दाङ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट पारेको छ ।
सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा महाधिवेशन र वडा अधिवेशन सर्ने हल्ला चलाइएको भन्दै समितिले कुनै पनि हालतमा कार्यतालिका प्रभावित नहुने जनाएको हो ।
बुधवार केन्द्रीय निर्वाचन समितिले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले तोकिएकै मिति (असोज ३ गते) मा वडा अधिवेशन प्रारम्भ हुने बताए ।
उनले संविधान, पार्टी विधान र सर्वोच्च अदालतको फैसलाअनुसार पनि अधिवेशन सार्ने कुनै आधार नभएको स्पष्ट पारे । खड्काले ७७ वटै जिल्लामा निर्वाचन अधिकृतहरू खटिसकेको र अधिकांश वडामा मतदान अधिकृतहरू समेत पुगेर तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै संयोजक खड्काले भने, ‘१५औँ महाधिवेशन सर्दै छ भन्ने कुरा फेसबुकमा सबै ठाउँमा आएको छ । तर यो अधिवेशन सर्ने अवस्था होइन । ३ गते जुन वडा अधिवेशन हुँदै छ, त्यो सर्दैन, अगाडि बढ्छ ।’ उनले सर्वोच्च अदालतको आदेश र विधिको शासनलाई आधार मान्दै अधिवेशन सार्न नसकिने बताए ।
सङ्घीयताको मूल मर्मलाई आत्मसात् गर्दै निर्वाचन प्रक्रिया विकेन्द्रित गरिएको जानकारी दिँदै उनले जिल्ला सभापतिहरूसँग समन्वय गरेर प्रत्येक वडामा मतदान अधिकृतहरू खटाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्