दाङ – लमही नगरपालिका -४ गुर्जेहवाकी एलिना चौधरीले अचार उत्पादन सम्बन्धी सीपमुलक तालिमबाट आफूमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास र ऊर्जा प्राप्त भएको बताउनु भयो । उहाँका अनुसार तालिमले अचार उत्पादन सम्बन्धी आवश्यक सीप, ज्ञान तथा बजार सम्भावनाबारे स्पष्ट जानकारी दिएको छ, जसले भविष्यमा स्वआर्जन तथा उद्यमशीलताका लागि नयाँ ढोका खोलिदिने विश्वास व्यक्त गर्नुभयो । एलिना चौधरीले तालिममार्फत सिकेको सीपलाई व्यवहारमा उतारी आफ्नै व्यवसाय सुरु गर्ने आफ्नो लक्ष्य रहेको समेत बताउनुभयो । उद्दमी महिलाहरुको एउतै माग छ, उत्पादन गरेका सबै वस्तुहरु बजार व्यवस्थापन हुँदैनन्, त्यसको जिम्मा राज्यले लिनु पर्छ’- एलिनाले भन्नु भयो ।
त्यस्तै अचार उत्पादन तालिममा सहभागी आरोही थारुले स्थानीय सरकारले प्रदान गर्ने सीपमुलक तालिम प्राप्त गरेर बेरोजगार बनेका थुप्रै गृहणी स्वरोजगार बन्न लालायित भएको बताउनु भएको छ । तालिममार्फत आवश्यक दक्षता हासिल गरी आत्मनिर्भर बन्ने चाहना रहेको बताउनु भयो । तालिमले महिलाहरुमा आर्थिक रूपमा सशक्त बन्ने अवसर प्रदान गरेको महसुस गराउँदै, सिकेको सीपलाई व्यवहारमा उतारी आफ्नै स्वरोजगार वा व्यवसाय सञ्चालन गर्ने लक्ष्य लिएको उनीहरुको भनाई छ । सहभागी महिलाहरूले तालिमपछि आत्मनिर्भरता हासिल गर्दै आफ्नो परिवार तथा समाजमा आर्थिक योगदान पुर्याउने उनीहरुको विश्वास छ ।
सात दिनसम्म संचालन भएको अचार उत्पादन गर्ने तालिमको आज सोमबार समापन गर्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले महिलाहरूले सीपमूलक तालिममार्फत आत्मनिर्भरता हासिल गर्दै आफ्नै परिवार तथा समाजको आर्थिक समृद्धिमा योगदान पुर्याउन सक्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सीप सिकेर महिलाहरूले स्वरोजगार तथा उद्यमशीलताको माध्यमबाट आर्थिक रूपान्तरण सम्भव हुने उल्लेख गर्दै, नगरपालिकाले यस्ता तालिमलाई निरन्तर प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
सो क्रममा लमही नगरपालिका-४ की वडा सदस्य निमा सुनार, वडा नम्बर ५ का सदस्य तथा कार्यपालिका सदस्य चन्द्रा वली चौधरी, अनुगमन समिति सदस्य सोभा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । सात दिने अचार उत्पादन सम्बन्धि सीप विकस तालीममा १९ जना महिला सहभागी भएका थिए । साथै च्याउ उत्पादन महिला समूहलाई प्रविधि सामाग्री समेत हस्तान्तरण गरिएको छ ।
अचार उत्पादन तालिमको प्रशिक्षकमा आशारामी चौधरी रहनु भएको थियो । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको अध्यक्षतामा भएको समापन कार्यक्रममा पार्वती चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो भने गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम ( मेड्पा) उद्यम विकास सहजकर्ता प्रमिला योगीले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्