दाङ – नेपाली काङ्ग्रेसका युवा नेता तथा लुम्बिनी प्रदेशका सांसद अनुराग खड्काले हात्तिपाइले रोग निर्मुल पार्न आम मानिसमा जनचेतना जोगाउन आवश्यक भएको बताउनु भयो ।
लमही नगरपालिकाले दाङको लमहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खड्काले नेपालबाट यो रोग उन्मुलन गर्नका लागि अनिवार्य रुपले सबैले सेवन गर्नु पर्ने धारणा राख्नु भयो ।
‘राज्यले गरेका हरेक प्रयासबाट पनि रोग निर्मुल नहुनुमा हामी सबै दोषि छौ, लाखौं करोडौं लगानी गरेको छ, हामीले सामान्य रुपले लिएका छौँ, जस्को कारण आज नेपालबाट सधैका लागि हात्तिपाइले रोग हट्न सकेको छैन’- खड्काले भन्नू भयो ।
कार्यक्रममा उपस्थित भएका सबैलाई हात्तिपाइले रोगको औषधि खाएर आफू स्वस्थ हुन पनि सबैलाई आग्रह गर्नु भयो ।
लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सांसद अनुराग खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपप्रमुख लक्ष्मी योगीले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद शर्माले गर्नु भएको थियो ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य अधिकृत गणेश पौडेलले हात्तिपाइले रोगका बारेमा जानकारी गराउनु भएको थियो । हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम आज देखि लमही नगरपालिकामा शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्