पत्रकारिताको नयाँ जात्रा : परिचयपत्र कि चरित्र ? ( व्यङ्ग्य लेख )

दुखहरण यादव
दुखहरण यादव १० असार २०८३, बुधबार
5 Min Read
Aa

आजकाल पत्रकारिता पनि कस्तो सजिलो पेशा भयो ! पहिले पत्रकार बन्न वर्षौं अध्ययन गर्नुपर्थ्यो, समाचार लेख्न सिक्नुपर्थ्यो, तथ्य र प्रमाण खोज्नुपर्थ्यो, आचारसंहिता पढ्नुपर्थ्यो । अहिले भने स्मार्टफोन, फेसबुक आईडी र दुई–चार वटा “लाइभ” गरे पुग्ने रहेछ ।

आजकाल पत्रकार चिन्ने तरिका पनि निकै सजिलो भएको छ। घाँटीमा परिचयपत्र झुण्डिएको छ भने पत्रकार, हातमा मोबाइल छ भने सञ्चारकर्मी, फेसबुकमा दुई–चार वटा स्टाटस लेख्यो भने विश्लेषक, र कसैलाई गाली गर्‍यो भने खोज पत्रकार ! चरित्र, अध्ययन, जिम्मेवारी र सामाजिक छविजस्ता पुराना कुरा अब शायद संग्रहालयमा राख्नुपर्ने अवस्था आएको छ ।

हिजो गाउँमा कसैले पत्रकार देख्दा सम्मानले कुर्सी सारिदिन्थ्यो । पत्रकारको नाम सुन्नासाथ मानिसको मनमा विश्वास जाग्थ्यो । आजकल भने को पत्रकार हो र को “पत्रकारको अभिनय गर्ने कलाकार” हो छुट्याउनै गाह्रो भएको छ । कतिपयले पत्रकारितालाई जनसेवाको माध्यम होइन, व्यक्तिगत स्वार्थ पूरा गर्ने हतियार बनाएका छन् । समाजमा आफ्नो व्यवहार, बोली, सोच र जिम्मेवारीले सम्मान कमाउनुपर्ने व्यक्तिहरू केही स्थानमा परिचयपत्रको बलमा सम्मान खोजिरहेका देखिन्छन ।

कुनै घटना भयो भने तथ्य बुझ्नुभन्दा पहिले फेसबुकमा “ब्रेकिङ” हाल्न हतार हुन्छ । समाचारको स्रोतभन्दा पनि भ्यु र लाइकको संख्या महत्त्वपूर्ण भएको छ । सत्यता जाँच्ने समय छैन, तर आरोप लगाउने हतार भने प्रशस्त छ । भोलि समाचार गलत सावित भए पनि चिन्ता छैन, किनकि अर्को दिन नयाँ हल्ला भेटिहालिन्छ ।

पत्रकारको सबैभन्दा ठूलो सम्पत्ति समाचार होइन, उसको विश्वसनीयता हो तर कतिपयलाई लाग्छ, विश्वसनीयता त आवश्यक पर्दा स्टाटसमा लेखेर पनि बनाउन सकिन्छ। सामाजिक सम्बन्ध बिगार्दै, व्यक्तिगत रिस र पूर्वाग्रहलाई समाचारको रंग लगाउँदै, अनि त्यसलाई निष्पक्षताको नाम दिँदै हिँड्नु नै शायद नयाँ युगको पेशागत दक्षता हो ।

अझ रोचक कुरा त व्यक्तिवादको खेतीमा देखिन्छ । समाज, समुदाय र जनसरोकारभन्दा “म” ठूलो भएको छ । समाचारभन्दा समाचार लेख्ने व्यक्ति चर्चित हुनुपर्छ भन्ने मान्यता बढेको छ। विषयवस्तु ओझेलमा पर्छ, व्यक्ति केन्द्रमा आउँछ । समाचारको शीर्षकभन्दा आफ्नो फोटो ठूलो हुनुपर्छ भन्ने अद्भुत आत्मविश्वास पनि देखिन्छ । यस्तो लाग्छ, पत्रकारिता समाजको ऐना होइन, व्यक्तिगत प्रचारको होर्डिङ बोर्ड बन्दै गएको छ ।

