कांग्रेसभित्रको ‘दोग्लो राजनीति’ : आफ्नै कार्यकर्तामाथि अविश्वास, गुटको कैद र संगठनको मौन पतन

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ३१ असार २०८३, बुधबार
5 Min Read
Aa

नेपाली कांग्रेस लोकतन्त्र, विचारको स्वतन्त्रता र कार्यकर्ताको सम्मानको आधारमा स्थापित भएको राजनीतिक दल हो । यही पार्टीले देशमा लोकतन्त्रको स्थापना, पुनर्स्थापना र संवैधानिक व्यवस्थाको निर्माणमा ऐतिहासिक भूमिका खेलेको छ । तर विडम्बना, आज यही पार्टीभित्र देखिएका केही प्रवृत्तिले संगठनको मूल मूल्य र संस्कृतिमाथि प्रश्न उठाइरहेका छन । पार्टीभित्रको गुटबन्दी, व्यक्तिगत रिसइबी, चुगली गर्ने प्रवृत्ति र कार्यकर्तामाथिको अविश्वासले कांग्रेसको संगठनात्मक शक्ति दिनप्रतिदिन कमजोर बनाउँदै लगेको अनुभूति धेरै कार्यकर्ताले गरिरहेका छन ।

पार्टीभित्र केही यस्ता पात्र देखिन्छन् जसको मुख्य काम संगठन बलियो बनाउने होइन, बरु नेता र कार्यकर्ताबीच अविश्वासको खाडल खन्ने भएको जस्तो देखिन्छ । व्यक्तिगत रिस, ईर्ष्या वा स्वार्थका कारण हुने नहुने कुरा नेतृत्वसमक्ष पुर्‍याउने, कुरालाई तोडमोड गरेर प्रस्तुत गर्ने र कार्यकर्ताको चरित्रमाथि प्रश्न उठाउने संस्कृतिले पार्टीलाई गम्भीर क्षति पुर्‍याइरहेको छ । अझ दुःखद पक्ष त के छ भने नेतृत्व तहमा रहेका कतिपय नेताहरूले पनि यस्ता कुराको सत्यता बुझ्ने प्रयास नगरी तत्काल प्रतिक्रिया दिने, कार्यकर्तालाई थर्काउने, झपार्ने वा दूरी बढाउने प्रवृत्ति अपनाउँदा समस्या झन् गहिरिँदै गएको छ ।

पार्टीको मेरुदण्ड भनेका कार्यकर्ता हुन । चुनावका बेला घरदैलो गर्ने, झण्डा बोक्ने, संगठन विस्तार गर्ने, जनताका बीचमा पार्टीको विचार पुर्‍याउने र कठिन परिस्थितिमा पनि पार्टीको पक्षमा उभिने शक्ति भनेकै कार्यकर्ता हो । तर जब त्यही कार्यकर्तामाथि बिना प्रमाण आरोप लाग्छ, उसको कुरा नसुनी निर्णय गरिन्छ वा उसलाई अपराधीझैँ व्यवहार गरिन्छ तब उसको मनमा नेतृत्वप्रति सम्मानभन्दा निराशा र दूरी बढ्नु स्वाभाविक हुन्छ ।

अझ अहिले देखिएको अर्को चिन्ताजनक अवस्था भनेको गुटीय मानसिकता हो । एउटै पार्टीभित्र रहेर पनि यदि कुनै कार्यकर्ता एउटा नेतासँग भेटघाट गर्दा अर्को समूहका नेताको नजरमा अपराधी ठहरिन थाल्छ भने त्यो स्वस्थ राजनीतिक संस्कृतिको संकेत होइन । एउटै पार्टीका नेता कार्यकर्ताबीच भेटघाट गर्नु, विचार आदानप्रदान गर्नु वा सम्बन्ध राख्नु कुनै अपराध हुन सक्दैन । तर यदि त्यसैलाई आधार बनाएर कसैको राजनीतिक भविष्यको मूल्यांकन गरिन्छ भने त्यो संगठनको परिपक्वता होइन संकीर्ण मानसिकताको प्रतिबिम्ब हो ।

