नेपालको राजनीति अहिले एउटा महत्वपूर्ण मोडमा उभिएको छ । देशले लोकतान्त्रिक व्यवस्था, संघीय शासन प्रणाली र संविधान कार्यान्वयनका अनेकौं चरण पार गरिसकेको छ । तर एउटा प्रश्न नेपाली समाजमा गम्भीर रूपमा उठिरहेको छ- के अझैं पनि राजनीतिक नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने समय आएको छैन ?
विगतका दशकहरूमा नेपाली राजनीतिमा योगदान दिएका अग्रज नेताहरूको संघर्ष, त्याग, जेलजीवन, आन्दोलन र लोकतन्त्र स्थापनाका लागि गरेको बलिदान इतिहासका अमूल्य सम्पत्ति हुन । उनीहरूको योगदानलाई कुनै पनि हालतमा कम आँक्न सकिँदैन । आज नेपालमा नागरिकले प्राप्त गरेका धेरै राजनीतिक अधिकारहरू ती अग्रजहरूको संघर्षकै परिणाम हुन । त्यसैले उनीहरूप्रति सम्मान र कृतज्ञता सधैं रहनुपर्छ ।
तर सम्मान गर्नु र सधैं नेतृत्वमा रहिरहनु एउटै कुरा होइन । समयसँगै नेतृत्व पनि परिवर्तन हुनुपर्छ । विश्वका धेरै लोकतान्त्रिक मुलुकहरूले पुस्तान्तरणलाई राजनीतिक संस्कृतिको रूपमा विकास गरेका छन । अनुभवी नेताहरूले नयाँ पुस्तालाई अवसर दिएर आफू सल्लाहकार, संरक्षक र मार्गदर्शकको भूमिकामा बसेका उदाहरणहरू प्रशस्तै छन । यसले पार्टीलाई पनि बलियो बनाएको छ र लोकतन्त्रलाई पनि परिपक्व बनाएको छ ।
नेपालमा भने अझै पनि धेरै राजनीतिक दलहरूमा नेतृत्व सीमित व्यक्तिहरूको वरिपरि केन्द्रित देखिन्छ । उमेरको हिसाबले आठ दशकभन्दा बढी पार गरिसकेका नेताहरू अझै पनि प्रमुख पदमा रहने इच्छा देखाइरहेका छन । यसले युवामा निराशा बढाएको छ । एकातिर लाखौं शिक्षित युवा विदेश पलायन भइरहेका छन भने अर्कोतिर राजनीतिमा लाग्न चाहने युवाहरूले अवसरको ढोका बन्द भएको अनुभूति गरिरहेका छन ।
आजको पुस्ता प्रविधिमैत्री, शिक्षित, विश्वव्यापी सोच राख्ने र परिणाममुखी छ । उनीहरू पारदर्शिता, सुशासन, जवाफदेहिता र विकासलाई प्राथमिकता दिन चाहन्छन । उनीहरू सामाजिक सञ्जालदेखि आधुनिक व्यवस्थापनसम्मका नयाँ सीप लिएर राजनीतिमा प्रवेश गर्न चाहन्छन । यदि यस्ता युवालाई अवसर दिइएन भने देशले ठूलो जनशक्ति गुमाउने जोखिम बढ्नेछ ।
नेपालमा पछिल्ला निर्वाचनहरूले पनि परिवर्तनको स्पष्ट संकेत दिएका छन । मतदाताले पुराना अनुहार होइन, नयाँ सोच, नयाँ कार्यशैली र परिणाम दिन सक्ने नेतृत्व खोजिरहेका छन । धेरै स्थानमा स्वतन्त्र उम्मेदवार वा नयाँ अनुहारप्रति देखिएको आकर्षणले यही सन्देश दिएको छ । यो संकेतलाई पुराना राजनीतिक दलहरूले समयमै बुझ्न सकेनन भने उनीहरूको जनाधार क्रमशः कमजोर हुँदै जान सक्छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, तत्कालिन माओवादी केन्द्र लगायतका स्थापित राजनीतिक दलहरू नेपालको लोकतान्त्रिक यात्राका महत्वपूर्ण स्तम्भ हुन । तर कुनै पनि पार्टी गौरवशाली इतिहासका आधारमा सधैं बलियो रहन सक्दैन । पार्टीलाई भविष्यमा पनि सशक्त बनाइराख्न नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनैपर्छ । युवालाई सभा व्यवस्थापन, नाराबाजी वा झण्डा बोक्ने भूमिकामा सीमित राखेर पार्टीको भविष्य सुरक्षित हुन सक्दैन । निर्णय गर्ने तह, नीति निर्माण र नेतृत्वको जिम्मेवारीमा उनीहरूलाई सहभागी गराउनुपर्छ ।
