नेपाली कांग्रेसका युवा नेता केन्द्रीय महाधिवेसन प्रतिनिधि अनुराग खड्का, आसन्न प्रतिनिधि सभा सदस्य पदका लागि दाङ क्षेत्र नम्बर १ बाट सिफारिस भएका छन । नेपाली कांग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काका छोरा अनुरागको यतिबेला नेपाली राजनीतिमा आगमनको बिषयले चर्चा पाएको छ । युवा अवस्थामै नेपाली कांग्रेसको केन्द्रीय महाधिवेसन प्रतिनिधि, तरुण बिभागको केन्द्रीय सदस्य भैसकेका अनुराग आगामी प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धामा छन । उनै युवा नेता अनुराग खड्कासंग दाङ समाचारको टोलीले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।
१– नमस्कार, यहाँलाई स्वागत छ, के गर्दै हुनुहुन्छ आजभोलि ?
धन्यवाद नमस्कार छ तपाईलाई पनि । म आजभोलि आसन्न प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनकै गृह कार्यमा व्यस्त छु । नेताहरुसंग भेटघाट गरिरहेको छु । उहाँहरुको राय सल्लाह मनन गर्दै अगाडी बढिरहेको छु, यसरी नै दिनहरु बितिरहेका छन् ।
२– संघीय सांसदमा नाम सिफारिस भएको छ, तपाईको उम्मेदवारी के का लागि हो ?
मेरो उम्मेदवारी चुनाव जितेर जनताको सेवा गर्नका लागि हो । सधै हेपिएका, दविएका, अवशर नपाएका युवाहरुको लागि हो मेरो उम्मेदवारी । अब देशको हरेक तहमा युवाको भूमिका अनिवार्य हुनु पर्दछ । नेपालको राजनीतिमा उमेर हद तोकिनु पर्छ । मैले टिकट पाए र चुनाव जिते भने मेरो पहिलो आवाज संसदबाट युवाहरुकै लागि बुलन्द गर्ने छु । पछिल्लो समय देशले युवाहरुको नेतृत्व खोजिरहेको छ । युवामा जोश छ जाँगर छ, प्रतिकार गर्ने क्षमता छ । त्यस कारण यो सबै कुराहरु बुझेर मैले आसन्न निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएको हुँ ।
३– अरु पनि थुप्रै क्षेत्र थिए, किन राजनीतिमा हाम फाल्नु भयो ?
यहाँले निकै राम्रो प्रश्न सोध्नु भयो । जनताको सेवा गरौँ भन्ने भावना पलाएर म राजनीतिमा इन्ट्री गरेको हुँ । मास्टर्स गरेको छु, राजनीतिमा नै आउनु पर्छ भन्ने थिएन, मेरा लागि थुप्रै अवशरहरु थिए तर मेरो बुवा खुमबहादुर खड्काले पनि भन्नु हुन्थ्यो, एउटा असल राजनीतिज्ञ बनेर देश र जनताको सेवा गर्नु भनेर । बुवाको निधन पछि मैले पनि धेरै कुराहरुको समिक्षा गरे, कुनै बेला नेपालको राजनीतिमा हलचल मच्च्याएका मेरो बुवाले दिएको आशिर्वाद, मेरो बुवाले देखाएको बाटो अंगाल्नु पर्छ भन्ने लाग्यो । बुवाले गर्दा गर्दै अपुरो रहेका काम र कर्तव्यहरु पुरा गर्ने अभिभारा यतिबेला मेरो काँधमा आएको छ, दंगाली जनताको सेवा गर्नु पर्ने भएको छ । मेरो बुवा खुम बहादुर खड्काको निधन पश्चात उहाँको कमि दंगाली जनताले महसुस गर्न नपाउने गरि काम गर्नु छ, त्यसैको लागि म सबै छोडेर राजनीतिमा आएको हुँ ।
४– कांग्रेस भित्र अझै पनि गुट उपगुट छ, नेताहरुमा मत मतान्तर छ तपाई यो बिषयमा के भन्न चाहनुहुन्छ ?
म यो बिषयमा धेरै बोल्न चाहान्न तर गुट उपगुट बनाएर पार्टीलाई कम्जोर बनाउने कुरा सरासर गलत हो । नेपाली कांग्रेस जहिले पनि प्रजान्तन्त्रमा बिश्वास राख्ने पार्टी हो । हामी सबैले विपिको सिद्धान्तलाई अनुशरण गरेर अघि बढ्नु पर्छ । यो वा त्यो गुट भनेर लाग्यौं भने आफै सकिने हो । आफु बन्नलाई अर्काको राजनीतिक सखाप पार्ने प्रवृति सबै पार्टीमा छ । धेरै अग्रजहरु हुनुहुन्छ । यो बिषयमा उहाँहरुले मिलाउने कुरा हो । हो, मलाई पनि कुनै एउटा गुटको मान्छे हो भनेर आरोप लगाएका होलान तर म नेपाली कांग्रेसको सिपाही हुँ, मैले देखेको नेपाली कांग्रेस हो, कांग्रेस कै निम्ति जन्मिए काग्रेस मै मर्न चाहेको एक युवा हुँ ।
५– गठबन्धनको कुरा आइरहेको छ नि, तपाइले टिकट पाएमा जित्ने बातावरण छ कि छैन ?
