दाङ – एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले दाङ जिल्लाका शाखाअन्तर्गत कार्यरत सहायक कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा लघुवित्तको इतिहास र वर्तमान अवस्था, असल ग्राहक पहिचान, केन्द्र निर्माण तथा प्रभावकारी केन्द्र सञ्चालन प्रक्रिया र ग्राहकलाई उद्यमशील बनाउने विषयमा प्रशिक्षण दिइएको थियो ।
त्यसैगरी, कर्मचारीको संस्थागत तथा वित्तीय अनुशासन, कर्मचारी आचारसंहिता, ग्राहक वित्तीय साक्षरता र ‘थ्री जिरो क्लब’ लगायतका विषयमा समेत जानकारी गराइएको थियो । प्रशिक्षणका क्रममा सहभागी कर्मचारीहरूले शाखा तथा केन्द्रस्तरमा देखिने व्यावहारिक समस्या, कर्जा लगानी तथा असुली प्रक्रिया र सदस्य व्यवस्थापनसम्बन्धी जिज्ञासा राखेका थिए । ती जिज्ञासामाथि छलफल गर्दै आवश्यक समाधानका उपायसमेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रमले सहायक कर्मचारीहरूको व्यावहारिक ज्ञान, कर्जा व्यवस्थापन तथा असुली क्षमता अभिवृद्धि गर्नुका साथै शाखाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । सहभागी कर्मचारीहरूलाई प्रशिक्षणबाट प्राप्त ज्ञान तथा सीपलाई कार्यक्षेत्रमा व्यवहारमा उतार्दै संस्थाको लक्ष्य प्राप्तिमा योगदान पुर्याउन आग्रह गरिएको थियो ।
प्रशिक्षणमा सहभागी कर्मचारीहरूले कार्यक्रम उपयोगी रहेको र यसबाट प्राप्त ज्ञान तथा सीपलाई दैनिक कार्यसम्पादनमा प्रत्यक्ष रूपमा लागू गर्न सकिने बताएका छन् । संस्थाको केन्द्रीय कार्यालयका कर्जा असुली विभाग प्रमुख ऋषिराज परियार र लुम्बिनी प्रदेश प्रमुख दीपक भट्टले प्रशिक्षण दिएका थिए । राष्ट्रियस्तरमा कार्यक्षेत्र रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय पोखरामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्