लमहीमा सहकारी संस्थाका लागि तीन दिने कोपोमिस तालिम सुरु

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २ असार २०८२, सोमबार
1 Min Read
Aa

दाङ – सहकारी संस्थाहरूलाई अझ प्रभावकारी, पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले लमही नगरपालिकामा तीन दिने ‘कोपोमिस’ तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले सहकारीको व्यवस्थापन, पारदर्शिता र सुशासनमा कोपोमिस प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उपप्रमुख योगीले भन्नुभयो, “सहकारीहरूको दैनिक कामकाजदेखि वित्तीय विवरण व्यवस्थापनसम्ममा कोपोमिस प्रणालीको प्रयोग अत्यन्तै उपयोगी हुनेछ । यस तालिमले व्यवस्थापकहरूलाई आधुनिक प्रविधिमा दक्ष बनाउनेछ ।”

कोपोमिस एक डिजिटल सहकारी व्यवस्थापन प्रणाली हो, जसबाट सहकारी संस्थाको सम्पूर्ण अभिलेख सुरक्षित रूपमा डिजिटल माध्यममा राख्न सकिन्छ । प्रणालीको प्रयोगले सहकारीलाई पारदर्शी, दिगो र परिणाममुखी बनाउने अपेक्षा लिएको छ ।

तीन दिने तालिममा लमही नगरपालिकाभित्रका ३५ वटा सहकारी संस्थाका व्यवस्थापकहरूको सहभागिता रहेको छ । सहकारी प्रशिक्षालय नेपालगन्जका प्रशिक्षक जागेश्वर थारुले सहकारी व्यवस्थापनसम्बन्धी व्यवहारिक अभ्यास गराउँदै प्रशिक्षण दिइरहनु भएको छ ।

तालिममा सहभागीहरूलाई कोपोमिस प्रणालीको प्रयोग, डाटा प्रविष्टि, रिपोर्टिङ, लेखा व्यवस्थापन लगायतका विषयमा व्यवहारिक ज्ञान प्रदान गरिने सहकारी शाखा प्रमुख लक्ष्मी सुवेदीले जानकारी दिनुभयो ।

लमही नगरपालिकाले सहकारीहरूलाई पारदर्शी बनाउँदै सूचना प्रविधिको उपयोगमार्फत दिगो र उत्तरदायी सहकारी प्रणालीको विकासमा योगदान पुर्याउने लक्ष्यसहित तालिमको आयोजना गरेको हो । लमही नगरपालिकाले विगतका दिन देखिनै सहकारीलाई व्यवस्थित गर्ने भने यस्ता प्रकारका तालिम संचालन गर्दै आएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्