लमही बजारका व्यवसायीका पसलबाट म्याद गुज्रेका सामान बरामद

दाङ समाचार
दाङ समाचार २३ आश्विन २०८०, मंगलवार
2 Min Read
Aa

दाङ – लमहीका केही व्यवसायीहरुको पसलबाट म्याद गुज्रेका सामान बरामद भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जको टोलीले छड्के अनुगमन गर्द यस्ता खाले सामान पाइएको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले जानकारी दिनु भयो ।

इलाका प्रशासन, वडा प्रहरी, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघका प्रतिनिधिहरुको सहभागितामा भएको अनुगमनको क्रममा व्यवसायीलाई सचेत समेत गराइएको छ ।

अनुगमन टोलीले लमहीको खनाल स्टोर, लमजुङ सप्लायर्स, शिवाय स्टोर, सरस्वती राइस एण्ड जनरल इण्डस्ट्रिज, कक्षपति राइस एण्ड जनरल इण्डस्ट्रिज, न्यू ओम स्वीट हाउस र भुसाल गेष्टहाउसको अनुगमन ग¥यो ।

जस अनुसार मापदण्ड विपरीत सामान बिक्री वितरण गरेको भेटिएपछि पाँचवटा पसललाई दुई लाख ८० हजार जरिवाना तोकिएको छ । सरस्वती राइस मिलमा मसुरो दाल लेखेर प्याकेजिङ गरेको बोरामा कनिका चामल फेला परेको छ । त्यस्तो एक सय एकवटा बोरा फेला परेका छन् ।

यस्तै चामलको बोरामा उत्पादन मिति, उद्योग अथवा कम्पनीको नाम लेखिएको छैन । त्यस्तो एक सय ३१ वटा बोरा फेला परेका छन् । यस्तै सरस्वती राइस मिलले उत्पादन गरेको चिउरामा उत्पादन मिति नराखेको पाइएपछि सचेत गराउँदै जरिवाना तोकिएको छ ।

सरस्वती राइस मिललाई दुई लाख र खनाल स्टोर लमजुङ सप्लायर्स, शिवाय स्टोर र कक्षपति राइस मिललाई २० हजारको दरले जरिवाना तोकिएको छ ।

अनुगमनको क्रममा पसलमा बिक्रीका लागि राखिएका सामग्रीको व्यवस्थापन, गोदाममा सामग्री राखिएको स्थान हेर्दा त्यहाँ भद्रगोल अवस्था पाइएको छ । म्याद गुज्रेका र बिक्रीका लागि राखिएका सामग्रीहरु एकै ठाउँमा राखिएको छ । जसले गर्दा म्याद गुज्रेका सामग्री होलसेल पसलबाट बिक्री वितरण हुने गरेको फेला परेको हो ।

देउखुरी उद्योग वाणिज्य संघले व्यवसायी तथा पसलमा काम गर्ने कर्मचारीहरुलाई प्रशिक्षणको आवश्यकता रहेको निष्कर्ष निकालेको छ । अनुगमनका क्रममा उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले व्यावसायिक साक्षरताको आवश्यकता महसुस भएको बताउनुभयो ।

‘कुन सामान कहाँ र कसरी व्यवस्थापन गर्ने भन्नेसम्मको अज्ञानता देखिएको छ । यसलाई सुधार गर्न प्रशिक्षण चलाउँछौं’– उहाँले भन्नुभयो– ‘व्यवसायलाई गुणस्तर र विश्वासिलो बनाउँदै अघि बढ्नुपर्ने जिम्मेवारी हो । अब बजार अनुगमन नियमित हुन्छ । यसमा हामीले समन्वय गर्छौैं ।’

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्