नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा नेपाली कांग्रेसको योगदान अतुलनीय छ । प्रजातन्त्रको स्थापना, बहुदलीय व्यवस्थाको पुनस्र्थापना, लोकतान्त्रिक संविधान निर्माणदेखि लिएर नागरिक अधिकारको सुनिश्चिततासम्म कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।
यही कारणले नेपाली कांग्रेसलाई देशकै सर्वप्रिय लोकतान्त्रिक पार्टीका रूपमा चिनिन्छ । तर देश राजनीतिक, आर्थिक र सामाजिक चुनौतीसँग जुधिरहेको वर्तमान अवस्थामा यही पार्टीभित्र देखिएको विभाजन र गुटगत राजनीति आम नागरिक तथा कार्यकर्ताका लागि चिन्ताको विषय बनेको छ ।
आज देशले राजनीतिक निकास खोजिरहेको छ । जनतामा बढ्दो निराशा, बेरोजगारी, युवाको विदेश पलायन, आर्थिक मन्दी, सुशासनको अभाव र राजनीतिक अस्थिरताले मुलुकलाई गम्भीर मोडमा पु¥याएको छ । यस्तो अवस्थामा देशको सबैभन्दा ठूलो लोकतान्त्रिक शक्तिका रूपमा रहेको नेपाली कांग्रेस अझ सशक्त, एकताबद्ध र जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने अपेक्षा स्वाभाविक हो । तर विडम्बना, पार्टीभित्रको आन्तरिक विवाद, गुटगत प्रतिस्पर्धा र नेतृत्व तहको असमझदारीले कांग्रेस आफैं कमजोर बन्दै गएको देखिन्छ ।
लोकतान्त्रिक पार्टीभित्र विचारको विविधता हुनु अस्वाभाविक होइन । फरक मत, फरक धारणा र स्वस्थ बहसले नै लोकतन्त्रलाई बलियो बनाउँछ । तर विचारको भिन्नता विभाजनको आधार बन्नु हुँदैन । मतभेदलाई संवाद, छलफल र सहमतिबाट समाधान गर्ने संस्कार नै लोकतान्त्रिक अभ्यासको सुन्दर पक्ष हो । जब मतभेद व्यक्तिगत प्रतिष्ठा, शक्ति संघर्ष वा गुटगत प्रतिस्पर्धामा परिणत हुन्छ त्यसले पार्टीलाई मात्र होइन समग्र लोकतान्त्रिक प्रणालीलाई नै कमजोर बनाउँछ ।
नेपाली कांग्रेस अहिले यही चुनौतीको सामना गरिरहेको छ । पार्टीका शीर्ष नेताहरूबीच देखिएको दूरीले कार्यकर्तामा अन्योल र निराशा बढाएको छ । केन्द्रदेखि गाउँसम्मका कार्यकर्ताले आफूलाई कुन पक्षमा उभ्याउने भन्ने दबाब महसुस गर्न थालेका छन् । पार्टीको संगठन विस्तार, जनताका समस्या समाधान र नीति निर्माणमा केन्द्रित हुनुपर्ने ऊर्जा अहिले आन्तरिक विवादमा खर्च भइरहेको देखिन्छ । यसको प्रत्यक्ष असर पार्टीको जनविश्वासमा पनि पर्न थालेको छ ।
नेतृत्व तहका नेताहरूले बुझ्नुपर्ने कुरा के हो भने कांग्रेस कुनै एक व्यक्ति वा समूहको मात्र पार्टी होइन । यो लाखौँ कार्यकर्ताको त्याग, बलिदान र विश्वासबाट बनेको संस्था हो । यस पार्टीका लागि धेरै नेताहरूले जेल जीवन बिताए, प्रजातन्त्रका लागि संघर्ष गरे र आफ्नो जीवन नै समर्पण गरे । त्यसैले व्यक्तिगत अहंकार वा प्रतिष्ठाको लडाइँले पार्टीको गौरवशाली इतिहासलाई कमजोर बनाउने अधिकार कसैलाई छैन ।
विशेष गरी नेतृत्व तहमा देखिएको “जुँगाको लडाइँ“ ले आम कार्यकर्ताको मनोबल कमजोर बनाएको छ । पार्टीभित्रका विवाद सार्वजनिक हुँदा विपक्षी दललाई आलोचना गर्ने अवसर मिल्छ भने समर्थकहरू निराश हुन्छन् । जनताले पनि कांग्रेसलाई वैकल्पिक नेतृत्वका रूपमा हेर्न सक्ने विश्वास गुमाउन सक्छन् । त्यसैले नेताहरूले व्यक्तिगत आरोप प्रत्यारोपको राजनीति त्यागेर सहकार्यको बाटो रोज्नु आवश्यक छ ।
नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई पार्टीको मूल सिद्धान्तका रूपमा स्थापित गर्नुभएको थियो । उहाँले सधैं संवाद, सहमति र राष्ट्रिय हितलाई प्राथमिकता दिनुभयो । राजनीतिक असहमतिलाई पनि संवादमार्फत समाधान गर्ने उहाँको शैली आज पनि उत्तिकै सान्दर्भिक छ । वीपीको विचार भाषणमा सीमित राख्ने होइन, व्यवहारमा उतार्ने समय अहिले आएको छ ।