युवा नेतृत्व भन्नाले उमेर मात्र होइन, सोच, क्षमता, इमानदारी र उत्तरदायित्व पनि हो । सबै युवा सक्षम हुन्छन भन्ने होइन, तर सक्षम युवालाई अवसर दिनु आवश्यक छ । त्यस्तै सबै अग्रज नेताले पद छाड्नुपर्छ भन्ने पनि होइन । अनुभवी नेताहरूको ज्ञान, अनुभव र दूरदृष्टि राष्ट्रका लागि बहुमूल्य सम्पत्ति हुन । उनीहरू संरक्षक, सल्लाहकार र प्रशिक्षकका रूपमा सक्रिय रहँदा नयाँ नेतृत्व अझ परिपक्व बन्न सक्छ । यही नै सम्मानजनक पुस्तान्तरणको अभ्यास हो ।
राजनीतिक दलहरूले अब नेतृत्व विकासको स्पष्ट योजना बनाउनुपर्छ । वडा तहदेखि केन्द्रीय तहसम्म युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ । महिलाहरू, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम तथा सबै समुदायका सक्षम युवालाई समान अवसर उपलब्ध गराउनुपर्छ । आन्तरिक लोकतन्त्र बलियो बनाएर प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने परिपाटीको विकास गर्नुपर्छ । यसले पार्टीभित्र ऊर्जा थप्ने मात्र होइन जनविश्वास पनि बढाउनेछ ।
युवाहरूले पनि सामाजिक सञ्जालमा आलोचना गरेर मात्र आफ्नो जिम्मेवारी पूरा हुँदैन । राजनीति फोहोरी छ भनेर टाढा बस्ने होइन त्यसलाई सुधार्न सक्रिय सहभागिता जनाउनुपर्छ । अध्ययन, नीति निर्माण, सामाजिक सेवा, स्थानीय विकास र जनसमस्याको समाधानमा सक्रिय भएर आफूलाई योग्य नेतृत्वका रूपमा स्थापित गर्नुपर्छ । परिवर्तन चाहने हो भने परिवर्तनको जिम्मेवारी पनि लिनुपर्ने हुन्छ ।
नेपाललाई अब पुस्ताबीचको द्वन्द्व होइन सहकार्य आवश्यक छ । अग्रजको अनुभव र युवाको ऊर्जा मिलेर मात्र समृद्ध नेपालको आधार तयार हुन्छ । सम्मानित पुस्तान्तरण नेताको हार होइन त्यो लोकतन्त्रको परिपक्वता हो । नयाँ पुस्तालाई अवसर दिनु भनेको इतिहासलाई अस्वीकार गर्नु होइन इतिहासको जगमा भविष्य निर्माण गर्नु हो । यो कुरा अग्रजहरुले पनि मनन गर्न जरुरी छ ।
आजको आवश्यकता कसैलाई अपमान गर्ने होइन समयको मागलाई स्वीकार गर्ने हो । नेतृत्व परिवर्तन स्वाभाविक लोकतान्त्रिक प्रक्रिया हो । जसरी हरेक पुस्ताले आफ्नो समयको जिम्मेवारी पूरा गर्छ त्यसैगरी नयाँ पुस्तालाई पनि देशको भविष्य निर्माण गर्ने अवसर दिनुपर्छ । यदि राजनीतिक दलहरूले समयमै यो सन्देश बुझेर युवालाई नेतृत्व हस्तान्तरण गर्न सके भने उनीहरूको भविष्य अझ बलियो हुनेछ । अन्यथा जनताले नयाँ विकल्प खोज्ने क्रम तीव्र बन्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्