हजुर हो, सत्ता साझेदार दलहरु विच गठबन्धनको कुरा पनि चलिरहेको छ । मैले प्रतिनिधि सभामा दावी गरेको छु, यो कुरा हाम्रो पार्टीका सम्माननीय सभापति तथा प्रधानमन्त्री ज्युलाई पनि थाह छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दाङ क्षेत्र नम्बर १ मा सर्वाधिक मत प्रात गरेर केन्द्रीय महाधिवेसनमा निर्वाचित भएको हुँ । यस क्षेत्रबाट कांग्रेसको राजनीतिक गर्ने अन्य अग्रज नेताहरु भन्दा पछि आए हुँला तर १४ औं महाधिवेसनले सबैको हैसियत बराबर गराइदिएको छ । मैले बुझेको कुरा के हो भन्दा राजनीतिमा सानो ठुलो, धनि गरिव, अघि र पछि भन्ने कुरा नहुने रैछ । जनताले चाहे भने नतिजा सोचेको भन्दा फरक आउँदो रहेछ । केहि अग्रजहरुले कता कता भनेको सुन्ने गरेको छु “खुमबहादुरको नामले तिमि चुनाव जित्दैनौ भनेर” ए बाबा, कुरा त्यो मात्र हैन, १२ वर्ष सम्म युरोपिएन देशमा बसेर अध्ययन गरेको युवा हुँ, मैले त्यहाँको आर्थिक, राजनैतिक, भौगोलिक सबै कुराको अध्ययन गर्ने मौका पाएको छु, त्यहाँको वस्तुस्थिति बुझेको छु, र अब आफ्नै देशमा गएर केहि गर्नु पर्छ भन्ने भावना जागेर नेपाल फर्किएको छु । जनता सामु जाने मेरा पनि आफ्नै एजेन्डा होलान, कार्य योजना होलान । मेरो बुवाको आशिर्वाद म जिवन्त रहंदा सम्म रहने छ । म तपाईलाई बताउन चाहान्छु, अझै पनि देशको पचहत्तर प्रतिशत जनता खुम बहादुर खड्काका अनुयायी छन । ति सबैको सहानुभूति म प्रति छ । नेतृत्वतहमा बसेका नेताहरुको आशिर्वाद छ, जनताको अथाह माया छ त्यहि भएर मैले प्रतिनिधि सभा सदस्यको लागि नाम सिफारिस गर्न लगाएको हो । म यो देशको संसदमा पुगेर जनताको लागि काम गर्न चाहान्छु यसका लागि जनताले मलाई जिताउनु हुनेछ भन्ने पूर्ण बिश्वास लिएको छु ।
६– काठमाण्डौमा बसेर दाङ क्षेत्र नम्बर १ को राजनीति कसरी सफल हुन्छ ?
होइन, होइन त्यसो बिल्कुलै होइन । मेरो घर लमही नगरपालिका वडा नम्बर ८ गोझेनामा छ । द्वन्दकालमा तोडफोड भएको थियो । बुवाको निधन पछि सोहि घरलाई पुनः मर्मत गरेको छु । दाङ काठमाण्डौ आउने जाने भैरहन्छ । म जता भएपनि दाङका जनताको माया संगै लिएर हिड्ने गरेको छु । बुवाको निधन पछि आमाको हेरचाह, घरयासी कामको पनि जिम्मेवारी थपिएको छ । म काठमाण्डौबाट दाङ गएभने बुवाका शुभ चिन्तकहरु घरमै भेटघाट गर्न आउनु हुन्छ । उहाँहरुले पनि धेरै कुरा सिकाउनु हुन्छ खुशी लाग्छ । हरेक महिनामा दुई पटक म दाङ आएर जिल्लाका नेता कार्यकर्ताहरुसंग भेटघाट गरेर फेरी काठमाण्डौ फर्किने गरेको छु । जिल्लामा आवश्यक विकासका आयोजनाको लागि सम्बन्धित मन्त्रालय र मंत्रीहरुसंग भेटेर बजेट बिनियोजन र छिटो काम गरिदिनका लागि अनुरोध गर्ने काम गरेको छु । मलाई आशा छ मेरो राजनीतिक सफल गराउने नगराउनेमा १ नम्बर क्षेत्रका आदरणीय जनताहरुको हातमा छ ।
७– अन्त्यमा आफ्ना मतदातालाई केहि भन्न चाहानुहुन्छ कि ?
पक्कै पनि सर्वप्रथम मेरा कुराहरु मेरा प्यारा मतदाताहरु समक्ष पुर्याउने तपाई र तपाईको संचार गृह दाङ समाचार प्रति आभारी छु । म पनि दाङ निर्वाचन क्षेत्र नम्बर १ कै बासिन्दा हुँ । आसन्न प्रदेशसभा र प्रतिनिधि सभा सांसदका लागि मेरो नाम पनि सिफारिस भएको यहाँहरु सबैलाई जानकारी नै छ । सांसद टिकटको लागि मेरो पनि दौडधुप भैरहेको छ । यदि मेरो सांसदको टिकट फिक्स भएमा यहाँहरुले अत्याधिक मत दिएर निर्वाचित गराउनु हुने छ भन्ने पूर्ण बिश्वास लिएको छु । तपाईहरुको सुख दुखमा म जतिबेला पनि हाजिर हुनेछु । यदि कुनै बेला केहि समस्या परेको खण्डमा मलाई सम्झिनु होला, म सहयोग गर्न तयार छु । जय नेपाल ।

प्रतिक्रिया दिनुहोस्