यसरी भएको थियो सामाजिक संस्थासंग नगर विकासको सम्झौता

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ४ श्रावण २०७९, बुधबार
6 Min Read
Aa

दाङ – लमही नगर विकास समितिले २०५६ ÷१२÷ २२ मा रेयुकाइ भन्ने सामाजिक संस्थालाई डेढ कट्ठा जग्गा प्रतिकट्ठा तीस हजारका दरले पैतालिस हजारमा विक्री गर्यो । त्यति बेला समितिले सम्झौतामा जनताको सेवामुखि भएर काम गर्ने र अन्य आर्थिक सेवामुखि भएर काम गर्न नपाइने यदि गरेको पाइए घर सहित जग्गा फिर्ता गर्ने गरि सम्झौता गरेको थियो ।

त्यति बेला रेयुकाइले सो जग्गामा डिपिसी मात्र गरेर देउखुरी सामुदायिक अस्पताल नामक संस्थालाई दियो । अस्पतालले सो जग्गामा घर बनाएर अस्पताल संचालन गर्यो, करिब एक वर्ष जति उक्त भवनमा अस्पताल संचालन भयो र पछि त्यो अस्पताल बजार झर्यो ।

अस्पताल बजार केन्द्रित भएपछि सो भवनमा लामो समयसम्म ताला लाग्यो र प्रयोगबिहिन भएपछि नगर विकासको बैठक बसेर आफ्नो मातहतमा ल्याउने निर्णय गरेको लमही नगर विकास समितिका सुचना अधिकारी हरि खनालले जानकारी दिए ।

जग्गा लमही नगर विकास समितिको भएपनि घर बनाउँदा लागेको खर्चको माग दावी गर्दै अस्पताल संचालकहरुले क्षतिपूर्तिका लागि उच्च अदालत तुलसीपुरमा रिट निवेदन दिएका थिए, उच्च अदालत तुलसीपुरले देउखुरी सामुदायिक अस्पतालले प्रमाण जुटाउन नसकेको भन्दै लमही नगर विकास समितिको पक्षमा फैसला गरेको थियो ।

उच्च अदालत तुलसीपुरले गरेको फैसला आफुहरुको चित्त बुझ्दो भएन भनेर अस्पताल संचालकहरुले फेरी सर्वोच्च अदालतमा पुनरावलोकनका लागि रिट निवेदन दिए अहिले त्यो मुद्दा विचाराधीन अवस्थामै छ ।

अस्पताल संचालकहरुले घर बनाएको खर्चको क्षतिपूर्ति पाउँ भनेर उच्च अदालत तुलसीपुरमा दिएको मुद्दा नगर विकास समितिले जिते पछि २०७६ असार ३ गते लमही नगर विकास र गौतम बुद्ध सामुदायिक मुटु अस्पताल राम नगर बुटवल – २ विच सम्झौता भएको सम्झौता पत्रमा उल्लेख छ । हामीले मुटु अस्पताललाई भाडामा दिने सम्झौता भएपछी घर बनाएको खर्च पाउँ भन्दै अस्पताल संचालकहरु सर्वोच्च अदालत गएको सुचना अधिकारी खनालले जानकारी दिए ।

लमही नगर विकास समितिले प्रत्येक दुइ महिनामा दश प्रतिशत भाडदर वृद्धि गर्नेगरि महिनाको दशहजार भाडा लिने गरि मुटु अस्पताललाई भाडामा दिएको छ । तत्कालिन नगर विकास समितिका अध्यक्ष घनश्याम सुबेदी, इलाका प्रसासन कार्यालय लमहीका प्रमुख प्रेम खवास, नेकपा एमालेका पवन शर्मा रिजाल, नेपाली कांग्रेसका देवानजंग चौधरी, फणाधर भुसाल, नेकपा माओबादीकेन्द्रका ओमप्रसाद सुबेदी, केशबराज पोख्रेल, देउखुरी उद्योग वाणिज्य संघका नवाफ अली, संघिय समाजबादी पार्टी फोरमका अतिराम चौधरी, राष्ट्रिय प्रजान्तंत्र पार्टीका बमबहादुर केसी, लमही नगर विकास समितिका सदस्य जंगबहादुर चौधरी, सहाना श्रेष्ठ, कैलाश चौधरी, वडा प्रहरी कार्यालय लमहीका प्रहरी सहायक निरीक्षक नर्तम गिरी, पत्रकार केपी घिमिरे, दिवाकर पोखरेल लगायतको रोहबरमा शिल गरिएको थियो ।

