नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी हो । यो एउटा राजनीतिक संगठन मात्र होइन, लोकतन्त्र, नागरिक अधिकार, सामाजिक न्याय र राष्ट्रिय राजनीतिक परिवर्तनका अनेकौँ अध्यायसँग जोडिएको संस्था हो । त्यसैले कांग्रेसभित्र हुने हरेक गतिविधि, विवाद र नेतृत्व संघर्षलाई देशले गम्भीरतापूर्वक हेर्छ । पछिल्लो समय कांग्रेसभित्र देखिएको नेतृत्वसम्बन्धी विवाद र सार्वजनिक रूपमा देखिन थालेको गुटगत तानातानले कांग्रेसका शुभेच्छुक, कार्यकर्ता र आम नागरिकलाई चिन्तित बनाएको छ ।
आज कांग्रेसीहरू एकअर्कालाई बत्ताएर, कमजोर बनाएर वा विगतका शक्ति केन्द्रलाई उचालेर अघि बढ्ने समय होइन । आजको आवश्यकता पार्टीलाई एकताबद्ध बनाएर नयाँ पुस्ताको नेतृत्वमा अघि बढाउने हो । वर्तमान नेतृत्वको विषयमा पार्टीभित्र जुनसुकै मतभिन्नता भए पनि त्यसको समाधान विधि, विधान, संवाद र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्छ । सार्वजनिक रूपमा एकअर्काविरुद्ध शक्ति प्रदर्शन गर्ने, कार्यकर्तालाई विभाजित गर्ने र पार्टीभित्र अविश्वास बढाउने कामले कसैलाई फाइदा गर्दैन ।
नेपाली कांग्रेसका सम्मानित पूर्वसभापति शेरबहादुर देउवाले पार्टी र देशको राजनीतिमा लामो योगदान दिनुभएको छ । उहाँको राजनीतिक योगदानलाई सम्मान गर्दै अब कांग्रेसले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने बहसलाई पनि स्वाभाविक रूपमा स्वीकार गर्न सक्नुपर्छ । लोकतन्त्रको सुन्दरता नै पुस्तान्तरणमा छ । एउटै व्यक्तिले सधैँ एउटै पद र शक्तिमा रहनुपर्छ भन्ने सोच लोकतान्त्रिक पार्टीको आत्मासँग मेल खाँदैन ।
नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने, परिवर्तनको आवाज उठाउँदै आएको र संगठनलाई आधुनिक राजनीतिक सोचसँग जोड्ने नेतृत्वका रूपमा गगन कुमार थापाबाट धेरैले अपेक्षा गरेका छन् । त्यसैले कांग्रेसलाई अब पुरानै शैलीको गुटगत संघर्षमा अल्झाइराख्ने कि नयाँ ऊर्जा, नयाँ सोच र नयाँ राजनीतिक संस्कारसहित अगाडि बढाउने भन्ने प्रश्न कांग्रेसजनसामु खडा भएको छ ।
गगन थापाको नेतृत्व स्वीकार गर्नु भनेको पुराना नेताहरूको अपमान गर्नु होर ? उहाँहरू कांग्रेसको इतिहास र संघर्षका महत्वपूर्ण पात्र हुनुहुन्छ । बरु उहाँहरूको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोडेर कांग्रेसलाई बलियो बनाउनु नै आजको बुद्धिमानी बाटो हो । पुराना पुस्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व एकअर्काका विरोधी होइनन्; यी दुईबीचको सहकार्य नै कांग्रेसको शक्ति बन्न सक्छ ।
मोहन बस्नेत, विमलेन्द्र निधि, कान्छाराम तामाङ, मीन विश्वकर्मा, कृष्ण सिटौला तथा कोइराला परिवारका नेताहरूजस्ता कांग्रेसका प्रभावशाली व्यक्तित्वहरूसँग पार्टीभित्र आफ्नो राजनीतिक धारणा राख्ने पूर्ण अधिकार छ तर त्यो अधिकार पार्टी निर्माणका लागि प्रयोग गर्ने कि नेतृत्व संघर्षलाई थप जटिल बनाउने ?
