दाङ – जन्मदिनको अवसर पारेर एक शिक्षकले विद्यार्थीहरूलाई वीस हजार रुपैयाँ भन्दा बढि रकम बराबरको शैक्षिक तथा स्टेशनरी सामग्री वितरण गर्नु भएको छ । ज्योति आधारभूत विद्यालय राजपुर १ गुरुङखोलाका पूर्व प्रधानाध्यापक तथा हालका सहायक प्रधानाध्यापक दिल बहादुर शाहीले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई उक्त सामग्री प्रदान गर्नुभएको हो ।
उहाँले विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई सहयोग पुर्याउने उद्देश्यले वीस हजार रुपैयाँ भन्दा बढि रकम बराबरको शैक्षिक तथा स्टेशनरी सामग्री वितरण गर्नु भएको हो । उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य प्रेमलाल खड्काको सभापतित्व तथा राजपुर गाउँपालिका वडा न १ का वडा अध्यक्ष सुर्य प्रसाद चौधरी प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक खेमराज यादवले गर्नुभएको थियो ।
यसै अवसरमा दिलबहादुर शाहीले उक्त विद्यालयमा ‘बर्थ डे मनी सेभिङ बक्स’ समेत स्थापना गरि सो बक्समा प्रारम्भिक रूपमा ५ सय ५ रुपैयाँ जम्मा गरी शुभारम्भ समेत गर्नु भएको छ । उक्त बक्समा संकलित रकमबाट विद्यालयका आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीमध्ये पढाइमा राम्रो प्रगति गरिरहेका विद्यार्थीहरूलाई वर्षमा एकपटक आवश्यकताका आधारमा सहयोग गर्ने उद्देश्य राखिएको जनाइएको छ ।
जन्मदिनलाई व्यक्तिगत उत्सवका रूपमा सीमित नराखी विद्यार्थीको शिक्षा र भविष्य निर्माणमा सहयोग पुग्ने गरी मनाइएको यस किसिमको जन्मउत्सबले विद्यालयमा सहयोग, सामाजिक उत्तरदायित्व र शिक्षाप्रतिको सकारात्मक भावना विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्