काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा साेमबार अन्तिम सुनुवाइ हुँदैछ। जिल्ला अदालत, काठमाडौँमा आज साेमबार अन्तिम सुनुवाइकाे पेशी ताेकिएको हाे।
सर्वाेच्च अदालतले ‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन आदेश दिएपछि आजलाई अन्तिम सुनुवाइको पेशी तोकिएको हाे। यसअघि शुक्रबार जाहेरवाला किशोरीले अन्तरिम राहत माग गर्दै दायर गरेको निवेदनमा सुनुवाइ भएको थियो। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले अन्तरिम राहत दिन नपर्ने आदेश सुनाएको थियाे।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत, काठमाडौँमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो। उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ।
१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदावी गरिएको छ। दफा २१९ को उपदफा (३)को देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।
लामिछानेलाई पाटन उच्च अदालतले विदेशमा जान रोक लगाएकाे थियो। जसविरुद्धमा सर्वोच्चमा पुगेका लामिछानेलाई सर्वोच्च अदालतले विदेश जानका लागि स्वीकृत प्रदान गरेकाे थियाे।

प्रतिक्रिया दिनुहोस्