दाङ – राजपुर गाउँपालिकाले स्वच्छ ऊर्जाको प्रवर्द्धन तथा गृहिणीहरूको दैनिक जीवन सहज बनाउने उद्देश्यले वडा नम्बर १ र २ का १ सयभन्दा बढी स्थानीयलाई विद्युतीय चुलो र थोरै दाउराबाट बाल्न मिल्ने सुधारिएको चुलो वितरण गरेको छ ।
गाउँपालिकाले परम्परागत दाउराको प्रयोग घटाउँदै स्वच्छ तथा वातावरणमैत्री ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले चुलो वितरण कार्यक्रम सञ्चालन गरेको हो । यसबाट स्थानीयको खाना पकाउने कार्य सहज हुनुका साथै धुवाँबाट हुने स्वास्थ्य समस्यामा समेत कमी आउने अपेक्षा गरिएको छ ।
राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपतिदेवी यादवले स्वच्छ ऊर्जाको प्रयोगले वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । उहाँले परम्परागत चुलोबाट निस्कने धुवाँले विशेषगरी गृहिणी तथा बालबालिकाको स्वास्थ्यमा असर पार्ने भएकाले वैकल्पिक ऊर्जाको प्रयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उपाध्यक्ष यादवले भन्नुभयो, “विद्युतीय चुलो र सुधारिएको चुलोको प्रयोगले घरभित्रको धुवाँ कम हुनुका साथै गृहिणीहरूको दैनिक काममा सहजता आउनेछ । यसले दाउराको खपत घटाएर वन तथा वातावरण संरक्षणमा समेत सहयोग पुर्याउने विश्वास लिएका छौँ ।”
उहाँले गाउँपालिकाले स्वच्छ ऊर्जा प्रवर्द्धन र नागरिकको जीवनस्तर सुधारका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो ।
वडा नम्बर १ का वडा अध्यक्ष सूर्य चौधरीले चुलो वितरण कार्यक्रमले स्थानीयलाई ठूलो राहत पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले दाउरा संकलन गर्न र खाना पकाउन धेरै समय खर्चिनुपर्थ्यो । नयाँ चुलोले खाना पकाउन सहज हुने र धुवाँबाट पनि बच्न सकिने अपेक्षा गरेका छौँ ।”
त्यस्तै, वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादवले चुलो वितरण कार्यक्रमले घरायसी काममा सहजता ल्याउनुका साथै दाउराको खपत कम गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले स्थानीयको आवश्यकता बुझेर गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रम सराहनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
स्थानीयका अनुसार विद्युतीय तथा सुधारिएको चुलोको प्रयोगले खाना पकाउने समय बचत हुनुका साथै घरभित्रको वातावरण स्वच्छ राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
गाउँपालिकाको यस कार्यक्रमले स्वच्छ ऊर्जाको प्रयोग विस्तार, वन संरक्षण र गृहिणीहरूको स्वास्थ्य तथा जीवनस्तर सुधारमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्