दाङ – घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।
गत भदौ ३ गते बेलुका करिब ८ बजे सौडियारबाट सर्रातर्फ आउदैं गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट बसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा अटोमा सवार तीन जना घाइते भएका थिए । घाइतेमध्ये घोराही उपमहानगरपालिका ५ बसन्तपुर निवासी ४५ वर्षीय अटो चालक विनोद पौडेलको उपचारका क्रममा मृत्यु भएको हो । पौडेलको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारका क्रममा भदौ ४ गते बिहान २:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अन्य दुई जनाको अवस्था मध्यम रहेको जनाइएको छ । घटनापछि प्रहरीले ट्याक्टर र ट्याक्टर चालक घोराही उपमहानगरपालिका १७ भैसाही निवासी २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्