देउखुरीमा एक वर्षमा ४४७ वन्यजन्तुको उद्धार

दाङ समाचार
दाङ समाचार १४ श्रावण २०८३, बिहीबार
4 Min Read
Aa

शिवु खनाल

दाङ – डिभिजन वन कार्यालय देउखुरीले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न प्रजातिका ४४७ वन्यजन्तुको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये सबैभन्दा धेरै सर्प प्रजातिका ४३१ वटा रहेका छन् । तीमध्ये ९ वटा अजिङ्गर, १ वटा राजगोमन र अन्य ४ सय २१ कोब्रा लगायत विभिन्न प्रजातीका सर्पहरु रहेका छन् ।

डिभिजन वन कार्यालय देउखुरीका वरिष्ठ फरेष्टर चिरञ्जिबी खनालका अनुसार उद्धार गरिएका सर्पमा २ सय ७० वटा कोब्रा, ४२ वटा धामन, ४५ वटा करेत, १४ वटा शृगारे, १७ वटा विरालु, ९ वटा अजिङ्गर, १ वटा राजगोमन, १ वटा रसेल भाइपर, ३२ वटा वटा पानी सर्प रहेका छन् । त्यसैगरी १ वटा चितुवा, २ वटा चित्तल, ४ वटा रतुवा, ५ वटा गिद्ध, ३ वटा वन बिराले, १ वटा कछुवा उद्धार गरिएको वरिष्ठ फरेष्टर खनालले बताउनुभयो ।

डिभिजन वन कार्यालय देउखुरीको प्राविधिक सहयोगमा पत्रकार एवम् वन्उजन्तु उद्दारकर्ता शिवु खनालले देउखुरी क्षेत्रमा रहेका चार स्थानिय तहका स्थानियहरुको घर, सार्वजनिक स्थान र विभिन्न क्षेत्रबाट सकुशल रुपमा उद्दार गरिएका सर्पहरु आवश्यक प्रकृया पु¥याएर उनिहरुको प्राकृतिक बासस्थानमा छोडिएको हो ।

उहाँका अनुसार घाइते, टुहुरा, बाटो बिराएर बस्तीमा पुगेका वा अन्य कारणले सङ्टमा परेका वन्यजन्तुको उद्धार गरिँदै आएको छ । उद्धार गरिएका अधिकांश वन्यजन्तुलाई उपचारपछि सामुदायिक वन र अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्धारा संचालित जैविक विविधता ग्रीनपार्क र कुलपानी हरित पार्कमा पुनःस्थापना गरिएको छ ।

केहीलाई बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पठाउने गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, हामीले उद्धार गरेका वन्यजन्तु अधिकांश सामान्य र केही घाइते अवस्थामा रहेका थिए । घाइते वन्यजन्तुलाई वन कार्यालयमा राखेर औषधि उपचारपश्चात् पूर्णरूपमा निको भएपछि मात्र प्राकृतिक वासस्थानमा नै छोड्ने गरेका छौँ ।

जंगलमा आहाराको मात्रा कम हुनु, मानिसको बढी चहलपहल हुनु, बाटो बिराएर मानवबस्तीमा प्रवेश गर्नुलगायत कारणले वन्यजन्तु आफ्नो बासस्थानबाट बाहिर निस्किएर अलपत्र पर्ने गरेका उहाँको भनाइ थियो । डिभिजन वन कार्यालय देउखुरीले पछिल्लो एकवर्षको अवधिमा वन्यजन्तु संरक्षण तथा उद्धार अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ ।

मानव बस्तीमा प्रवेश गरेका तथा विभिन्न कारणले जोखिममा परेका वन्यजन्तुको समयमै उद्धार गरी सुरक्षित प्राकृतिक वासस्थानमा फर्काउने कार्यलाई कार्यालयले प्राथमिकताका साथ अघि बढाएको जनाएको छ । डिभिजन वन कार्यालय देउखुरीका डिभिजनल वन अधिकृत गणेश खड्काले स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समूह, सुरक्षाकर्मी, पत्रकार तथा स्वयंसेवी संरक्षणकर्मीको समन्वयका कारण उद्धारकार्य प्रभावकारी बनेको बताउनुभयो ।

उहाँले वन्यजन्तु संरक्षणलाई केवल सरकारी निकायको दायित्वका रूपमा नभई सम्पूर्ण समाजको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,–। …वन्यजन्तुहरू मानव बस्तीमा प्रवेश गर्नुका पछाडि वन विनाश, बासस्थानको संकुचन, जलवायु परिवर्तन तथा खाद्यान्नको अभावजस्ता विभिन्न कारण रहेका छन् । यस्ता अवस्थामा वन्यजन्तुलाई हानि नगरी सुरक्षित रूपमा उद्धार गरी प्राकृतिक बासस्थानमा फर्काउनु हाम्रो पहिलो दायित्व हो ।

पछिल्लो एकवर्षमा डिभिजन वन कार्यालय देउखुरीले स्थानीय समुदाय, सामुदायिक वन, सुरक्षाकर्मी र संरक्षणकर्मीहरूसँगको सहकार्यमा धेरै वन्यजन्तुको सफल उद्धार गरेको छ । यसले संरक्षणप्रतिको जनचेतना पनि बढ्दै गएको देखाउँछ ।Ú उहाँले वन्यजन्तुको संरक्षणका लागि उद्धार मात्र पर्याप्त नभई वन क्षेत्रको संरक्षण, जैविक विविधताको व्यवस्थापन, जनचेतना अभिवृद्धि र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।

वन्यजन्तु देखिएमा डराउने, आक्रमण गर्ने वा मार्ने होइन, तत्काल डिभिजन वन कार्यालय वा सम्बन्धित निकायलाई जानकारी गराउनु सबै नागरिकको दायित्व हो, उहाँले भन्नुभयो, हामी आगामी दिनमा उद्धार टोलीलाई थप दक्ष बनाउने, आवश्यक उपकरणको व्यवस्था गर्ने तथा स्थानीय तहसँगको सहकार्यलाई अझ सुदृढ बनाउने योजनामा छौँ ।

वन क्षेत्रमा जैविक विविधताको संरक्षणसँगै वन्यजन्तु उद्धार कार्यलाई अझ व्यवस्थित बनाउने लक्ष्यका साथ डिभिजन वन कार्यालय देउखुरीले जनचेतनामूलक कार्यक्रम, उद्धार तालिम तथा समन्वयात्मक अभियानलाई निरन्तरता दिएको जनाएको छ । संरक्षणकर्मीहरूका अनुसार वन्यजन्तुप्रति नागरिकको सकारात्मक सोच र समयमै सूचना दिने बानीको विकास भएमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणसँगै जैविक विविधता संरक्षणमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्