दाङ – लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले जेष्ठ नागरिक समाजका जिउँदा इतिहास, अनुभवका भण्डार तथा भावी पुस्ताका प्रेरणाका स्रोत भएको बताउनु भएको छ ।
लमही नगरपालिका ५ स्थित रातोडाँडा जेष्ठ नागरिक सञ्जाल भजन कीर्तन समूहको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जेष्ठ नागरिकले जीवनभर समाज, परिवार र राष्ट्र निर्माणमा पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो । उहाँले आजको पुस्ताले प्राप्त गरेका अवसर, विकास र सामाजिक चेतना जेष्ठ नागरिकको संघर्ष, मेहनत र अनुभवकै परिणाम भएको बताउँदै उनीहरूलाई सम्मान गर्नु सबैको साझा दायित्व भएको धारणा राख्नुभयो ।
कार्यबाहक नगर प्रमुख योगीले जेष्ठ नागरिकलाई बोझका रूपमा होइन, अनुभव, ज्ञान र संस्कारका धनी व्यक्तिका रूपमा हेर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “जेष्ठ नागरिकसँग जीवनका अमूल्य अनुभव छन्। उनीहरूका अनुभव र सुझावले परिवार, समाज तथा नयाँ पुस्तालाई सही मार्गदर्शन गर्न ठूलो भूमिका खेल्न सक्छ । त्यसैले जेष्ठ नागरिकको सम्मान, सुरक्षा र अधिकारको सुनिश्चितता गर्नु राज्य र समाज दुवैको जिम्मेवारी हो ।”
उहाँले पछिल्लो समय संयुक्त परिवारको परम्परा कमजोर बन्दै जाँदा धेरै जेष्ठ नागरिक एक्लोपनको समस्यामा परेको उल्लेख गर्दै उनीहरूलाई सामाजिक रूपमा सक्रिय बनाउने कार्यक्रम आवश्यक रहेको बताउनुभयो । भजन कीर्तन, योग, स्वास्थ्य सचेतना, मनोरञ्जन तथा सामाजिक सहभागितामूलक गतिविधिले जेष्ठ नागरिकमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो ।
योगीले लमही नगरपालिकाले जेष्ठ नागरिकमैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्दै उनीहरूको स्वास्थ्य, सामाजिक सुरक्षा, सम्मान र सक्रिय सहभागितालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जेष्ठ नागरिकको अनुभवलाई स्थानीय विकास, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षणमा उपयोग गर्न सके समाज अझ समृद्ध बन्ने धारणा राख्नुभयो ।
कार्यक्रममा लमही नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष ओमप्रकाश सुवेदीले जेष्ठ नागरिक समाजका मार्गदर्शक भएको उल्लेख गर्दै उनीहरूको सम्मान र संरक्षणमा वडा कार्यालय सधैं प्रतिबद्ध रहने बताउनुभयो । उहाँले जेष्ठ नागरिकका आवश्यकता सम्बोधन गर्न स्थानीय तहले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
लमही नगरपालिका स्तरीय जेष्ठ नागरिक सञ्जालका अध्यक्ष दामोदर पाण्डेले जेष्ठ नागरिकको सम्मान व्यवहारमा पनि देखिनुपर्नेमा जोड दिँदै उनीहरूका अनुभवलाई समाज निर्माणमा उपयोग गर्न आग्रह गर्नुभयो ।
सञ्जालका सचिव शशिधर ज्ञवालीले जेष्ठ नागरिकलाई सामाजिक रूपमा सक्रिय राख्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा पनि विभिन्न रचनात्मक गतिविधि सञ्चालन गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा ८४ वर्ष पुरा गरेका ८ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ भने आर्थिक सहयोग गर्ने दातालाई समेत सम्मान गरिएको छ । वार्षिकोत्सव कार्यक्रममा भजन कीर्तन, सम्मान तथा शुभकामना आदानप्रदानका विभिन्न कार्यक्रम सम्पन्न भएका थिए । सहभागीहरूले जेष्ठ नागरिकको सम्मान, सुरक्षा र सक्रिय सहभागितामार्फत सभ्य, संस्कारित र समुन्नत समाज निर्माण गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्