दाङ – तुलसीपुरमा चन्दा संकलन गर्ने गिरोहलाई तुलसीपुर प्रहरीले करिब पाँच महिनापछि पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को लेटरप्याड प्रयोग गरेर विभिन्न धाकधम्की दिएर चन्दा संकलन गर्ने गिरोहलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो ।
सल्यान जिल्ला साबिक त्रिवेणी गाउँपालिका वडा नं. ९ फलावाङ हाल त्रिबेणी गाँउपालिका – ४ बस्ने तारा प्रसाद दमैका ३३ वर्षिय छोरा धनराज तुफान भनिने धन बहादुर परियार र सल्यान छत्रेश्वरी गाउँपालिका – १ दमाचौर बस्ने काली बहादुर विकका २९ वर्षिय छोरा चन्द्र प्रकाश विकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । धनराज तुफान सल्यान जिल्ला पत्रकार महासंघका सदस्य समेत रहेको डिएसपी मल्लले बताए ।
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को लेटरप्याड प्रयोग गरेर गत वर्ष चैत महिनाको ३ गते तुलसीपुर उपमहानगरपालिका – ६ रजौरास्थित हिमाल एकाडेमीका प्रिन्सीपल मधसुदन केसीसंग दश लाख रुपैयाँ, यही गत जेठ महिनाको १८ गते सल्यान कपुरकोटस्थित कालिका माविका शिक्षक बामदेव अधिकारीसंग पाँच लाख रुपैयाँ, असार २७ गते तुलसीपुर उपमहानगरपालिका – १८ स्थित बेलझुण्डी माविका शिक्षिका जानका बस्नेतसंग एक लाख र गत वर्ष चैत महिनाको २१ गते तुलसीपुर उपमहानगरपालिका – ७ बुढागाउँ पर्सेनी बस्ने पूर्व शिक्षक ईन्द्र बहादुर वलीसंग पनि एक लाख रुपैँया चन्दा मागेको डिएसपी पल्लले बताए ।
माग गरेको रकमको विषयमा यदी कसैलाई भन्ने वा प्रहरीलाई खबर गरेमा अप्रिय घटना घट्न सक्ने समेत चेतावनी दिदै आएको पीडितहरुले बताए । चन्दाका लागि चिठ्ठी पठाउने धनराज तुफान तुलसीपुर उपमहानगरपालिका -१८ स्थित बेलझुण्डी माविका शिक्षिका जानका बस्नेतको छिमेकी हुन् । पीडित बस्नेत र धनराज एउटै धारामा पानी खाने छिमेकी हुन् । जानकाले आफूलाई चन्दा माग गरेको चिठ्ठी आएपछि धनराजसंग भनेकी थिइन् । ‘‘जानकाले आफ्नो समस्या सुनाएपछि धनराजले यदि त्यस्तो खालको समस्या छ भने यो त डर लाग्दो हो, यस्तो कुरा त प्रहरीलाई खबर गर्नुपर्ने सल्लाह दिएको जानकाले भनिन् ।’’
‘आफूसंग चन्दा माग्ने अरु कोही नभएर आफ्नै छिमेकी, त्यो पनि कहिकतै जान पर्यो भने भाई मेरो घर तिर यसो आँखा लगाईदिनु भन्ने मान्छेले यस्तो गर्ला भन्ने कल्पना समेत नगरेको उनले भनिन् ।’ डिएसपी मल्लका अनुसार यस्तो धाकधम्कीपूर्ण चिठ्ठी धेरै जनालाई पठाएका छन् । डरले धेरै जना प्रहरीकोमा आउनु भएको छैन् । तर अहिलेसम्म चार जना पीडितले प्रहरी समक्ष आएर मुद्दा दर्ता गराउनु भएको छ ।
प्रविधिको प्रयोग गरेर उनीहरुलाई पक्राउ गर्न सफल भएको बताए । यिनीहरुले विद्यालयका शिक्षकशिक्षिकालाई लक्षित गरेर चन्दा संकलनका लागि पत्र पठाएको अनुसन्धानले देखाएको छ । उनीहरुले ९८२६५००९६१ ‘वाटसप एप’ नम्बरबाट विभिन्न व्यक्तीहरुबाट चन्दा संकलनका लागि पत्र तथा ‘एसएमएस’ पठाउने गरेको डिएसपी मल्लले जानकारी दिए ।
लामो समय लगाएर भएपनि घटनाको निष्कर्षमा पुगि अपराधीलाई पक्राउ गर्न सफल भएको डिएसपी मल्लको भनाइ छ । उनीहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । डिएसपी मल्लका अनुसार नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्युरो महाराजगन्ज काठमाडौं, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रुपन्देही एवं जिल्ला प्रहरी कार्यालय दाङबाट घटनाको बारेमा निर्देशन एवं प्राविधिक सहयोगमा घटनाको निष्कर्षमा पुगि उक्त गिरोहमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाको साथबाट चन्दा रकम लिनको लागि प्रयोग भएको सिम प्याकेट र सिमसहित थान १ मोवाईल, चन्दा रकम मागका लागि प्रयोग भएको पत्रसहितको थान १ मोबाईल, विभिन्न व्यक्तीहरुका फोटो थान १४, नेपाल कम्युनिष्ट पार्टी बहुमतको नामको लेटरप्याड पाना १२४, मधुसुदन केसी, कमल शर्मा र सविना ढकालको नाममा आर्थिक सहयोगको लागि लेखिएको चन्दा रकम मागको पत्र, नेपाल कम्युनिष्ट पार्टी बहुमत लेखिएको स्ट्याम्प थान १, धन बहादुर परियारको नामको २ वटा नागरिकताको प्रमाण पत्र र बिभिन्न व्यक्तीको नामका नागरिकताको प्रतिलिपि थान ३९ समेत बरामद गरेको छ ।
त्यस्तै उनीहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५३ बमोजिमको कसुर मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको डिएसपी मल्लले जानकारी दिए । #Tulsipuronline

प्रतिक्रिया दिनुहोस्