नेतृत्व भनेको पदको घमण्ड होइन जिम्मेवारीको बोध हो । नेता हुनु भनेको आफ्ना कार्यकर्ताको सम्मान गर्नु, उनीहरूको भावना बुझ्नु र न्यायपूर्ण व्यवहार गर्नु हो । तर दुःखको कुरा आज धेरै राजनीतिक दलभित्र विचारभन्दा गुट, योगदानभन्दा पहुँच र निष्ठाभन्दा चाकडीलाई बढी महत्व दिन थालिएको अनुभूति हजारौं कार्यकर्ताले गरिरहेका छन ।
एउटा प्रश्न बारम्बार मनमा उठ्छ – एउटै पार्टीको कार्यकर्ता भएर पनि किन कसैलाई आफ्नै मानिन्छ र कसैलाई पराइझैँ व्यवहार गरिन्छ ? एउटा नेताको कार्यक्रम, अभियान वा विचारलाई साथ दिँदा “असल कार्यकर्ता” को उपमा पाइन्छ, तर अर्को नेताको कार्यक्रममा सहभागी भयो वा उसको पक्षमा बोलेको भरमा “चाकडी गर्ने”, “पार्टी विरोधी” वा “अविश्वासी” को आरोप किन लगाइन्छ ? पार्टीभित्र विचार राख्ने स्वतन्त्रता र लोकतान्त्रिक संस्कार आखिर कहाँ हरायो ?
अझ विडम्बना त के छ भने आफूलाई अनुकूल हुँदा विपक्षी दलका नेतासँग हातेमालो गर्न, सहकार्य गर्न वा राजनीतिक समीकरण बनाउन कुनै अप्ठ्यारो मानिँदैन । तर कुनै साधारण कार्यकर्ताले सामाजिक सञ्जालमा आफ्नो पीडा लेख्यो, कुनै निर्णयमाथि प्रश्न उठायो वा रचनात्मक आलोचना गर्यो भने वर्षौंसम्म “पार्टी विरोधी” को छाप लगाएर अपमानित गरिन्छ । नेतृत्वप्रति अन्धभक्ति मात्र अपेक्षा गर्ने, तर नेतृत्वलाई प्रश्न गर्न नपाइने संस्कारले लोकतन्त्रलाई होइन व्यक्तिवादलाई बलियो बनाउँछ ।
कार्यकर्ताको मनोभावना आखिर कहिले बुझ्ने ? चुनावको बेला घरदैलो गर्ने, झण्डा बोकेर गाउँ गाउँ पुग्ने, घामपानी नभनी प्रचार गर्ने, रातदिन खटिने, आफ्नै खर्चमा पार्टीका कार्यक्रम सफल बनाउने कार्यकर्ता चुनाव सकिएपछि किन बिर्सिइन्छ ? महाधिवेशन होस् वा आमनिर्वाचन, जनतासँग पार्टीको विचार पुर्याउने, संगठनलाई बलियो बनाउने र नेताहरूलाई जिताउन सबैभन्दा ठूलो भूमिका तिनै कार्यकर्ताको हुन्छ । जब पद र शक्तिमा पुगेपछि तिनै कार्यकर्तालाई बेवास्ता गर्नु, अपमान गर्नु वा गुटको आधारमा विभेद गर्नु कति न्यायसंगत हो ?
टिकट वितरणका क्रममा हुने अन्याय, अवसर बाँडफाँटमा हुने पक्षपात र योग्यभन्दा आफ्ना मान्छेलाई प्राथमिकता दिने प्रवृत्तिलाई कार्यकर्ताले देखेका छैनन् भन्ने भ्रम नेतृत्वमा हुनु हुँदैन । धेरैले मौनता रोजेका हुन्छन तर मौनता अज्ञानता भने पटक्कै होइन । कार्यकर्ताले सबै कुरा देखिरहेका हुन्छन्, समय कुर्दै हुन्छन । जब अन्याय निरन्तर दोहोरिन्छ नि हो त्यही मौनता असन्तुष्टिमा र असन्तुष्टि अन्ततः पार्टीको कमजोरीमा बदलिन्छ ।
दुःखको विषय के छ भने आज पनि धेरै नेताहरू अवसरअनुसार सम्बन्ध बदल्ने राजनीतिमा रमाइरहेका देखिन्छन । आफ्नो स्वार्थ पूरा हुने देखे जुनसुकै पक्षसँग पनि मिल्ने तर आफ्नै पार्टीका इमानदार कार्यकर्तालाई गुटको आधारमा विभाजन गर्ने प्रवृत्ति झन् मौलाउँदै गएको छ । यस्ता व्यवहारले व्यक्तिलाई केही समय फाइदा दिलाउन सक्छ तर संगठनलाई दीर्घकालीन रूपमा कमजोर बनाउँछ ।
राजनीतिक दलहरू कमजोर हुने कारण बाहिर होइन धेरै हदसम्म भित्रै हुन्छ । गुटबन्दी, प्रतिशोध, अहंकार, पक्षपात र कार्यकर्तामाथिको अन्यायले कुनै पनि संगठनलाई बलियो बनाउन सक्दैन । विचार, सिद्धान्त र संगठनभन्दा व्यक्तिलाई ठूलो बनाउने संस्कारले अन्ततः पार्टीको जनाधार खुम्चिन्छ । इतिहासले पनि यही देखाएको छ- जहाँ कार्यकर्ताको सम्मान हुँदैन, त्यहाँ संगठन टिक्दैन ।
नेतृत्वले बुझ्नुपर्ने एउटा महत्वपूर्ण सत्य छ- कार्यकर्ता कुनै नेताको निजी सम्पत्ति होइन । उनीहरू पार्टीका आधारस्तम्भ हुन । उनीहरूको आत्मसम्मान, विचार र योगदानको कदर हुनुपर्छ । प्रश्न गर्ने अधिकारलाई विद्रोह ठान्ने, आलोचनालाई अपराध मान्ने र फरक मतलाई दुश्मनी ठान्ने संस्कारले स्वस्थ राजनीतिक संस्कृति निर्माण गर्न सक्दैन ।
साँचो नेता त्यो हो जसले आफ्नो आलोचकको कुरा पनि सुन्न सक्छ; जसले फरक विचार राख्ने कार्यकर्तालाई पनि सम्मान गर्न सक्छ; जसले अवसर बाँड्दा न्याय गर्न सक्छ; र जसले गुट होइन, सम्पूर्ण संगठनलाई आफ्नो परिवार ठान्छ । प्रतिशोधको राजनीति, सौतेनी व्यवहार र विभाजनकारी सोचले क्षणिक रूपमा केही व्यक्तिलाई शक्तिशाली देखाउन सक्ला तर त्यसले पार्टीलाई कहिल्यै बलियो बनाउँन सक्दैन ।
समय अझै बितिसकेको छैन । नेतृत्वले आत्मसमीक्षा गर्नुपर्छ । कार्यकर्तालाई चुनावका बेला सम्झिने होइन । हरेक निर्णयमा सम्मान गर्ने संस्कार विकास गर्नुपर्छ । गुटभन्दा संगठन, व्यक्तिभन्दा विचार, स्वार्थभन्दा सिद्धान्त र प्रतिशोधभन्दा सहकार्यलाई प्राथमिकता दिन सके मात्र राजनीतिक दलप्रति जनविश्वास पुनः स्थापित हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्