यदि कांग्रेसले वीपीको सिद्धान्तलाई व्यवहारमा लागू गर्ने हो भने पहिलो कदम पार्टीभित्रको एकता कायम गर्नु हो । शीर्ष नेताहरू एउटै टेबलमा बसेर खुलेर छलफल गर्नुपर्छ । कसको गल्ती र कसको सही भन्ने बहसभन्दा पनि पार्टीलाई कसरी बलियो बनाउने भन्ने विषयलाई प्राथमिकता दिनुपर्छ । व्यक्तिगत प्रतिष्ठाभन्दा संगठनको हित ठूलो हो भन्ने भावना सबै नेतामा विकसित हुन जरुरी छ ।
आजका कार्यकर्ताले नेतृत्वबाट परिपक्वता, सहिष्णुता र दूरदर्शिता अपेक्षा गरेका छन् । उनीहरूलाई गुट होइन, संगठन चाहिएको छ । उनीहरूलाई पदको प्रतिस्पर्धा होइन, जनताको सेवामा केन्द्रित राजनीति चाहिएको छ । यदि नेतृत्वले यही भावना बुझ्न सकेन भने यसको मूल्य भविष्यमा पार्टीले चुकाउनुपर्ने अवस्था आउन सक्छ ।
जनताले पनि कांग्रेससँग धेरै अपेक्षा राखेका छन् । लोकतन्त्रको रक्षा, संविधानको कार्यान्वयन, सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक विकास र रोजगारी सिर्जनामा कांग्रेसले स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुपर्ने बेला हो । पार्टीभित्रकै विवादमा अल्झिरहँदा यी महत्वपूर्ण विषय ओझेलमा पर्ने खतरा बढेको छ । त्यसैले अब प्राथमिकता देश र जनताको हुनुपर्छ, व्यक्तिगत स्वार्थको होइन ।
इतिहासले देखाएको छ कि जब जब नेपाली कांग्रेस एकताबद्ध भएको छ, त्यसबेला लोकतन्त्र बलियो बनेको छ । र जब पार्टी आन्तरिक विवादमा फसेको छ, त्यसको फाइदा लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध नरहेका शक्तिहरूले उठाएका छन् । यही यथार्थलाई आत्मसात गर्दै अहिलेको नेतृत्वले समयमै सही निर्णय लिन आवश्यक छ ।
समय अझै बितिसकेको छैन । पार्टीभित्र देखिएका मतभेद संवादबाट समाधान गर्न सकिन्छ । सबै पक्षले एक अर्काप्रति सम्मान र विश्वास कायम गर्दै साझा उद्देश्यका साथ अघि बढ्न सके कांग्रेस पुनः जनविश्वासको केन्द्र बन्न सक्छ । त्यसका लागि आरोप प्रत्यारोपको राजनीति अन्त्य गर्दै सहमति, सहकार्य र एकताको नयाँ अध्याय सुरु गर्न आवश्यक छ ।
नेपाली कांग्रेसका धेरै कार्यकर्ताले अहिले पार्टीभित्र चिन्ताजनक प्रवृत्ति बढ्दै गएको महसुस गरिरहेका छन् । आफ्नै घरमा आगो लगाएर त्यसको दोष अरूमाथि थोपर्ने र समाधानका लागि बाहिर गुहार माग्ने प्रवृत्तिले पार्टीको आन्तरिक एकता कमजोर बनाएको उनीहरूको बुझाइ छ । पार्टीभित्र देखिएका विवाद, गुटबन्दी र सार्वजनिक आरोप प्रत्यारोपले संगठनको छवि धुमिल बनाइरहेको छ ।
कुनै पनि लोकतान्त्रिक दलको बल उसको संगठन, अनुशासन र कार्यकर्ताको मनोबलमा निर्भर हुन्छ । अहिले संगठनलाई सुदृढ बनाउनेभन्दा व्यक्तिगत स्वार्थ, शक्ति संघर्ष र गुटगत राजनीतिलाई प्राथमिकता दिइएको जस्तो देखिन्छ । यसले वर्षौंसम्म पार्टीका लागि संघर्ष गरेका इमानदार कार्यकर्तामा निराशा बढाएको छ ।
कार्यकर्ताको अपेक्षा स्पष्ट छ– नेतृत्वले एकअर्कालाई दोषारोपण गर्ने होइन, संवाद र सहकार्यको माध्यमबाट मतभेद समाधान गर्नुपर्छ । पार्टीलाई कमजोर बनाउने गतिविधि रोक्दै संगठनलाई बलियो बनाउने अभियानमा सबै नेता एकजुट हुन आवश्यक छ । यदि समयमै नेतृत्वले आत्मसमीक्षा गरी एकताको बाटो समातेन भने यसको असर आगामी दिनमा पार्टीको जनाधार, संगठन र लोकतान्त्रिक भूमिकामाथि समेत पर्न सक्ने चिन्ता कार्यकर्ताले व्यक्त गरिरहेका छन् ।
आज देशले स्थिर, जिम्मेवार र परिपक्व राजनीतिक नेतृत्व खोजिरहेको छ । यस्तो बेला नेपाली कांग्रेस दुई धारमा विभाजित हुनु देश र लोकतन्त्र दुवैका लागि सुखद संकेत होइन । नेतृत्व तहका सबै नेताले व्यक्तिगत आग्रह र पूर्वाग्रह त्यागेर पार्टी, लोकतन्त्र र राष्ट्रलाई केन्द्रमा राख्नुपर्छ ।
वीपी कोइरालाको सिद्धान्त, त्याग र लोकतान्त्रिक संस्कारलाई व्यवहारमा उतार्दै कांग्रेस एकताबद्ध भएर अघि बढ्न सके मात्र देशले बलियो लोकतान्त्रिक नेतृत्व पाउनेछ । कांग्रेसको एकता पार्टीको आवश्यकता भन्दा वर्तमान नेपालको राजनीतिक आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्