मुटु अस्पताललाई भाडामा दिने बेला देउखुरी सामुदायिक अस्पतालका ४८ थान फलामका बेड, बेड डसना सैतिस थान, घुम्ने कुर्सी ६ थान, स्टेक्चर २ थान, औषधि राख्ने र्याक १० थान, अक्सिजन ग्याँस सिलिन्डर ५ थान लगायत अन्य सामाग्री एउटा हलमा ( पाटेसन गर्दा दुई वटा कोठा बन्ने ) राखेर शिल गरिएको छ ।

कानून बाधक बन्यो – अध्यक्ष चौधरी
तत्कालिन नगर विकास समितिका अध्यक्ष सहितको सरोकार वालाले शिल गरेको रहेछ, अब त्यो शिल गरेको कोठालाई कसरी खोल्न सकिन्छ भनेर लमही नगर विकास समितिका कानूनी सल्लाहकार दीपक रेग्मी संग परामर्श भैरहेको अध्यक्ष जोगराज चौधरीले बताए । अध्यक्ष चौधरीले कानूनी प्रक्रिया पुरा गरेर शिल गरेको कारण कानुन बाधक बन्दा समस्या आएको बताए ।

स्वास्थ्य जस्तो संवेदनशील कुरामा नचाहेरै भएपनि चुप लागेर बस्नु पर्ने स्थिति आएको प्रमुख चौधरीले भने । यहाँ कसैले कसैलाई आरोप प्रत्यारोप लगाउनु आवश्यक छैन, मात्र कानूनी समस्या मूल समस्या हो”– उनले भने । शिल गर्दा बिभिन्न राजनीतिक दल, प्रहरी प्रसासनको रोहबरमा गरेको रहेछ, यहि भदौ ८ गते मुद्दाको पेशी छ, त्यो निर्णयको पर्खाईमा छौं, हेरौं कस्तो निर्णय आउछ सोहि अनुरुप आफुहरु अगाडी बढ्ने नगर प्रमुख चौधरीले बताए ।

“अरुको समान हामीले एक्लै गएरशिल खोल्ने, अन्यत्र स्थानमा लगेर राखी दिने गरौँ भने पनि फेरी समस्या पार्लान भन्ने लागेको छ, सके सम्म हामीले राम्रै निर्णय लिन खोजेका छौं”– चौधरीले भने ।

नगर विकासले असहयोग गर्यो – रोटरी क्लब लमही
यता लमही रोटरी क्लव अफ लमहीले बिभिन्न बहाना बनेर लमही नगर विकास समितिले अस्पताल व्यवस्थापनमा असहयोग गरेको बताएको छ । क्लबका अध्यक्ष बसन्तकुमार भण्डारीले अस्पताल जस्तो अति संवेदनशील क्षेत्रका लागि नगर विकास समितिले के कति कारणले निर्णय गर्न सकिरहेको छैन भन्दै प्रश्न गरे ।

एक रुपैया नाफा नलिएर बिरामीको सेवा गर्नका लागि अहोरात्र खटिएका छौं, हातेमालो गर्न आउने ठाउँमा कानूनी समस्या देखाएर पन्छिन खोजेको अध्यक्ष भण्डारीको आरोप छ ।

ठाउँ अभाव भएका कारण बिरामीलाई उपचार गर्न नसकेको भन्दै त्यहाँ शिल गरेका कोठाहरु खालि गरेर आफुहरुलाई दिन लमही नगर विकाससंग रोटरी क्लबका निवर्तमान अध्यक्ष रविलाल आचार्य, कोषाध्यक्ष केशब घिमिरे लगायतले पटक पटक अनुरोध गर्दै आएका छन ।

प्रत्येक दिन चौविस जना मृगौला बिरामीको उपचार गर्दै आएका छौं, कति बिरामी त बेड नभएका कारण फर्किएर जान बाध्य भएको निवर्तमान अध्यक्ष आचार्यले बताए ।

त्यहाँ भएको हल खालि गराएर हामीलाई दिनुस मात्र भनेका हौँ, त्यहि काम पनि नगर विकासले गर्दिन नसक्दा हामीलाई बडो दुख लागेको छ“– उनले भने । हामीले बेड थपेर बिरामीको उपचार गर्न सकेनौ भने बिरामीले हामीलाई सराप्ने छन र यसै कारण यो डायलाइसिस अन्यत्र लैजाने सम्भावना बढी भएको समेत आचार्यको भनाई छ ।

                                                     हेर्नु होस् सम्झौता पत्र

No description available.

 

 

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्