भारतमा ‘अग्निपथ योजना’विरुद्ध प्रदर्शन उग्र बन्दै

दाङ समाचार
दाङ समाचार ४ असार २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौँ – भारत सरकारले ल्याएको ‘अग्निपथ योजना’विरुद्ध चर्किएको प्रदर्शन उग्र बन्दै गएको छ। भारतको बिहार, उत्तर प्रदेश, राजस्थानलगायत विभिन्न राज्यमा विरोध चर्किँदै गएको छ।

कतिपय स्थानमा प्रदर्शनले हिंसात्मक रुप लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। राजस्थानका जयपुर, जोधपुर, अजमेरलगायतका जिल्लामा भएको प्रदर्शनले हिंसात्मक रुपमा लिएको छ।

जयपुरमा रेल्वे स्टेशनमा तोडफोड भएको छ भने कतिपय ठाउँमा प्रदर्शनकारीहरुले सडक ठप्प पार्दा यातायात प्रभावित भएको छ। भारतीय सेनामा प्रवेशका लागि तयारी गरिरहेका युवाहरुले शनिबार जयपुर–दिल्ली राजमार्ग बन्द गराइदिएका छन्।

सडक खुलाउन खोज्दा उनीहरुले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। झण्डै एक घण्टाको रस्साकस्सीपछि प्रहरीले राजमार्ग सुचारु गर्न सफल भएको थियो। राजमार्गमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको बताइएको छ।

यस्तै बिहारमा पनि विरोध प्रदर्शन उग्र बनेको छ। विरोध चर्किँदै गएपछि विहारमा रेल सेवासमेत प्रभावित भएको छ। बिहान ४ बजेदेखि साँझ ८ बजेसम्म बिहारमा रेल सञ्चालन नहुने भारतीय रेल्वेले जनाएको छ।

बिहारमा विरोध प्रदर्शनका क्रममा झण्डै एक दर्जन रेलमा आगो लगाइएको र कैयौँ रेल्वे स्टेशनमा तोडफोड भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। जसका कारण बिहारमा रेल सेवा प्रभावित भएको हो।

उत्तर प्रदेशमा पनि युवाहरुले आन्दोलन चर्काएका छन्। भारतको केन्द्र सरकारले अग्नीपथ योजनाअनुसार सैनिक सेवामा प्रवेश गरेका ७५ प्रतिशत युवाले चार वर्षमै अवकास पाउने छन्।

भारतका जल सेना, स्थल सेना र वायु सेना गरी तीन वटै सैन्य सेवामा जवान पदका लागि चार वर्षे सेवा अवधिका लागि मात्रै भर्ना खुलाउने ‘अग्निपथ’ योजनामा उल्लेख गरिएको छ।

त्यसका लागि २१ वर्षमा भर्ना हुन पाउने र २५ वर्ष पुग्दा उनीहरु अवकास हुनुपर्ने व्यवस्था गरिएको छ। भर्ना भएकामध्ये २५ प्रतिशतले मात्रै चौथोबाट सेवालाई निरन्तरता दिन पाउने र बाँकी ७५ प्रतिशतले सैन्य सेनाबाट बाहिरिनुपर्ने भएपछि युवाहरु आक्रोशित भएका हुन्।

ती अवकास भएकाले पनि पेन्सन नपाउने व्यवस्था गरिएकाले युवा थप रुष्ट भएका छन्। सरकारले धेरै युवालाई रोजगारीको अवसरका लागि यस्तो योजना ल्याएको दाबी गरे पनि युवाले भने यसलाई अव्यवहारिक र अन्यायपूर्ण भएको भन्दै सरकारले उक्त निर्णय सच्याउनुपर्ने बताइरहेका छन्।

चार वर्षे जागिरले युवालाई जीवन निर्वाहका लागि पर्याप्त आम्दानी नहुने र बाँकी जीवन थप अन्यौलपूर्ण हुने उनीहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्