ओलीको आरोप : प्रचण्ड इमान्दार नहुँदा नेकपा विभाजन भयो

दाङ समाचार
दाङ समाचार १० असार २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले प्रचण्डसँग पार्टी एकता नै गरिएको तर इमान्दारिताका साथ काम नगर्दा पार्टीले विभाजन व्यहोर्नु परेको बताएका हुन् ।

शुक्रबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बडो दु:खका सफलता हात परेको पार्टीलाई प्रचण्डले प्रतिक्रियावादी सामू अर्पण गर्दा आफूलाई दुःखित बनाएको गुनासो पनि गरे ।

पार्टी एकताका बेला दिएको सिट संख्यालाई चरम दूरुपयोग गरेर प्रचण्डले आफूलाई साधारण सदस्यबाट समेत निस्काशन गरे पनि आफूले त्यसलाई जोगाएर अघि बढाएको ओलीको दावी थियो।

उनले भने, ‘हामीले प्रचण्डलाई लखेटेको होइन । प्रचण्डसँग त एकता नै गरिएको हो । तर प्रचण्डले एकता गर्दा पनि इमान्दारिताका साथ गर्नु भएन । एकतावद्ध रहँदा पनि इमानका साथ काम गर्नु भएन ।

र, बेइमानपूर्ण ढंगले हटनु भयो । एकताको निम्ति बनाईदिएको कमिटी, एकताको निम्ति दिइएको संख्या त्यसलाई यति चरम दुरुपयोग गर्नु भयो कि पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट निष्काशन गर्नु भयो ।

ती आरोपका साथ पार्टी विभाजनको खेती गर्नु भयो उहाँहरुले । यो बडो दुःखद् कुरा थियो ।’ ओलीले चरम सत्ताको दूरुपयोग गरेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी केही पछि परे पनि आगामी दिनमा जित सुनिश्चित रहेको दावी गरे ।

पपुलर मत संख्यालाई हेर्ने हो भने अहिले पनि आफ्नो पार्टी नै मुलुकको पहिलो राजनीतिक शक्ति रहेको उनले दोहोर्याए । अध्यक्ष ओलीले समाजवादको यात्रा तय गर्ने विचार, संगठन र योजना आफ्नो पार्टीसँग मात्रै रहेको जिकीर गरे ।

प्रतिक्रिया दिनुहोस्