वृक्षारोपण गरेर मनाइयो नेपाल महिला संघको ७९ औँ स्थापना दिवस

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २५ श्रावण २०८३, सोमबार
4 Min Read
Aa

दाङ – नेपाल महिला संघको ७९ औँ स्थापना दिवसका अवसरमा नेपाल महिला संघ दाङले घोराहीमा वृक्षारोपण कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ ।

नेपाल महिला संघ दाङकी अध्यक्ष लक्ष्मी लम्सालको अध्यक्षता तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालको प्रमुख आतिथ्यता एवम् नेपाली कांग्रेसका नेता तथा पूर्व राष्ट्रियसभा सदस्य अनिता देवकोटाको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालले नेपाल महिला संघले महिला अधिकार र राजनीतिक चेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै आगामी दिनमा महिलाको नेतृत्व क्षमता विकासमा अझ सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो । वृक्षारोपणले वातावरण संरक्षणको सकारात्मक सन्देश दिएको उहाँको भनाइ थियो ।

काङ्ग्रेस नेता तथा पूर्व राष्ट्रियसभा सदस्य अनिता देवकोटाले महिलाको राजनीतिक सहभागिता र नेतृत्वलाई थप सशक्त बनाउन आवश्यक रहेको बताउँदै महिला संघले संगठन विस्तारसँगै सामाजिक क्षेत्रमा पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । स्थापना दिवसलाई सिर्जनात्मक रूपमा मनाउनु सकारात्मक भएको उहाँले बताउनुभयो ।

नेपाली काङ्ग्रेस दाङका सचिव बालिका लम्सालले महिला संघलाई संगठनात्मक रूपमा थप बलियो बनाउँदै स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

महासमिति सदस्य तथा महिला संघका पूर्व केन्द्रीय सदस्य गिरिजादेवी न्यौपानेले नेपाल महिला संघको इतिहास र योगदानलाई स्मरण गर्दै महिलाको अधिकार र राजनीतिक सहभागिताका लागि अझ एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । महिलाको योगदानलाई सम्मान गर्दै नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने उहाँको भनाइ थियो ।

अर्का महासमिति सदस्य विमला योगीले महिलाहरूलाई संगठनमा सक्रिय बनाउँदै सामाजिक र राजनीतिक नेतृत्वमा स्थापित गर्नुपर्ने बताउनुभयो । महिलाको क्षमता र सहभागिता बढे मात्रै समाजमा सकारात्मक परिवर्तन सम्भव हुने उहाँको धारणा थियो ।

नेपाली काङ्ग्रेस दाङ -२ का क्षेत्रीय सभापति भीमप्रकाश खड्काले महिला संघ नेपाली कांग्रेसको महत्वपूर्ण भ्रातृ संगठन भएको उल्लेख गर्दै संगठनलाई थप मजबुत बनाउन सबै तहका महिला नेतृ तथा कार्यकर्ताबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

नेपाली काङ्ग्रेस दाङ -२ प्रदेश ‘क’ का सभापति प्रकाश श्रेष्ठले महिलाको राजनीतिक सहभागिता बढाउन पार्टीभित्रैबाट अवसर र जिम्मेवारी प्रदान गर्नुपर्ने बताउँदै महिला संघलाई अझ प्रभावकारी र क्रियाशील बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली काङ्ग्रेस दाङ -२ प्रदेश ‘ख’ का सभापति अभियान बस्नेतले महिला नेतृत्वको विकाससँगै सामाजिक अभियानमा पनि महिलाको सहभागिता बढाउनुपर्ने बताउनुभयो । वृक्षारोपणजस्ता रचनात्मक कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने उहाँको भनाइ थियो ।

काङ्ग्रेस नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य लोका विश्वकर्माले समाजको विकास र परिवर्तनमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताउँदै महिलालाई नेतृत्वको अग्रपंक्तिमा ल्याउन राजनीतिक दलहरूले विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले महिला संघका गतिविधिलाई वडा तहसम्म विस्तार गर्दै महिलाका समस्या, अधिकार र अवसरका विषयमा निरन्तर काम गर्नुपर्ने बताउनुभयो । संगठनलाई गतिशील बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो ।

नेपाली काङ्ग्रेस घोराही नगरका सभापति तिलक रावतले महिला र पुरुषको समान सहभागिताबाट मात्रै पार्टी र समाज बलियो बन्ने बताउँदै महिलाको नेतृत्वलाई प्रोत्साहन गर्न कांग्रेस प्रतिबद्ध हुनुपर्ने धारणा राख्नुभयो ।

नेपाल महिला संघ दाङका अध्यक्ष लक्ष्मी लम्सालले महिला संघको ७९ वर्षे इतिहासलाई स्मरण गर्दै महिलाको अधिकार, समानता र नेतृत्व विकासका लागि संगठन निरन्तर क्रियाशील रहने बताउनुभयो । स्थापना दिवसमा वृक्षारोपणमार्फत वातावरण संरक्षणको सन्देश दिन खोजिएको उहाँले बताउनुभयो ।

स्थापना दिवसका अवसरमा नेपाल महिला सङ्घका पूर्व जिल्ला अध्यक्ष गीता शाह, पूर्व केन्द्रीय सदस्य गिरिजा देवी न्यौपाने, पूर्व केन्द्रीय सदस्य पुष्पा श्रेष्ठ तथा पूर्व दाङ जिल्ला अध्यक्ष गोमा रावतलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन नेपाल महिला संघ दाङ जिल्ला सचिव सरस्वती घिमिरेले गर्नु भएको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्