रुपैडिहा–नानपारा–बहराइच हुँदै वाराणसीसम्म रेल सम्पर्क विस्तार, नेपालगन्जसहित पश्चिम नेपालमा धार्मिक तथा सीमापार पर्यटन प्रवर्द्धन हुने अपेक्षा

दाङ समाचार
दाङ समाचार १७ भाद्र २०८३, बुधबार
5 Min Read
Aa

दाङ – नेपाल–भारत सीमावर्ती क्षेत्रको पर्यटन तथा आवागमनलाई नयाँ गति दिने अपेक्षा गरिएको नेपालगन्ज रोड (रुपैडिहा)–वाराणसी रेल सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । भारतका रेल, सूचना तथा प्रसारण एवं इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका हुन ।

नेपालगन्ज रोड रेलवे स्टेसनमा आयोजित कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, डुमरियागन्जका सांसद जगदम्बिका पाल, जनप्रतिनिधि, भारतीय जनता पार्टीका पदाधिकारी तथा कार्यकर्ता र स्थानीय नागरिकको सहभागिता रहेको थियो ।

नयाँ रेल सेवाले नेपालगन्जसँग जोडिएको रुपैडिहाबाट नानपारा, रिसिया, बहराइच, गोण्डा हुँदै गोरखपुर र वाराणसीसम्मको यात्रा सहज बनाएको छ । करिब ५६ किलोमिटर नेपालगन्ज रोड–बहराइच रेलखण्डलाई ब्रोडगेजमा स्तरोन्नति गरिएपछि यो सेवा सञ्चालनमा आएको हो । नेपालगन्ज रोडदेखि वाराणसीसम्मको रेल दूरी करिब ५६३ किलोमिटर रहेको छ ।

धार्मिक पर्यटनलाई ठूलो टेवा पुग्ने
नयाँ रेल सेवाको सबैभन्दा महत्वपूर्ण प्रभाव धार्मिक पर्यटनमा पर्ने अपेक्षा गरिएको छ । वाराणसी, अयोध्या र गोरखपुर भारतका महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक गन्तव्य हुन । रेलमार्गबाट यी गन्तव्यसम्मको पहुँच सहज भएपछि नेपालका पर्यटक तथा तीर्थयात्रीको भारततर्फको धार्मिक यात्रा बढ्न सक्ने पर्यटन व्यवसायीहरूको अपेक्षा छ ।

वाराणसीको काशी विश्वनाथ मन्दिर, गंगा आरती, अयोध्याको राम मन्दिर तथा गोरखपुरको गोरखनाथ मन्दिर लगायतका धार्मिक गन्तव्यमा पश्चिम नेपालबाट जाने यात्रुलाई नयाँ रेल सेवाले थप सुविधा दिनेछ । त्यस्तै भारतका विभिन्न राज्यबाट रुपैडिहा हुँदै नेपालगन्ज प्रवेश गर्ने पर्यटकका लागि पनि पश्चिम नेपालका पर्यटकीय गन्तव्यसम्म पुग्ने बाटो सहज हुनेछ ।

भारतबाट नेपाल आउने पर्यटक बढ्ने अपेक्षा
रेल सेवाले भारतका ठूला शहर र नेपालगन्जबीच अप्रत्यक्ष रूपमा पहुँच विस्तार गरेसँगै नेपालगन्जलाई पश्चिम नेपालको पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्ने अवसर सिर्जना भएको पर्यटन क्षेत्रका सरोकारवालाहरूको भनाइ छ । रुपैडिहाबाट नेपालगन्ज प्रवेश गरेपछि पर्यटकले बाँकेको बागेश्वरी मन्दिर, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरद्वारा, कर्णाली प्रदेशका विभिन्न गन्तव्य तथा लुम्बिनी क्षेत्रसम्म यात्रा गर्न सक्छन ।

विशेषगरी बर्दिया राष्ट्रिय निकुञ्जको जंगल सफारी, वन्यजन्तु अवलोकन, थारू संस्कृति तथा होमस्टे पर्यटनलाई भारतीय पर्यटकमाझ प्रवर्द्धन गर्न सके नयाँ रेल सेवाबाट ठूलो लाभ लिन सकिने सम्भावना छ । नेपालगन्जबाट छोटो दूरीमा रहेका धार्मिक तथा प्राकृतिक गन्तव्यलाई भारतको नयाँ रेल कनेक्टिभिटीसँग जोडेर प्याकेज निर्माण गर्न सके सीमापार पर्यटनको नयाँ बजार विस्तार गर्न सकिने पर्यटन व्यवसायीहरूको बुझाइ छ ।

