नेपाली कांग्रेस कसैको बिर्ता होइन, कार्यकर्ताको सम्मानबाट मात्र पार्टी बलियो बन्छ

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २२ असार २०८३, सोमबार
6 Min Read
Aa

नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा नेपाली कांग्रेस एउटा राजनीतिक दल मात्र होइन, लोकतन्त्र, स्वतन्त्रता र जनअधिकारको पर्यायका रूपमा स्थापित संस्था हो । राणाशासनको अन्त्यदेखि प्रजातन्त्रको स्थापना, पञ्चायतविरुद्धको संघर्ष, बहुदलीय व्यवस्थाको पुनःस्थापना र संविधान निर्माणसम्मका ऐतिहासिक यात्रामा नेपाली कांग्रेसले अतुलनीय भूमिका निर्वाह गरेको छ । यो गौरवशाली इतिहास कुनै एक व्यक्तिको देन होइन, हजारौं ज्ञात अज्ञात सहिद, त्यागी नेता र समर्पित कार्यकर्ताको रगत, पसिना र बलिदानबाट निर्माण भएको हो । त्यसैले नेपाली कांग्रेस कुनै व्यक्ति, परिवार, गुट वा समूहको निजी सम्पत्ति होइन, यो सम्पूर्ण लोकतन्त्रवादी नेपालीहरूको साझा विरासत हो ।

तर विडम्बना आज पार्टीभित्र देखिएका केही प्रवृत्तिहरूले आम कार्यकर्तामा गहिरो निराशा पैदा गरिरहेका छन् । माथिल्लो तहमा गुटगत राजनीति, शक्ति संघर्ष र नेतृत्वबीचको अविश्वासको चर्चा भइरहेकै छ । त्यसको असर तल्लो तहसम्म पुग्दा झन् विकृत रूप लिएको देखिन्छ । कतिपय स्थानीय तहका नेताहरूले आफूलाई पार्टीभन्दा माथि ठान्ने, कार्यकर्तालाई सम्मान गर्नुको सट्टा थर्काउने, गाली गर्ने, अपमानजनक व्यवहार गर्ने र आफूले भनेको नै अन्तिम सत्य हो भन्ने मानसिकता बोकेर हिँडेको गुनासो व्यापक रूपमा सुनिन्छ ।

पार्टीको वास्तविक शक्ति भनेको कार्यकर्ता हो । चुनावका बेला घरदैलो गर्ने, झण्डा बोक्ने, नाराजुलुस गर्ने, अप्ठ्यारो परिस्थितिमा पनि पार्टीको पक्षमा उभिने, जनताको बीचमा पार्टीको विचार पुर्‍याउने र संकटका बेला पार्टीको ढाल बन्ने कार्यकर्ता नै हुन् । तर तिनै कार्यकर्तालाई “तिमी केही होइनौ”, “हामीले बनाएको नेता हौ”, वा “हाम्रो कुरा नमाने पार्टीमा ठाउँ छैन” भन्ने शैलीमा व्यवहार गरिनु अत्यन्त दुःखद विषय हो । सम्मानको अपेक्षा राख्ने कार्यकर्ताले अपमान पाउँदा उसको मनमा पार्टीप्रति नै वितृष्णा पैदा हुनु स्वाभाविक हो ।

अझ चिन्ताजनक कुरा त के छ भने, केही स्थानमा जात, धर्म, लिङ्ग, भूगोल वा व्यक्तिगत निकटताका आधारमा अवसर बाँड्ने प्रवृत्ति बढेको भन्ने गुनासो छ । कांग्रेसको मूल दर्शन समावेशी लोकतन्त्र हो । समान अवसर र समान सम्मान यसको आधारभूत मूल्य हो । तर यदि निर्णयहरू योग्यता र योगदानका आधारमा नभई आफ्नो पराइको मानसिकताबाट हुन थाले भने त्यसले पार्टीको नैतिक आधार कमजोर बनाउँछ । यस्तो प्रवृत्तिले योग्य र समर्पित कार्यकर्तालाई निरुत्साहित मात्र गर्दैन, संगठनभित्र अविश्वास र विभाजन पनि बढाउँछ ।

आजको अर्को विकृति भनेको कार्यकर्तामाथि अनावश्यक शंकाको दृष्टिले हेर्ने प्रवृत्ति हो । सामाजिक सञ्जालको यो युगमा विभिन्न कार्यक्रम, सामाजिक भेटघाट वा सार्वजनिक समारोहमा फरक फरक दलका नेतासँग फोटो खिचिनु सामान्य विषय हो । तर विपक्षी दलका नेता वा कार्यकर्तासँग एउटा तस्वीर खिचियो भन्ने आधारमा कसैलाई पार्टीविरोधी घोषणा गर्ने, स्पष्टीकरण माग्ने, लाञ्छना लगाउने वा चरित्रहत्या गर्ने प्रवृत्ति स्वस्थ राजनीतिक संस्कृतिसँग मेल खाँदैन । लोकतन्त्रमा विचार फरक हुन सक्छ, सम्बन्ध शत्रुतापूर्ण हुनु आवश्यक छैन । राजनीतिक प्रतिस्पर्धा र व्यक्तिगत सम्बन्धलाई छुट्याउन सक्ने परिपक्वता नेतृत्वमा हुनुपर्छ ।

