दाङ – पछिल्लो समय तीज गीतका नाममा विकृति, विसंगति र मनोरञ्जनलाई मात्र प्राथमिकता दिने प्रवृत्ति बढिरहेका बेला नेपाली मौलिक संस्कार, संस्कृति, रीतिरिवाज तथा छोरीचेलीले भोग्ने यथार्थ जीवनका पीडालाई केन्द्रमा राखेर तयार गरिएको तीज गीत ‘छोरीको जुनी’ सार्वजनिक भएको छ ।
चर्चित लोकदोहोरी गायिका देवी घर्ती मगर, प्रतिभाशाली गायक तथा मोडल युस्कल छिनाल र गायिका निशा केसीको सुमधुर आवाजमा सजिएको उक्त गीत केही दिनअघि तेजेन्द्र भण्डारी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ ।
गीतमा सुनिल पौडेलको मार्मिक शब्द सिर्जना रहेको छ भने युस्कल छिनालले संगीत भरेका छन । संगीत संयोजन (एरेन्ज) श्री शिवले गरेका हुन । गीतको भावअनुसार तयार गरिएको भिडियोको कोरियोग्राफी ऋतु थापा मगरले गरेकी छन्, जसले गीतको कथावस्तुलाई अझ प्रभावकारी रूपमा प्रस्तुत गरेको देखिन्छ ।
गीतको भिडियोमा दीपा थापा, कौशिला भण्डारी, ऋतु थापा मगर, खुशी श्रेष्ठ, रेजिना रेग्मी, पारु कार्की र मनोज क्षेत्रीको अभिनय रहेको छ । कलाकारहरूको स्वाभाविक अभिनयले गीतको भावलाई अझ जीवन्त बनाएको छ । विशेषगरी विवाहपछि छोरीले माइतीसँग आफ्ना दुःख, पीडा, जिम्मेवारी र मनका भावनाहरू पोख्ने संवेदनशील कथालाई भिडियोमार्फत निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
‘छोरीको जुनी’ मनोरञ्जनका लागि तयार गरिएको गीत होइन, यसले नेपाली समाजमा छोरीले जन्मेदेखि विवाहपछिसम्म भोग्नुपर्ने अनेकौं भावनात्मक, सामाजिक र पारिवारिक अवस्थाको चित्रण गरेको छ । माइतीको माया, घरपरिवारको जिम्मेवारी, समाजका अपेक्षा र आफ्ना रहरहरूलाई दबाएर बाँच्नुपर्ने बाध्यताको कथा गीतले सरल तर गहिरो शैलीमा व्यक्त गरेको छ । यही कारणले गीतले धेरै छोरीचेलीको वास्तविक जीवनसँग मेल खाने सन्देश बोकेको अनुभूति गराउँछ । केहि समय अघि अमेरिकामा आफ्नै श्रीमानबाट मारिएकी ममता काफ्लेको सम्झनामा समेत शब्द कोरिएको छ ।
पछिल्ला वर्षहरूमा तीज गीतहरूमा मौलिक संस्कृतिभन्दा पनि तडकभडक, अश्लील शब्द, अनावश्यक प्रदर्शन र विकृतिलाई प्राथमिकता दिएको भन्दै आलोचना हुँदै आएको छ । यस्तो अवस्थामा ‘छोरीको जुनी’ले भने नेपाली समाजको वास्तविक कथा, संस्कार, परिवारप्रतिको सम्मान र तीज पर्वको मौलिक भावनालाई पुनः स्थापित गर्ने प्रयास गरेको देखिन्छ । यसले तीज गीतहरू मनोरञ्जनसँगै सामाजिक सन्देशका माध्यम पनि हुन सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ ।
गायिका देवी घर्ती मगरको अनुभवी गायन, गायक युस्कल छिनालको भावपूर्ण प्रस्तुति र निशा केसीको मधुर स्वरले गीतलाई अझ प्रभावशाली बनाएको छ । विशेषगरी लामो समयदेखि नेपाली गीत संगीतको क्षेत्रमा निरन्तर संघर्षरत रहेका गायक तथा संगीतकार युस्कल छिनालले यस गीतमार्फत आफ्नो सांगीतिक क्षमता पुनः प्रमाणित गरेका छन ।
समग्रमा, ‘छोरीको जुनी’ नेपाली तीज पर्वको मौलिकता, छोरीचेलीको जीवन भोगाइ, परिवारप्रतिको आत्मीयता र सामाजिक यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गरिएको सन्देशमूलक तीज गीतका रूपमा स्थापित हुने छ । मौलिक नेपाली संस्कृति, रीतिरिवाज र संवेदनशील विषयवस्तु मन पराउने दर्शक श्रोताका लागि यो गीत विशेष आकर्षण बन्न सक्ने देखिन्छ । यो गीतको पुरा भिडियो हेर्न तलको लिंक क्लिक गर्नु होला । https://www.youtube.com/watch?v=TVfclu3WaB

प्रतिक्रिया दिनुहोस्