यदि असहमति छ भने पार्टीको बैठकमा राखौँ । यदि नेतृत्वप्रति प्रश्न छ भने विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान खोजौँ । यदि गगन थापाको कार्यशैलीप्रति असन्तुष्टि छ भने प्रमाणसहित आलोचना गरौँ । तर कार्यकर्तालाई गुटमा बाँडेर, पुराना शक्ति केन्द्रलाई सक्रिय बनाएर वा व्यक्तिगत प्रतिष्ठाको लडाइँलाई पार्टीको भविष्यभन्दा माथि राखेर कांग्रेसलाई कमजोर बनाउने काम कसैले नगरौँ । यो कार्यकर्तालाई मान्य हुने छैन ।
इतिहासले नेताको पद मात्र हेर्दैन, संकटको समयमा उसले पार्टी र देशका लागि कस्तो निर्णय गर्यो भन्ने पनि हेर्छ । आज कांग्रेसभित्र रहेका हरेक नेताले आफूलाई एउटा प्रश्न गर्नुपर्ने समय आएको छ “म कांग्रेसलाई बलियो बनाउन राजनीति गरिरहेको छु कि आफ्नो गुट र पदलाई बलियो बनाउन ?”
कांग्रेसका कार्यकर्ताले वर्षौँदेखि नेताहरूको पक्ष र विपक्षमा नाराबाजी गर्दै आएका छन् । कसैको पक्षमा लाग्दा अवसर पाइन्छ, अर्को पक्षमा लाग्दा अर्को अवसर आउँछ भन्ने राजनीतिक संस्कारले कार्यकर्तालाई निराश बनाएको छ । अब कार्यकर्ता कुनै नेताको व्यक्तिगत शक्ति प्रदर्शनका लागि प्रयोग हुने समय सकिनुपर्छ । कार्यकर्ता विचारका लागि, संगठनका लागि र देशका लागि परिचालित हुनुपर्छ ।
आजको युवा कांग्रेसले रोजगारी, शिक्षा, प्रविधि, उद्यमशीलता, भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायको कुरा खोजिरहेको छ । विदेशिन बाध्य युवाको प्रश्न छ । किसानको प्रश्न छ । मध्यम वर्गको बढ्दो आर्थिक दबाब छ । राज्यका संस्थाप्रति घट्दै गएको विश्वास पुनःस्थापित गर्ने चुनौती छ । यस्तो अवस्थामा कांग्रेसको ऊर्जा आपसी झगडामा खर्च हुनु दुर्भाग्यपूर्ण हो । त्यसैले अहिले आवश्यक एकता, पुस्तान्तरण र कार्यसम्पादन हो ।
गगन थापाको नेतृत्वमा कांग्रेस अघि बढ्नुपर्छ भन्ने धारणा राख्नेहरूलाई पनि एउटा सुझाव छ । नेतृत्व पाएपछि पुराना नेताहरूको आलोचना गरेर पुग्दैन । संगठनलाई बलियो बनाउने, सबै पक्षलाई समेट्ने, योग्य र इमानदार कार्यकर्तालाई अवसर दिने तथा पार्टीभित्र फरक मत राख्नेहरूलाई पनि सम्मान गर्ने संस्कार स्थापित गर्नुपर्छ । नेतृत्वको वास्तविक परीक्षा विरोधीलाई दबाउनु नभई विरोधी मतलाई समेत साथ लिएर हिँड्न सक्नु हो ।
त्यसैगरी गगन थापाको नेतृत्वप्रति असहमति राख्ने नेताहरूलाई पनि आग्रह छ असहमति राख्नुहोस्, तर पार्टी नफुटाउनुहोस् । आलोचना गर्नुहोस्, तर व्यक्तिगत आरोप प्रत्यारोपको तहमा नझर्नुहोस् । प्रतिस्पर्धा गर्नुहोस्, तर कांग्रेसको संस्थागत शक्ति कमजोर हुने गरी होइन ।
शेरबहादुर देउवाको योगदानलाई सम्मान गरेर पनि नयाँ पुस्तालाई अगाडि ल्याउन सकिन्छ । पुराना नेताहरूको अनुभवलाई सम्मान गरेर पनि गगन थापाजस्तो नयाँ पुस्ताको नेतृत्वलाई बलियो बनाउन सकिन्छ । कांग्रेसमा यी दुई कुरा एकसाथ सम्भव छन् । अब कांग्रेसले निर्णय गर्नुपर्छ हामी इतिहासको उपलब्धिमा मात्र गर्व गर्ने पार्टी बन्ने कि भविष्य निर्माण गर्ने पार्टी बन्ने ?