रेल पर्यटन सर्किट’ निर्माणको अवसर
नयाँ रेल सेवाले नेपालगन्जलाई वाराणसी–गोरखपुर–अयोध्या–नेपालगन्ज–बर्दिया–लुम्बिनी जस्ता गन्तव्यलाई एउटै पर्यटन सर्किटमा जोड्ने अवसरसमेत दिएको छ । भारतबाट आउने धार्मिक पर्यटकलाई नेपालगन्ज हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज, लुम्बिनी र अन्य पर्यटकीय क्षेत्रमा लैजान सकिने तथा नेपालका पर्यटकलाई रुपैडिहाबाट अयोध्या, गोरखपुर र वाराणसीसम्म पुर्‍याउन सकिने गरी पर्यटन प्याकेज विकास गर्न सकिने सम्भावना देखिएको छ । यसका लागि नेपाल र भारतका पर्यटन व्यवसायी, होटल व्यवसायी, ट्राभल तथा टुर अपरेटर र सम्बन्धित सरकारी निकायबीच सहकार्य आवश्यक देखिन्छ ।

होटल, यातायात र स्थानीय व्यवसायमा प्रभाव
पर्यटकको आवागमन बढ्दा नेपालगन्जका होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, यातायात, गाइड, हस्तकला तथा स्थानीय उत्पादनको बजार विस्तार हुने अपेक्षा गरिएको छ । भारतबाट आउने पर्यटकलाई नेपालगन्जमा एक रात बसाउने, त्यसपछि बर्दिया वा लुम्बिनी लैजाने तथा धार्मिक पर्यटकका लागि छुट्टै प्याकेज निर्माण गर्न सके स्थानीय पर्यटन व्यवसायले प्रत्यक्ष आर्थिक लाभ लिन सक्ने देखिन्छ । त्यस्तै नेपालका यात्रुका लागि पनि वाराणसी तथा अयोध्या केन्द्रित धार्मिक पर्यटन प्याकेज सञ्चालन गर्न सकिनेछ ।

कोहलपुरसम्म रेल विस्तार भए अझ ठूलो लाभ
नेपालगन्ज रोडसम्म ब्रोडगेज रेल सेवा पुगेपछि अब रुपैडिहाबाट नेपालगन्ज हुँदै कोहलपुरसम्म रेल सेवा विस्तार गर्नुपर्ने मागसमेत उठेको छ ।नेपालगन्ज–कोहलपुरसम्म रेल सम्पर्क विस्तार गर्न सके भारतबाट आउने पर्यटकलाई पश्चिम नेपालका थप गन्तव्यसम्म पुर्‍याउन सहज हुनेछ ।विशेषगरी बर्दिया, सुर्खेत, कर्णाली तथा लुम्बिनी क्षेत्रलाई रेल कनेक्टिभिटीसँग जोडेर पर्यटन विकास गर्न सकिने सम्भावना बढ्नेछ । पर्यटन व्यवसायीहरूले नयाँ रेल सेवाबाट अधिकतम लाभ लिन नेपालतर्फबाट पनि एकीकृत पर्यटन प्याकेज, सीमा नाका सहजीकरण, पर्यटक यातायात, सूचना केन्द्र तथा प्रचार–प्रसारमा विशेष ध्यान दिनुपर्ने बताएका छन ।

नेपालगन्ज रोड–वाराणसी रेल सेवा केवल यातायातको साधन मात्र नभई नेपाल–भारत सीमापार पर्यटन, धार्मिक यात्रा, व्यापार र सांस्कृतिक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण माध्यम बन्न सक्ने देखिएको छ । यसको प्रभावकारी उपयोग गर्न सके नेपालगन्जलाई पश्चिम नेपालको प्रमुख पर्यटन हबका रूपमा स्थापित गर्ने अवसरसमेत प्राप्त हुने पर्यटन क्षेत्रका जानकारहरूको भनाइ छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्