दाङ – राप्ती नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्दै गरेका दुई ट्र्याक्टर र एक टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गढवा गाउँपालिका १, ३ र ५ अन्तर्गत पर्ने राप्ती नदी क्षेत्रमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको सूचनाका आधारमा गरिएको निगरानीका क्रममा रा १ त ३७६७, लु.अ.अ. ७३३२ नम्बरका दुई ट्र्याक्टर तथा लु १ क २५४१ नम्बरको टिप्पर नियन्त्रणमा लिइएको हो ।
प्रहरीले नियन्त्रणमा लिएका सवारीसाधनलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि गढवा गाउँपालिकाको कार्यालयमा पठाइएको जनाएको छ ।
यद्यपि स्थानीयवासीका अनुसार राप्ती नदी तथा आसपासका खोलाबाट अझै पनि अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन र चोरीनिकासी हुने क्रम पूर्ण रूपमा रोकिएको छैन । पटक पटक प्रहरी र स्थानीय तहले कारबाही गरे पनि रातिको समयमा तथा निगरानी कमजोर भएका स्थानबाट अवैध उत्खनन जारी रहेको उनीहरूको गुनासो छ ।
स्थानीयले नदीजन्य पदार्थको अवैध उत्खननले वातावरणीय क्षति, नदी कटान तथा प्राकृतिक स्रोतको दोहन बढ्दै गएको भन्दै सम्बन्धित निकायले प्रभावकारी अनुगमन र कडा कारबाही गर्नुपर्ने माग गरेका छन । प्रहरीले पनि अवैध उत्खनन तथा चोरीनिकासी नियन्त्रणका लागि निगरानीलाई थप कडा बनाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्