजना कार्यान्वयन, अनुगमन तथा भुक्तानी प्रक्रियालगायतका विषयमा विभिन्न गुनासा र जिज्ञासा राखेका थिए ।

सार्वजनिक सुनुवाइमा अधिकांश सहभागीहरूले पालिकाबाट प्रदान गरिने सेवा प्रवाह अपेक्षाअनुसार छिटो, छरितो र प्रभावकारी हुन नसकेको बताएका थिए । कतिपय सेवाग्राहीले योजना सम्पन्न भए पनि भुक्तानीमा ढिलाइ हुने, कृषि तथा रोजगार कार्यक्रमको पहुँच सबै नागरिकसम्म पुग्न नसकेको धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा उठेका शिक्षा क्षेत्रसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिँदै शिक्षा अधिकृत बासुदेव खनालले गाउँपालिकाले विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले विद्यालयमा शिक्षक व्यवस्थापन, शैक्षिक सामग्री वितरण, विद्यालय पूर्वाधार निर्माण तथा विद्यार्थीहरूको सिकाइ उपलब्धि वृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

स्थानीयवासीहरूले विद्यालयमा शिक्षक अभाव, समयमै पाठ्यपुस्तक उपलब्ध नहुने तथा केही विद्यालयमा शैक्षिक वातावरण कमजोर रहेको विषय उठाएका थिए । त्यसको जवाफमा खनालले शिक्षक व्यवस्थापन संघीय तथा प्रदेश सरकारको नीतिसँग समेत जोडिएको विषय भएकाले उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी समस्या समाधान गर्ने प्रयास भइरहेको बताउनुभयो । उहाँले विद्यालय अनुगमनलाई थप प्रभावकारी बनाइने र समुदायको सहभागिता बढाएर शिक्षाको गुणस्तर सुधार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गाउँपालिकाका सम्पूर्ण वडाहरूको प्रतिनिधित्व गर्दै वडा नम्बर १ का वडा अध्यक्ष सूर्यप्रसाद चौधरीले स्थानीयवासीहरूले उठाएका विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी गुनासाहरूको जवाफ दिनुभयो । उहाँले सीमित बजेट र स्रोतसाधनका बाबजुद पनि सबै वडामा समान रूपमा विकासका कार्यक्रम सञ्चालन गर्ने प्रयास भइरहेको बताउनुभयो ।

स्थानीयले सडक, खानेपानी, कृषि, सिंचाइ तथा पूर्वाधार विकासका योजनाहरू समयमै सम्पन्न हुन नसकेको गुनासो गरेका थिए । त्यसको जवाफमा अध्यक्ष चौधरीले कतिपय योजनामा प्राविधिक समस्या, मौसमको प्रतिकूलता तथा बजेट निकासाको प्रक्रियागत कारणले ढिलाइ हुने गरेको स्वीकार गर्नुभयो । उहाँले आगामी दिनमा योजना छनोटदेखि कार्यान्वयन र अनुगमनसम्म जनप्रतिनिधि तथा नागरिकबीच समन्वय बढाएर परिणाममुखी काम गरिने बताउनुभयो ।

सार्वजनिक सुनुवाइमा उठेका समग्र गाउँपालिकासँग सम्बन्धित विषयमा प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जवाफ दिनुभएको थियो । उहाँले पालिकाले कानूनी प्रक्रिया र विद्यमान ऐन नियमको परिधिभित्र रहेर सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

सेवाग्राहीहरूले विभिन्न शाखाबाट सेवा लिन जाँदा प्रक्रिया लामो हुने, कागजी झन्झट धेरै हुने तथा कतिपय अवस्थामा समयमै काम सम्पन्न नहुने गुनासो गरेका थिए । त्यसको जवाफमा रिजालले कर्मचारीको सीमित संख्या, बढ्दो सेवाग्राहीको चाप तथा प्रक्रियागत कारणले केही समस्या देखिए पनि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन प्रयास भइरहेको बताउनुभयो ।

उहाँले योजनाको भुक्तानी, प्रशासनिक सेवा तथा विभिन्न सिफारिससम्बन्धी कार्यलाई छिटोछरितो बनाउन कार्यालयले आवश्यक सुधारका कदम चालिरहेको जानकारी दिनुभयो । साथै नागरिकका सुझावलाई आगामी नीति तथा कार्यक्रम निर्माणमा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्थानीयवासीहरूले नदिजन्य पदार्थको उत्खनन तथा व्यवस्थापन प्रभावकारी हुन नसकेको विषयलाई प्रमुख रूपमा उठाएका थिए । सहभागीहरूले अवैध उत्खनन नियन्त्रणमा कमजोरी देखिएको र यसले वातावरणीय असर पारिरहेको बताएका थिए ।

यस विषयमा गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवले नदिजन्य पदार्थको उत्खनन तथा व्यवस्थापन कानूनी प्रक्रिया अनुसार सञ्चालन गरिने बताउँदै अनियमित गतिविधि नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो । उहाँले वातावरणीय सन्तुलन कायम राख्दै राजस्व वृद्धि गर्ने नीति अनुसार काम भइरहेको बताउनुभयो ।

योजना निर्माणका क्रममा मापदण्डभन्दा कमसल सामग्री प्रयोग हुने गरेको र त्यसको प्रभावकारी अनुगमन नहुने गुनासाको जवाफ दिँदै अध्यक्ष शरदकुमार बुढाथोकीले अनुगमन संयन्त्रलाई थप सक्रिय बनाइने बताउनुभयो । उहाँले गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायी वा उपभोक्ता समितिलाई आवश्यक कारबाही गरिने स्पष्ट पार्नुभयो ।

त्यस्तै कर्मचारी भर्ना प्रक्रियामा बिना विज्ञापन नियुक्ति हुने गरेको भन्ने स्थानीयको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष बुढाथोकीले गाउँपालिकाले कानूनी प्रक्रिया अनुसार मात्रै कर्मचारी छनोट गर्ने गरेको बताउनुभयो । यदि कतै त्रुटि भएको प्रमाण भेटिएमा छानबिन गरी आवश्यक कदम चालिने उहाँको भनाइ थियो ।

नागरिकका सुझावलाई नीति निर्माणमा समेटिने

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले सार्वजनिक सुनुवाइलाई जनताका आवाज सुन्ने प्रभावकारी माध्यमका रूपमा लिँदै उठेका समस्याको व्यवहारिक समाधान हुनुपर्ने माग गरेका थिए । गाउँपालिकाले नागरिकबाट प्राप्त सुझाव, गुनासा र जिज्ञासालाई आगामी योजना, नीति तथा कार्यक्रम निर्माणमा समेटेर सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण अडियो ब्रोडकास्ट सेन्टर लमहीका दुखहरण यादव, पत्रकार प्रिया स्मृती गजमेर तथा निराजन यादवले गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्