कांग्रेसभित्र फरक विचार राख्ने कार्यकर्तालाई शत्रु ठान्ने होइन, सुन्ने र संवाद गर्ने संस्कार विकास हुनुपर्छ । आलोचना गर्ने सबै व्यक्ति विरोधी हुँदैनन् । धेरैजसो आलोचना पार्टीलाई अझ राम्रो बनाउने उद्देश्यले गरिएका हुन्छन् । लोकतान्त्रिक पार्टीभित्र फरक मतलाई सम्मान गर्ने संस्कृति नै उसको सबैभन्दा ठूलो शक्ति हो । यदि आलोचना गर्नेहरूलाई निषेध गर्ने, बोल्नेलाई कारबाहीको धम्की दिने र प्रश्न उठाउनेलाई पाखा लगाउने काम गरिन्छ भने त्यो लोकतान्त्रिक पार्टीको होइन, निरंकुश मानसिकताको संकेत हो ।

आज धेरै कार्यकर्ता निराश छन् । उनीहरू पार्टी छोड्न चाहँदैनन्, किनकि उनीहरूको आस्था सिद्धान्तमा छ । तर केही व्यक्तिको व्यवहारका कारण उनीहरू आफूलाई अपमानित महसुस गरिरहेका छन् । कार्यकर्ताको मन दुखाएर कुनै पनि संगठन लामो समय टिक्न सक्दैन । संगठन भवनले होइन, कार्यकर्ताको विश्वासले बलियो हुन्छ । त्यो विश्वास गुम्यो भने संगठनको जग नै कमजोर हुन्छ ।

आज आवश्यक कुरा आत्मसमीक्षा हो । नेतृत्वले आफूलाई प्रश्न गर्नुपर्छ के हामी कार्यकर्तालाई सम्मान गरिरहेका छौं ? के अवसर वितरण निष्पक्ष छ ? के हामी गुटभन्दा माथि उठ्न सकेका छौं ? के आलोचनालाई स्वीकार गर्ने संस्कार विकास भएको छ ? यी प्रश्नहरूको इमानदार उत्तर खोजे मात्र पार्टीलाई नयाँ ऊर्जा दिन सकिन्छ ।

महामानव बीपी कोइरालाले नेपाली कांग्रेसलाई विचार, सिद्धान्त, त्याग र लोकतान्त्रिक संस्कृतिको जगमा उभ्याउनुभएको थियो । उहाँले कार्यकर्तालाई सधैं सम्मान गर्नुभयो, फरक मतलाई लोकतन्त्रको सौन्दर्य मान्नुभयो र संगठनलाई व्यक्तिभन्दा माथि राख्नुभयो । आज यदि उहाँका आदर्शहरूलाई व्यवहारमा उतार्ने हो भने कांग्रेस फेरि जनताको भरोसाको केन्द्र बन्न सक्छ ।

नेतृत्वले कार्यकर्ताको आवाज सुन्नुपर्छ, गुटगत अहंकार त्याग्नुपर्छ, अपमान होइन सम्मानको सस्कार बसाल्नुपर्छ । पार्टीभित्र समान अवसर, समान व्यवहार र समान न्यायको वातावरण निर्माण गर्नुपर्छ । कार्यकर्तालाई दास होइन, संगठनको मेरुदण्डका रूपमा स्वीकार गर्नुपर्छ । यही बाटोले मात्र नेपाली कांग्रेसलाई पुनः बलियो, एकताबद्ध र जनविश्वासयुक्त बनाउन सक्छ ।

अन्त्यमा नेपाली कांग्रेस कसैको बिर्ता होइन । यो महामानव वीपी कोइरालाले विचार, त्याग र संघर्षबाट आर्जेको विशाल लोकतान्त्रिक संस्था हो । यसलाई कुनै गुट कुनै व्यक्ति वा कुनै पदाधिकारीको निजी सम्पत्ति ठान्ने भूल कसैले नगरोस् । हामी पदका लागि होइन, सिद्धान्तका लागि कांग्रेसमा लागेका हौँ । हामी चापलुसीका लागि होइन लोकतान्त्रिक मूल्य र आदर्शका लागि उभिएका सच्चा सिपाही हौं । कार्यकर्ताको सम्मान हुने दिन कांग्रेस अझ बलियो हुनेछ; कार्यकर्ताको अपमान हुने दिन पार्टी स्वयं कमजोर बन्दै जानेछ । त्यसैले अब पनि समयमै सचेत बनौं, पार्टीलाई व्यक्तिको होइन, विचारको संगठन बनाऔं । यही नै नेपाली कांग्रेसको उज्ज्वल भविष्यको आधार हो । जय नेपाल !!

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्