शिव राज खनाल
दाङ – राजपुर गाउँपालिका –३ प्रतापपुरमा दूध उत्पादन गर्ने किसानहरूलाई लक्षित गर्दै अत्याधुनिक दूध संकलन केन्द्र स्थापना गरिएको छ । किसानको उत्पादनलाई उचित मूल्यमा व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको यो केन्द्रले दैनिक रुपमा किसानबाट दूध संकलन गर्नेछ ।
दूध संकलन केन्द्रको उद्घाटन राजपुर गाउँपालिकाका अध्यक्ष सरद कुमार बुढाथोकी, उपाध्यक्ष धनपती देवी यादव, वडा अध्यक्ष राम प्रसाद अहिर, स्थानीय प्रतिनिधि तथा कृषकहरूको उपस्थितिमा सम्पन्न भयो । केन्द्रमा दूध तौल गर्ने डिजिटल प्रणाली, संकलन र भण्डारण ट्याङ्की, साथै चिलिङ प्रणाली जडान गरिएको छ ।
राजपुरका किसानहरू लामो समयदेखि दूधको उचित मूल्य नपाएको र बजार अभावका कारण सस्तो मूल्यमा दूध बेच्न बाध्य रहेको गुनासो गर्दै आएका थिए । स्थानीय किसान पुस्पा यादव भन्छिन्, “अब हामीलाई निश्चित मूल्यमा दूध बेच्न पाइनेछ। किसानलाई न्याय हुने विश्वास लागेको छ ।” उनका अनुसार पहिले स्थानीय व्यापारीलाई प्रतिलिटर रु. ६० मा दूध बेच्नुपर्दा अहिले संकलन केन्द्रमा प्रतिलिटर रु. १०६ मा बिक्री भइरहेको छ ।
यो योजनामा गाउँपालिकाको भिटा कार्यक्रम अन्तर्गत लगानी गरिएको भिटा परियोजना संयोजक गिरिराज भट्टले जानकारी दिए । केन्द्रको सञ्चालन, व्यवस्थापन र अनुगमन स्थानीय सहकारी संस्थामार्फत गरिनेछ । साथै, किसानहरूको दूध उत्पादनलाई गुणस्तर र परिमाणका आधारमा मूल्यांकन गर्ने प्रणाली पनि लागू गरिने छ ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष बुढाथोकीले भने, “यो केन्द्र किसानको जीवनस्तर उकास्ने महत्वपूर्ण आधार बन्नेछ । आगामी दिनमा पशुपालनलाई व्यवस्थित गर्दै यस क्षेत्रलाई ‘दूधको केन्द्र’ बनाउने हाम्रो योजना छ । हामीले उत्पादनको मूल्य स्थायित्व, गुणस्तर आधारित मूल्यांकन र नियमित संकलन प्रणाली सुनिश्चित गर्नेछौं। यो केन्द्रले केवल दूध मात्र होइन, किसानको विश्वास पनि संकलन गर्नेछ ।”
त्यस्तै, उपाध्यक्ष धनपती देवी यादवले भनिन्, “दूध संकलन केन्द्रको स्थापना हाम्रो गाउँपालिकाको कृषि र पशुपालन क्षेत्रमा ठूलो उपलब्धि हो । अब किसानले आफ्नो उत्पादन सस्तोमा बेच्नुपर्ने चिन्ता गर्नु पर्दैन ।”
स्थापित केन्द्रबाट दैनिक १,००० घरधुरीबाट करिब २,००० लिटरभन्दा बढी दूध संकलन गरिने अपेक्षा गरिएको छ । साथै, आगामी दिनमा नस्ल सुधार, पशु आहार अनुदान र तालिम कार्यक्रम समेत सञ्चालन गरिने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्