विद्यालय बाहिर रहेका बालबालिकालाई अनिवार्य भर्ना गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ समाचार
दाङ समाचार २ बैशाख २०८२, मंगलवार
1 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालय बाहिर रहेका बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गर्न निर्देशन दिनुभएको छ । सामुदायिक विद्यालयका शिक्षकहरु विभिन्न माग राखेर काठमाण्डौमा आन्दोलित भई रहंदा मुख्यमन्त्रीको यस्तो निर्देशन आएको हो ।

शिक्षा सबैको मौलिक हक भएकाले एकजना पनि बालबालिका विद्यालयबाहिर नरहोस् भन्ने उद्देश्यले प्रदेशभर अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, अभिभावक, शिक्षक र सम्पूर्ण सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँले बताउनुभएको छ । कक्षा ८ सम्म अनिवार्य तथा निःशुल्क शिक्षा लागू छ ।

अघिल्लो बर्षको शैक्षिक तथ्याङ्क अनुसार प्रारम्भिक बालविकास शिक्षामा कुल भर्ना दर ९९.९ प्रतिशत र प्रारम्भिक बालविकास शिक्षामा खुद भर्ना दर ७०.६ प्रतिशत रहेको थियो । कक्षा १ मा खुद प्रवेश दर ९५.७ प्रतिशत छ । आधारभूत तह (कक्षा १–८) मा खुद भर्ना दर ९५.२ प्रतिशत तथा माध्यमिक तह(९–१०) मा खुद भर्ना दर ७६.५ रहेको छ । माध्यमिक तह (११–१२) मा खुद भर्ना दर ३७.१ प्रतिशत रहेको छ ।

यस्तै माध्यमिक तह(९–१२)मा खुद भर्नादर ५७.९ रहेको थियो । मुख्यमन्त्री आचार्यले शैक्षिक प्रगतिलाई अझ सुदृढ बनाउँदै कुनै पनि बालबालिका विद्यालय बाहिर नहुनेगरी अभियानलाई सफल बनाउन सबै पक्षको सक्रियता अपरिहार्य रहेको बताउनुभएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित लुम्बिनी प्रदेशमा भर्ना अभियान जारी छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्