राजनीतिक दलभित्र विचारको बहस हुन सक्छ, फरक धारणा हुन सक्छ, नेतृत्व चयनमा प्रतिस्पर्धा हुन सक्छ तर प्रतिस्पर्धा सकिएपछि सबै एउटै झण्डामुनि उभिने संस्कार नै लोकतान्त्रिक दलको विशेषता हो । यदि प्रतिस्पर्धा स्थायी दुश्मनीमा बदलिन्छ भने त्यसले पार्टीलाई एकताबद्ध होइन, विभाजित बनाउँछ ।

आज गाउँदेखि केन्द्रसम्म धेरै इमानदार कार्यकर्ताले एउटा साझा प्रश्न गरिरहेका छन – के कांग्रेसभित्र आफ्नै नेतासँग बस्नु, उठ्नु वा चिया पिउनु पनि गुटीय अपराध हो ? यदि एउटै पार्टीका फरक नेतासँग देखिँदा स्पष्टीकरण दिनुपर्ने अवस्था आउँछ भने त्यसले संगठनभित्रको असहिष्णुता कति बढिसकेको छ भन्ने स्पष्ट हुन्छ ।

पार्टीमा नेतृत्वको जिम्मेवारी निर्देशन दिने मात्र होइन, सबैको कुरा सुन्ने, सत्य बुझ्ने र न्यायपूर्ण निर्णय गर्ने पनि हो । कसैले ल्याएको एकतर्फी जानकारीकै आधारमा कार्यकर्तामाथि निर्णय गर्नु वा उसको आत्मसम्मानमा चोट पुर्‍याउनु नेतृत्वको परिपक्व शैली हुन सक्दैन । नेतृत्वले आरोपभन्दा प्रमाणलाई, चुगलीभन्दा सत्यलाई र गुटभन्दा संगठनलाई प्राथमिकता दिन सक्नुपर्छ ।

कार्यकर्ताको मन जित्ने नेता नै दीर्घकालीन रूपमा सफल नेता हुन्छ । डर, धम्की वा अपमानबाट केही समय अनुशासन देखिएला तर त्यसले विश्वास निर्माण गर्दैन । संगठन विश्वासले चल्छ त्रासले होइन । जहाँ कार्यकर्ताले आफ्नै नेतासँग खुलेर कुरा गर्न सक्दैन, आफ्नो धारणा राख्न डराउँछ, त्यहाँ संगठनको ऊर्जा बिस्तारै समाप्त हुँदै जान्छ ।

नेपाली कांग्रेस अहिले पनि देशको ठूलो लोकतान्त्रिक शक्ति हो । तर त्यो शक्ति इतिहासका कारण होइन वर्तमानको व्यवहारका कारण पनि कायम रहनुपर्छ । यदि पार्टीभित्र गुटभन्दा संगठन, चुगलीभन्दा संवाद, अविश्वासभन्दा विश्वास र व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितलाई प्राथमिकता दिइएन भने संगठन कमजोर हुने जोखिम बढ्छ ।

समय अझै बितिसकेको छैन । नेतृत्वले कार्यकर्तालाई सुन्ने, फरक विचारलाई सम्मान गर्ने, तथ्यको आधारमा निर्णय गर्ने र गुटीय मानसिकताभन्दा माथि उठ्ने साहस देखाउन आवश्यक छ । त्यस्तै कार्यकर्ताले पनि व्यक्तिगत आग्रहभन्दा संगठनको हितलाई केन्द्रमा राख्नुपर्छ ।

किनभने नेता बिना पनि पार्टी केही समय चल्न सक्छ तर कार्यकर्ताको मन टुटेपछि संगठन लामो समय टिक्न सक्दैन । लोकतन्त्रको अभ्यास आफ्नै पार्टीभित्रबाट सुरु हुन्छ । यदि आफ्नै घरभित्र विश्वास, सम्मान र संवादको वातावरण निर्माण गर्न सकिएन भने जनतामा लोकतन्त्रको सन्देश पुर्‍याउने नैतिक आधार पनि कमजोर बन्छ । नेपाली कांग्रेसको भविष्य बलियो बनाउने हो भने गुटको होइन, संगठनको राजनीति गर्नुपर्ने समय यही हो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्