दाङ – लमही नगरपालिका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसाेबासी स्थानीय सेवा केन्द्रले लमही नपा – ५ काे सुनखोलीबाट नापजाँच कार्य शुरु गरेकाे छ । सुनखाेली टोल विकास संस्थाका अध्यक्ष डिल कुमार श्रेष्ठको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चाैधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले अव्यवस्थित रुपले बसोबास गरेका सबै नेपाली जनतालाई राज्यले बैधानिकता दिएर व्यवस्थित तौरले राख्न खोजेको जानकारी गराउनु भएको थियो । जनतालाई राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्नका लागि जनताले पनि सहयोग गर्न आवश्यक भएको बताउंदै नगर प्रमुख चौधरीले जग्गा नापजाँच गर्न आउने कर्मचारीलाई आवश्यक सहयोग गरिदिन वडावासीलाई आग्रह गर्नु भयो ।
त्यस्तै उप प्रमुख लक्ष्मी योगीले नगरपालिका भित्र ऐलानी जग्गामा बस्नु हुने सबै नगरवासीलाई हातमा लालपुर्जा दिएर जग्गाधनी बनाउने कार्यमा नगरपालिका घनिभूत तरिकाले लागेको बताउनु भयो । आफूहरुकै कार्यकालमा जग्गाधनीको पुर्जा दिने गरि काम थालनी भएको उहाँको भनाई छ ।
कार्यक्रममा निवर्तमान उप प्रमुख देवका बेल्बासे, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, ५ नम्बर वडा का वडा अध्यक्ष ओमप्रकाश सुवेदी, नापी कार्यालय लमहीका सर्वेक्षक तथा नापी टाेली प्रमुख विजयराज जाेशी लगायतको सहभागिता रहेको थियो ।
लमहीनगरपालिका – ५ मा भूमिहीन दलित २८, भूमिहीन सुकुम्बासी ७४ र अव्यवस्थित बसोबासी ३९० गरी जम्मा ४९२ जनाको लगत संकलन भएको छ । कार्यक्रमको सहजिकरण सेवा केन्द्रका प्रमुख गोपाल विकले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्