ढकिया बुन्ने सीपलाई व्यावसायिक बनाउँदै आत्मनिर्भर बन्न उपाध्यक्ष यादवको आग्रह

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २० कार्तिक २०८३, बिहीबार
2 Min Read
Aa

दाङ – परम्परागत कला, संस्कृति र सीपको संरक्षण गर्दै त्यसलाई आम्दानीको स्रोत बनाउनुपर्नेमा राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपति देवी यादवले जोड दिनुभएको छ ।

राजपुर गाउँपालिका ६ गंगदीमा सञ्चालन भइरहेको एकमहिने ढकिया बनाउने आधारभूत तालिमको कार्यक्रममा बोल्दै उपाध्यक्ष यादवले पुर्खौँदेखि चल्दै आएको ढकिया बुन्ने सीपलाई नयाँ पुस्तासम्म पुर्‍याउनुका साथै व्यावसायिक उत्पादनमा जोड्नुपर्ने बताउनुभयो ।

उहाँले स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थ र परम्परागत सीपको सदुपयोग गर्न सके नागरिकलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन सकिने धारणा राख्नुभयो । परम्परागत सीप हराउँदै जान नदिन यसको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण आवश्यक रहेको उहाँको भनाइ थियो ।

‘सीप सिकौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित कार्तिक १६ गतेदेखि मंसिर १६ गतेसम्म सञ्चालन हुने तालिममा स्थानीय युवा तथा महिलाहरू सहभागी छन् । तालिममार्फत सहभागीलाई ढकिया बनाउने आधारभूत सीप सिकाउनुका साथै त्यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन प्रोत्साहन गरिने उद्देश्य राखिएको छ ।

तालिममा सहभागीहरूले ढकिया बुन्ने कला आफूहरूले हजुरआमा र आमाहरूबाट सिक्दै आएको पुस्तौँ पुरानो सीप भएको बताएका छन् । गाउँपालिकाले लोपोन्मुख अवस्थामा रहेको परम्परागत सीप सिक्ने र संरक्षण गर्ने अवसर प्रदान गरेकोमा उनीहरूले खुसी व्यक्त गरेका छन् ।

तालिमकी सहभागी उर्मिला चौधरीका अनुसार ढकिया बनाउन आवश्यक बाँस, गोद र बेतबाँसजस्ता कच्चा पदार्थ गाउँघरमै उपलब्ध छन् । स्थानीय स्रोतसाधनको प्रयोग गरेर आकर्षक ढकिया उत्पादन गर्न सके बजारमा बिक्री गरी आम्दानी गर्न सकिने सम्भावना रहेको उहाँले बताउनुभयो ।

परम्परागत रूपमा घरायसी प्रयोजनका लागि बनाइँदै आएको ढकियालाई आधुनिक बजारको मागअनुसार उत्पादन र बजारीकरण गर्न सके स्थानीय महिला तथा युवाका लागि रोजगारी र आम्दानीको राम्रो माध्यम बन्न सक्ने देखिन्छ ।

स्थानीय सीप र स्रोतसाधनलाई उत्पादनसँग जोड्न सके एकातिर मौलिक कला तथा संस्कृतिको संरक्षण हुने र अर्कोतर्फ स्थानीय नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्