प्रिय जनयुद्ध

दाङ समाचार
दाङ समाचार १ फाल्गुन २०८०, मंगलवार
2 Min Read
Aa

_____________________✍ कविता

शासकहरुको निद्रा हरायौ
सामन्तहरूको धज्जी उडायौ
जाली फटाहालाई नेटो कटायौ
तानाशाहलाई घुँडा टेकायौ
प्रिय जनयुद्ध त्यसैले तिमी महान छौ
तिम्रा गौरवका गाथाहरु
गाएर कहिलै थाकिने छैन
तिम्रा इतिहासका  पानाहरु
च्यातेर कसैले च्यातिने छैन
त्यसैले प्रिय जनयुद्ध
तिमीलाई रातो सलाम छ ।

बोल्न नजान्नेलाई बोल्न सिकायौ
सुतेकाहरुलाई उठ्न सिकायौ
उठ्न नजान्नेहरुलाई हिड्न सिकायौ
हिड्न नजान्नेहरुलाई लड्न सिकायौ
प्रिय जनयुद्ध त्यसैले तिमी महान छौ
तिम्रो विद्रोहका आवाजहरु
थुनेर कसैले थुनिने छैन
तिमीले तय गरेका यात्राहरु
रोकेर कसैले रोकिने छैन
त्यसैले प्रिय जनयुद्ध
तिमीलाई रातो सलाम छ ।

किसान, मजदुरहरुलाई जगायौ
महिला, श्रमिकहरुलाई उठायौ
मधेश, पहाडहरुलाई ब्यूझायौ
रोल्पा रुकुमहरुलाई दौडायौ
प्रिय जनयुद्ध त्यसैले तिमी महान छौ
तिमीले बगाएका रगतका भेलहरु
त्यसै खेर जाने छैनन्
सहिदहरुले बनाएका बाटाहरू
भत्काएर कसैले भत्किने छैन
त्यसैले प्रिय जनयुद्ध
तिमीलाई रातो सलाम छ ।

असुरहरुलाई सुर बनायौ
अछुतहरुलाई वीर बनायौ
अनाडीहरु लाई खेलाडी बनायौ
गुलेली खेलाउने हातलाई बन्दुक चलाउन सिकायौ
प्रिय जनयुद्ध त्यसैले तिमी महान छौ
तिम्रा विरताका गाथाहरु
बयान गरेर सकिने छैन
तिम्रा युद्धका कथाहरु
सुनाएर कहिलै सकिने छैन
त्यसैले प्रिय जनयुद्ध
तिमीलाई रातो सलाम छ ।

निराशाहरुलाई आशामा बदलेऊ
सपनाहरुलाई विपना बनायौ
दु:खहरुलाई शक्तिमा बदलेऊ
साहसहरुलाई लक्ष्यमा बदलेऊ
प्रिय जनयुद्ध त्यसैले तिमी महान छौ
तिमीले जगाएका आशाका किरणहरु
छेकेर कहिलै छेकिने छैन
तिमीले देखाएका सपनाहरु
लक्ष्यमा नपुगी रोकिने छैन
त्यसैले प्रिय जनयुद्ध
तिमीलाई रातो सलाम छ ।

प्रिय जनयुद्ध
तिमी थाक्ने छैनौ
तिमी पछि हट्ने छैनौ
तिम्रो सगरमाथा चुम्ने लक्ष्य अझै भेटिएको छैन
तिम्रो समाजवादको यात्रा अझै रोकिएको छैन
त्यसैले तिमीले विश्राम लिने होइन ।
किनकी
अझै तिम्रो धेरै कार्यभार बाँकी नै छ
भ्रष्टचारलाई मेटाउनु छ
गरिबीलाई हटाउनु छ
साम्राज्यवादलाई भगाउनु छ
विभेदको पर्खाल भत्काउनु छ
युवाहरुलाई फर्काउनु छ
प्रिय जनयुद्ध
फेरि नयाँ यात्रा तय गर्नु छ
समाजवादको यात्रा
एकिकृत जनक्रान्तिको यात्रा
नेपाली जनताको मुक्तिको यात्रा
त्यसैले प्रिय जनयुद्ध
तिमीलाई नयाँ यात्राको लागी सलाम
समाजवादी यात्राको लागी सलाम ।

२९ माघ २०८०
जनक सी
घोराही दाङ ।
महान जनयुद्धको सबैमा
हार्दिक शुभकामना !

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्