लमही–३ मजगाउँमा महिलाका लागि चारमहिने एडभान्स कटाइसिलाइ तालिम सुरु

दाङ समाचार
दाङ समाचार १७ कार्तिक २०८३, सोमबार
2 Min Read
Aa

दाङ– लमही नगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोग तथा थारु कल्याणकारिणी सभा क्षेत्रीय समितिको आयोजनामा चारमहिने एडभान्स कटाइसिलाइ तालिम आइतबारदेखि मजगाउँमा सुरु भएको छ ।

पहिलो चरणमा कटाइसिलाइ तालिम लिएका २० जना महिलालाई लक्षित गरी दोस्रो चरणको एडभान्स तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन लमही नगरपालिका वडा नम्बर ३ का वडा सदस्य कृष्णा गिरीले गर्नुभएको हो ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै वडा सदस्य गिरीले महिलालाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले वडा कार्यालयले तालिमका लागि सहयोग गर्दै आएको बताउनुभयो । उहाँले कटाइसिलाइको सीपले महिलालाई स्वरोजगार बन्न, आफ्नै व्यवसाय सञ्चालन गर्न र परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “महिलाहरूले सीप सिकेर आफ्नै खुट्टामा उभिन सक्नुपर्छ । एडभान्स तालिमले पहिले सिकेको सीपलाई अझ निखार्दै व्यावसायिक रूपमा काम गर्न सक्षम बनाउनेछ । यसले महिलाको आयआर्जन बढाउन र आर्थिक रूपमा सबल बन्न मद्दत गर्नेछ ।”

वडा कार्यालयले गत आर्थिक वर्षमा पनि कटाइसिलाइ तालिमका लागि बजेट विनियोजन गरेको थियो । महिलाको सीप विकास र उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकता दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने वडा कार्यालयले जनाएको छ ।

दोस्रो चरणको एडभान्स तालिम लिन पाउँदा सहभागी महिलाहरू खुसी भएका छन् । पहिलो चरणमा सिकेको सीपलाई थप परिष्कृत गर्दै व्यावसायिक रूपमा कटाइसिलाइ गर्ने अवसर पाएको उनीहरूको भनाइ छ ।

सहभागी महिलाहरूले सीपले मानिसलाई आत्मनिर्भर बन्न मद्दत गर्ने बताउँदै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले तालिमपछि आफ्नै व्यवसाय सञ्चालन गरी आयआर्जन गर्ने र परिवारलाई आर्थिक सहयोग पुर्‍याउने अपेक्षा गरेका छन् ।

चार महिनासम्म सञ्चालन हुने तालिमको प्रशिक्षकमा शिवु चौधरी रहनुभएको छ । तालिममार्फत सहभागी महिलाहरूलाई कटाइसिलाइ सम्बन्धी उन्नत सीप प्रदान गरी व्यावसायिक रूपमा सक्षम बनाउने लक्ष्य राखिएको छ ।

स्थानीय महिलाको सीप, क्षमता र उद्यमशीलता विकासमा यस्ता तालिमले महत्त्वपूर्ण योगदान पुर्‍याउने वडा नम्बर ३ को कार्यालयले गरेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्