लमहीको बाघधैला सोतामा पुल बनेपछि सहज बन्यो स्थानीयको आवागमन

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २० कार्तिक २०८३, बिहीबार
5 Min Read
Aa

दाङ – लमही नगरपालिका–३ वनगाउँस्थित बाघधैला सोतामा पुल निर्माण भएपछि स्थानीयको आवागमन सहज बनेको छ । कुनै समय वर्षायाममा सोता तर्न निकै कठिन हुने र स्थानीयले सास्ती खेप्नुपर्ने अवस्था रहे पनि अहिले पुल निर्माणसँगै दैनिक आवतजावतमा सहजता आएको छ । पुलले स्थानीयको आवागमनलाई सहज बनाउनुका साथै सोता आसपासका जग्गा कटान नियन्त्रणमा समेत सहयोग पुर्याएको स्थानीयले बताएका छन् ।

लमहीको वनगाउँ चोकबाट करिब पाँच सय मिटर उत्तरतर्फ पुग्दा बाघधैला सोता भेटिन्छ । यो सोता कुनै समय स्थानीयका लागि ठूलो समस्याका रूपमा रहेको थियो । उत्तर वनगाउँबाट वनजंगल जाने, वल्लो गाउँबाट पल्लो गाउँ आवतजावत गर्ने तथा विद्यार्थीलाई विद्यालय आउजाउ गर्न निकै कठिन हुने गरेको थियो । विशेषगरी वर्षायाममा सोतामा पानीको बहाव बढ्दा स्थानीयले जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था थियो ।

बाघधैला सोताको बाटो हुँदै नारायणपुर, सोरठी र रातामाटाको बाटो भएर उपल्लो दाङको साविक रामपुर गाविसका केही बस्तीमा पुग्न सकिन्छ । यस मार्गबाट विभिन्न गाउँबस्ती जोडिने भएकाले स्थानीयका लागि यो बाटो निकै महत्वपूर्ण मानिन्छ । केही वर्ष अघिसम्म सोतामा पुल नहुँदा वर्षायाममा आवागमन प्रभावित हुने गरेको थियो । कुनै बेला गाउँघरमा रातबिरात मानिस बिरामी पर्दा एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था रहेको स्थानीयको भनाइ छ । आपत्कालीन अवस्थामा बिरामीलाई अस्पताल पुर्याउनसमेत निकै कठिन हुने गरेको थियो ।

स्थानीय सरकारको पहलमा पुल निर्माण
२०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि गठन भएको लमही नगरपालिकाको स्थानीय सरकारले बाघधैला सोतामा पुल निर्माण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आर्थिक वर्ष २०७९/८० मा पुल निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । बजेट विनियोजन भएलगत्तै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी र लमही नगरपालिका–३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले संयुक्त रूपमा पुलको शिलान्यास गर्नुभएको थियो । नगरपालिकाको बजेटबाट निर्माण सम्पन्न भएको पुलले स्थानीयको लामो समयदेखिको समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेलेको छ । वडा नम्बर ३ मा निर्माण भएको बाघधैला सोताको पुलकै आकार र बजेटमा लमही नगरपालिका–४ मा समेत अर्को पुल निर्माण गरिएको छ । यसले नगरपालिकाका विभिन्न वडामा सडक तथा पुल पूर्वाधार विस्तार गर्ने योजनालाई अघि बढाएको देखिन्छ ।

आवागमनसँगै जग्गा कटान नियन्त्रण
बाघधैला सोतामा पुल निर्माण भएपछि स्थानीयलाई आवतजावत गर्न सहज भएको उत्तर वनगाउँका स्थानीय बुद्धिजीवी शेरबहादुर डाँगी बताउनुहुन्छ । उहाँका अनुसार पुल नहुँदा स्थानीयले लामो समयदेखि समस्या भोग्दै आएका थिए। अहिले पुल निर्माण भएपछि विद्यार्थी, किसान, स्थानीय बासिन्दा तथा अन्य यात्रुलाई आवतजावत गर्न सहज भएको छ ।

पुल निर्माणसँगै सोता आसपासका जग्गा कटान नियन्त्रणमा समेत सहयोग पुगेको स्थानीयको भनाइ छ । वर्षायाममा सोताको पानीले आसपासका जग्गामा क्षति पुर्याउने गरेकोमा अहिले पुल निर्माणपछि त्यस क्षेत्रमा केही राहत मिलेको उनीहरू बताउँछन् । स्थानीयका अनुसार पुलले केवल दुई किनार जोड्ने काम मात्र गरेको छैन, यसले गाउँबस्तीबीचको सम्बन्धलाई थप सहज बनाएको छ । दैनिक कामकाज, विद्यालय आवतजावत, कृषि उपज ओसारपसार तथा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउने कार्यमा समेत पुल उपयोगी बनेको छ ।

वडामा विकास निर्माणका काम निरन्तर
लमही नगरपालिका–३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले वडामा विकास निर्माणका विभिन्न कामहरू भइरहेको बताउनुभएको छ । उहाँका अनुसार वडामा हरेक वर्ष लाखौँ रुपैयाँ बजेट विनियोजन भएर आउने गरेको छ । उक्त बजेट स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा विभिन्न योजनामा बाँडफाँट गरिँदै आएको छ ।

वडा अध्यक्ष चौधरीले विकास निर्माणका कामबारे आलोचना गर्दा विकल्पसहित सुझाव दिन आग्रह गर्नुभएको छ । विकासका काम केही भएका छैनन् भनेर विरोध गर्नुभन्दा आवश्यकताअनुसारका सुझाव र विकल्प प्रस्तुत गरेमा सोहीअनुसार काम गर्न सहज हुने उहाँको भनाइ छ । हरेक वर्ष लाखौँ रुपैयाँ वडामा विनियोजन भएर आउँछ । आवश्यकताका आधारमा बजेट बाँडफाँट गरिन्छ” उहाँले भन्नुभयो । वडा अध्यक्ष चौधरीका अनुसार वडाका विभिन्न स्थानमा सडक ग्राभेल, पक्की नाली निर्माण तथा भित्री सडक कालोपत्रे गर्ने काम सम्पन्न भएका छन् ।

कतिपय स्थानमा सडक स्तरोन्नति गरिएको छ भने अन्य आवश्यक पूर्वाधार निर्माणका कामलाई पनि प्राथमिकताका साथ अघि बढाइएको उहाँले बताउनुभयो । वडामा उपलब्ध सीमित बजेटलाई स्थानीयको आवश्यकताअनुसार परिचालन गर्दै विकास निर्माणका कामलाई निरन्तरता दिइएको वडा अध्यक्ष चौधरीको भनाइ छ ।

बाघधैला सोतामा पुल निर्माण हुनु लमही नगरपालिका–३ को पूर्वाधार विकासको एउटा महत्वपूर्ण उपलब्धि बनेको छ । लामो समयदेखि स्थानीयले भोग्दै आएको आवागमनको समस्या समाधान हुनु, आपत्कालीन अवस्थामा सहज पहुँच स्थापित हुनु र जग्गा कटान नियन्त्रणमा सहयोग पुग्नु यस पुलका प्रमुख उपलब्धि हुन् । पुल निर्माणसँगै स्थानीयको दैनिक जीवनयापन सहज बनेको छ भने गाउँबस्तीबीचको सम्पर्क र सम्बन्धसमेत थप मजबुत बनेको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्