यदि कांग्रेस फेरि जनताको विश्वास जित्न चाहन्छ भने उसले आफूभित्रको अविश्वास पहिले हटाउनुपर्छ । नेताहरूबीचको व्यक्तिगत टकराव अन्त्य गर्नुपर्छ । गुटगत भागबन्डाको राजनीतिबाट माथि उठ्नुपर्छ । युवा पुस्तालाई वास्तविक जिम्मेवारी दिनुपर्छ । अनि सबैभन्दा महत्वपूर्ण कुरा, पार्टीको नेतृत्वलाई संस्थागत बनाउनुपर्छ ।
कांग्रेसभित्रका सबै नेताहरूलाई खबरदारी छ, यो फुट्ने समय होइन, जुट्ने समय हो । यो एकअर्काको खुट्टा तान्ने समय होइन, देश र जनताको पक्षमा उभिने समय हो । व्यक्तिगत पद, प्रतिष्ठा र शक्ति क्षणिक हुन्; पार्टीको इतिहास र लोकतन्त्रप्रतिको जिम्मेवारी दीर्घकालीन हो यो कुरा बुझ्नु पर्दैन ?
भोलि इतिहासले कांग्रेसका नेताहरूलाई मूल्यांकन गर्नेछ । त्यो मूल्यांकनमा कसले कति पद पायो भन्नेभन्दा पनि संकटको समयमा कसले कांग्रेसलाई एकताबद्ध राख्यो, कसले पुस्तान्तरणको बाटो खोल्यो र कसले व्यक्तिगत स्वार्थभन्दा पार्टीलाई माथि राख्यो भन्ने कुरा महत्वपूर्ण हुनेछ ।
त्यसैले आजको कांग्रेसका लागि सबैभन्दा ठूलो आवश्यकता नेतृत्वविरुद्धको विद्रोह होइन, नेतृत्वभित्रको लोकतान्त्रिक सहमति हो । गगन थापाको नेतृत्वलाई बलियो बनाउँदै पुराना पुस्ताको अनुभवलाई सम्मानपूर्वक उपयोग गर्न सकियो भने कांग्रेसले नयाँ राजनीतिक अध्याय सुरु गर्न सक्छ ।
कांग्रेसभित्र नयाँ पुस्ताको नेतृत्वको विकल्प खोज्ने नाममा फेरि पुरानै शक्ति संघर्ष दोहोर्याउने हो भने त्यसले पार्टीलाई थप कमजोर बनाउनेछ । गगन थापाको नेतृत्वमा कांग्रेसलाई नयाँ ऊर्जा, नयाँ विश्वास र नयाँ राजनीतिक संस्कारका साथ अघि बढाउनुको विकल्प छैन । नेतृत्व सबैलाई समेट्ने हुनुपर्छ । त्यो नेतृत्व विधिमा आधारित हुनुपर्छ । त्यो नेतृत्व कार्यकर्ताको आवाज सुन्ने हुनुपर्छ । र त्यो नेतृत्वले कांग्रेसलाई व्यक्ति होइन, संस्था बनाउने लक्ष्य लिनुपर्छ ।
कांग्रेसका नेताहरूले अब एकपटक गम्भीर भएर सोच्नैपर्छ पदमा बसिरहने राजनीति कति लामो ? नेतृत्व हस्तान्तरणको ढोका कहिले खोल्ने ? नयाँ पुस्ताले जिम्मेवारी कहिले पाउने ? उत्तर खोज्ने समय पनि यही हो । कांग्रेस बचाउने हो भने गुट होइन, संगठन रोजौँ । टकराव होइन, संवाद रोजौँ । पद होइन, पुस्तान्तरण रोजौँ । फुट होइन, एकता रोजौँ । र नयाँ कांग्रेसका लागि गगन थापाको नेतृत्वलाई बलियो बनाऔँ । यही नै आजको आवश्यकता हो । यही नै कांग्रेसको भविष्यप्रतिको जिम्मेवारी हो ।

प्रतिक्रिया दिनुहोस्