बाँके – बैजनाथ राष्ट्रिय दैनिकको आयोजनामा सञ्चालित ‘आदर्श तीज नृत्य प्रतियोगिता–२०८३, सिजन–३’ भव्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै वागेश्वरी एकेडेमी प्रथम भएको छ ।
बैजनाथ राष्ट्रिय दैनिकका प्रकाशक कुशल दलामीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा विभिन्न विद्यालय तथा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो । तीजको सांस्कृतिक मौलिकता, नेपाली कला तथा प्रतिभालाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम स्थान हासिल गरेको वागेश्वरी एकेडेमीले नगद ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । त्यस्तै बी.भी.एम. ले द्वितीय स्थान हासिल गर्दै नगद ३० हजार रुपैयाँ तथा तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको व्यक्तिगततर्फ न्यान्सी रावल प्रथम, प्रार्थना कुँवर द्वितीय, नलिना गुरुङ तृतीय र अनु चौधरी चतुर्थ भएका छन् ।
बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकायको प्रमुख आतिथ्यता तथा पूर्वमन्त्री एवं संविधानसभा सदस्य दल बहादुर सुनारको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्ली राज रेग्मी, बैजनाथ गाउँपालिका ५ का वडा सदस्य एवं न्यायिक समिति सदस्य दीप बहादुर थापा, युवा समाजसेवी बिशन गुरुङ, जि गाउँ तेक्वान्दो डोजाङका सञ्चालक सुवास जीएम, नेपाल सरकारका अधिकृत वीर बहादुर पोख्रेल, बागिना कला केन्द्रका अध्यक्ष गणेश बिष्ट लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालयका प्रतिनिधि तथा सहभागीहरूको उपस्थिति रहेको कार्यक्रम संयोजक अनमोल दलामीले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं संविधानसभा सदस्य दल बहादुर सुनारले बैजनाथ राष्ट्रिय दैनिकले प्रत्येक वर्ष आयोजना गर्दै आएको आदर्श तीज नृत्य प्रतियोगिताले स्थानीय प्रतिभाको पहिचान र प्रोत्साहनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले आगामी दिनमा कार्यक्रम अझ सभ्य, भव्य र व्यवस्थित बन्दै जाओस् भन्दै विजेता तथा उपविजेतासहित सम्पूर्ण सहभागीलाई बधाई दिनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा बैजनाथ राष्ट्रिय दैनिकका प्रकाशक कुशल दलामीले आदर्श तीज नृत्य प्रतियोगिताको सिजन ३ सम्मको यात्रा सफलतापूर्वक सम्पन्न भएको बताउँदै आगामी सिजन ४ लाई अझ भव्य र ठूलो धनराशिको पुरस्कारसहित निरन्तरता दिने जानकारी दिनुभयो । स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको प्रतियोगितालाई आगामी वर्षहरूमा थप व्यवस्थित र आकर्षक बनाउँदै लैजाने उहाँले बताउनुभयो ।
कार्यक्रममा मुख्य प्रायोजक कर्णबहादुर कठायत तथा पुरस्कार प्रायोजकहरू प्रकाश शाह, पीएस निर्माण सेवा, लक्ष्मण सिंह, दीपज्योति विद्या निकेतन, युवा समाजसेवी बिशन गुरुङ र समाजसेवी भगवती शाह रहेका थिए । त्यस्तै ट्राभल पार्टनर दिपशन टुर एण्ड ट्राभल्स कोहलपुर तथा शिवशक्ति टुर एण्ड ट्राभल्स नेपालगन्ज रहेका थिए ।
कार्यक्रम अवधिभर पानी सहयोग गर्ने भुसाल लेखापढी सेवा, कोहलपुर–११ गोलपार्क, थोमस ताम्राकार तथा भेरी फ्युचर ई. मि. स्कुल, बनकटवाप्रति पनि आयोजकले आभार व्यक्त गरेको छ । कार्यक्रमका लागि सभाहल उपलब्ध गराउने श्री प्रभात नमुना माध्यमिक विद्यालय जी गाउँ बाँके लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था, प्रायोजक, सहयोगी, सञ्चारकर्मी, सहभागी तथा शुभेच्छुकप्रति आयोजक बैजनाथ राष्ट्रिय दैनिकले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ ।
कार्यक्रमको सञ्चालन कुशल उद्घोषक विनोद परियारले गर्नुभएको थियो । कार्यक्रम संयोजक अनमोल दलामीका अनुसार प्रतियोगितामा विभिन्न विद्यालय तथा समूहबाट सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । आदर्श तीज नृत्य प्रतियोगिता २०८३ सिजन ३ को सफल समापनसँगै आयोजकले आगामी वर्ष सिजन ४ लाई अझ भव्य, आकर्षक र ठूलो पुरस्कार राशिसहित सञ्चालन गर्ने तयारी थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्