भर्खरै जन्मिएको एउटा राजनीतिक दलले ३६ वर्षको युवालाई देशको प्रधानमन्त्री बनाइसक्यो तर नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र भने अझै पनि ८०/८४ वर्ष उमेर पार गरिसकेका नेताहरूलाई नै पार्टीको नेतृत्वमा निरन्तरता दिनुपर्छ भन्ने बहस चलिरहनु दुःखद मात्र होइन, गम्भीर आत्मसमीक्षाको विषय पनि हो । कांग्रेसजनले अब आफैँलाई एउटा प्रश्न गर्नुपर्ने बेला आएको छ – समय बदलिँदा पनि हाम्रो सोच किन बदलिन सकेन ?
सम्पन्न निर्वाचनको जनमतले नेपालको राजनीतिलाई स्पष्ट सन्देश दिइसकेको छ । जनताले परम्परागत राजनीतिक शैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन । पटकपटक सत्तामा पुगेका, दशकौँदेखि राजनीतिको केन्द्रमा रहेका र लामो समय नेतृत्व सम्हालेका पुराना पुस्ताका नेताहरूप्रति जनताको भरोसा कमजोर हुँदै गएको संकेत निर्वाचन परिणामले दिएको छ । यो परिणाम कुनै दल वा व्यक्तिको हारजित मात्र होइन पुरानो राजनीतिक संस्कारप्रतिको जनताको असन्तुष्टिको अभिव्यक्ति पनि हो । खै कुरा बुझेको ?
जनताले परिवर्तन खोजेका छन । जनताले नयाँ पुस्ता खोजेका छन । जनताले राजनीतिक दलभित्र पुस्तान्तरण चाहेका छन । अब पनि युवालाई अवसर नदिएर हरेकपटक उही अनुहार उही उमेर समूह र उही नेतृत्वलाई अगाडि सार्ने हो भने मान्नुस या नमान्नुस राजनीतिक दल र जनताबीचको दूरी अझ बढ्ने निश्चित छ ।
नेतृत्व भनेको पदमा बसिरहने कुरा होइन । नेतृत्व भनेको समयको माग बुझ्ने, नयाँ पुस्ताको क्षमता पहिचान गर्ने र आफूभन्दा पछिल्लो पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने साहस पनि हो । ८०/८४ वर्ष उमेर पार गरिसकेका अनुभवी नेताहरूको योगदानलाई कसैले नकार्न सक्दैन । उनीहरूले संघर्ष गरेका छन्, संगठन निर्माण गरेका छन्, लोकतन्त्रका लागि योगदान दिएका छन । तर योगदानको सम्मान गर्नु र जीवनभर पार्टीको सर्वोच्च नेतृत्वमा रहिरहनु एउटै कुरा होइन ।
अबको आवश्यकता सम्मानपूर्वक पुस्तान्तरण हो । अनुभवी नेताहरूले अभिभावकीय भूमिका निर्वाह गर्दै पार्टीका लागि सल्लाह, मार्गदर्शन र अनुभव प्रदान गर्न सक्छन । पार्टीको नीति, विचार र संगठन निर्माणमा उनीहरूको अनुभव अमूल्य हुन सक्छ । तर कार्यकारी नेतृत्व भने नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । युवालाई निर्णय गर्ने ठाउँमा पुर्याउनुपर्छ । युवालाई नारामा होइन, व्यवहारमै नेतृत्वको अवसर दिनुपर्छ ।
आजको पुस्ता प्रविधिसँग जोडिएको छ, विश्व राजनीतिलाई नजिकबाट नियालिरहेको छ र नयाँ ढंगले राजनीति बुझिरहेको छ । रोजगारी, शिक्षा, सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रविधि, उद्यमशीलता र आर्थिक समृद्धिका विषयमा युवाको दृष्टिकोण फरक छ । त्यसैले उनीहरूको प्रतिनिधित्व राजनीतिक नेतृत्वमा पनि देखिनुपर्छ ।
कांग्रेसजस्तो ऐतिहासिक पार्टीले समयको यो संकेतलाई बेवास्ता गर्नु हुँदैन । अब उमेर होइन क्षमता; गुट होइन, विचार; विरासत होइन, परिणाम र नेतृत्व क्षमता हेर्ने संस्कार विकास गर्नुपर्छ ।
जनताले दिएको सन्देशलाई बुझ्ने हो भने अब पुरानो पुस्ताले कुर्सी छोड्न डराउने होइन, नयाँ पुस्तालाई कुर्सी हस्तान्तरण गर्न गौरव गर्नुपर्छ । अनुभवी पुस्ता सम्मानित सल्लाहकार बनेर बस्ने र युवा पुस्ता पार्टी तथा राष्ट्रको नेतृत्वमा अगाडि आउने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो ।
कांग्रेसजन, अब पनि निदाएर बस्ने समय छैन । समयले ढोका ढकढक्याइरहेको छ । त्यो ढोका खोल्ने कि पुरानै सोचको ताल्चा लगाएर बसिरहने निर्णय अब कांग्रेसकै हातमा छ । जनताको बदलिएको मनोविज्ञानलाई आत्मसात् गर्न सके कांग्रेस फेरि नयाँ ऊर्जा र नयाँ विश्वासका साथ उठ्न सक्छ । अन्यथा इतिहासको गौरव बोकेर वर्तमानमा मात्र रमाइरहने पार्टी बन्ने खतरा बढ्दै जानेछ । जय नेपाल

प्रतिक्रिया दिनुहोस्