अझ रमाइलो कुरा त के छ भने केही व्यक्तिहरूले पत्रकार परिचयपत्रलाई जादुको छडी ठानेका छन् । जहाँ गए पनि “म पत्रकार हुँ” भनेर विशेष सुविधा खोज्ने, आफ्नो स्वार्थ पूरा गर्न दबाब दिने र नसके धम्की दिने प्रवृत्ति बढ्दै गएको छ । यस्ता व्यक्तिहरूले गर्दा वास्तविक पत्रकारहरू समेत शंकाको घेरामा पर्न थालेका छन् ।

पत्रकारितामा आलोचना आवश्यक हुन्छ। प्रश्न सोध्नु आवश्यक हुन्छ । तर प्रश्न सत्यका लागि सोधिएको हो कि व्यक्तिगत हिसाब बराबर गर्न, त्यो छुट्याउन सक्ने समाज अझै बाँकी छ। केही पात्रहरूका गतिविधि हेर्दा लाग्छ – समाचारको विषयभन्दा आफ्नो भावना महत्त्वपूर्ण छ, तथ्यभन्दा आफ्नो धारणा बलियो छ, र प्रमाणभन्दा आफ्नो निष्कर्ष छिटो तयार हुन्छ ।

बोली र भाषाको पनि आफ्नै मर्यादा हुन्छ । शब्दले समाज जोड्न सक्छ, शब्दले समाज भत्काउन पनि सक्छ । तर कतिपय अवस्थामा शब्दहरू सूचना दिनभन्दा आवेग पोख्न प्रयोग भएको देखिन्छ। समाचार कम, आक्रोश बढी; विश्लेषण कम, आरोप बढी; तथ्य कम, तिक्तता बढी । अनि त्यसैलाई निर्भीकताको उपाधि दिइन्छ ।

पत्रकारिता भनेको माइक्रोफोन समात्दैमा, क्यामेरा बोकेर हिँड्दैमा वा फेसबुकमा लाइभ गर्दैमा हुने विषय होइन । पत्रकारिता त सत्यको खोजी गर्ने, जनताको आवाज बोल्ने र समाजलाई सही सूचना दिने जिम्मेवारी हो । तर केही अपरिपक्व पात्रहरूले यसलाई सस्तो लोकप्रियता कमाउने माध्यम बनाएका छन् ।

पत्रकारिता भनेको कसैलाई मन परे प्रशंसा र मन नपरे प्रहार गर्ने कला होइन । यो त सार्वजनिक विश्वासको जिम्मेवारी हो। चरित्र कमजोर भएर छवि बलियो बन्न सक्दैन । सामाजिक सम्मान मागेर होइन आचरणबाट प्राप्त हुन्छ । परिचयपत्रले ढोका खोल्न सक्छ तर विश्वासको ढोका खोल्ने चाबी भने चरित्र नै हो ।

त्यसैले आज प्रश्न पत्रकारितामाथि कम, पत्रकारको चरित्रमाथि बढी उठिरहेको छ । किनकि पेशाको गरिमा व्यक्तिको व्यवहारबाट मापन हुन्छ । यथार्थमा आज प्रश्न पत्रकारितामाथि होइन पत्रकारको चरित्रमाथि बढी उठिरहेको छ । किनकि पेशाको गरिमा व्यक्तिको व्यवहारबाट मापन हुन्छ । जब व्यक्तिवाद, आवेग, पूर्वाग्रह र स्वार्थले पेशागत धर्मलाई ओझेलमा पार्न थाल्छन्, तब बदनाम पत्रकारिता हुँदैन- पत्रकारिताको नाममा गरिएको अभिनय बदनाम हुन्छ ।

त्यसैले आजको आवश्यकता पत्रकारको संख्या बढाउने होइन, गुणस्तरीय पत्रकारिता बढाउने हो । किनकि एक जना जिम्मेवार पत्रकारले समाज बदल्न सक्छ भने एक जना गैरजिम्मेवार “पत्रकार” ले सम्पूर्ण पेशाकै बदनामी गराउन सक्छ ।

पत्रकारिता पेशा होइन विश्वास हो र विश्वास कमाउन वर्षौं लाग्छ, गुमाउन एक मिनेट पनि लाग्दैन । परिचयपत्र छाप्न सजिलो छ तर चरित्र निर्माण गर्न अझै पनि कुनै छापाखाना खुलेको छैन ।

लेखक नेपाल पत्रकार महासंघ दाङको निवर्तमान जिल्ला सदस्य हुनुहुन्छ ।

दुखहरण यादव

प्रतिक्रिया दिनुहोस्