खेलकुदले स्वास्थ्यसँगै भाइचारा र एकता बलियो बनाउँछ – अध्यक्ष श्रेष्ठ

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २५ आश्विन २०८३, आईतवार
2 Min Read
Aa

दाङ – देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर प्रकाश श्रेष्ठले खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो बनाउनुका साथै आपसी भाइचारा, सद्भाव र एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।

गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीको आयोजनामा आइतबारदेखि सुरु भएको दसैं मिलन चौथो भलिबल खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले खेलकुदलाई मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई अनुशासन, सहकार्य र आपसी सम्बन्ध सुदृढ बनाउने महत्त्वपूर्ण आधारका रूपमा लिनुपर्ने बताउनुभयो ।

प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै उहाँले विद्यार्थीको सर्वाङ्गीण विकासमा खेलकुदको महत्त्वपूर्ण योगदान रहने उल्लेख गर्नुभयो । पढाइसँगै खेलकुदमा पनि सक्रिय हुँदा विद्यार्थीको शारीरिक विकास, आत्मविश्वास र नेतृत्व क्षमतामा वृद्धि हुने उहाँको भनाइ थियो । उहाँले विद्यार्थीलाई अध्ययनसँगै खेलकुदका गतिविधिमा सहभागी हुन प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष श्रेष्ठले विद्यालय तहबाटै खेलकुदप्रति रुचि र सकारात्मक सोचको विकास गर्न सके भविष्यमा दक्ष खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो । यस्ता प्रतियोगिताले विद्यार्थीमा लुकेको प्रतिभा पहिचान गर्न, खेल कौशल विकास गर्न तथा प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गर्न सहयोग गर्ने उहाँले उल्लेख गर्नुभयो ।

दसैंको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबीच आपसी सद्भाव र आत्मीयता बढाउन सहयोग पुग्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो । उहाँले खेलमा हारजितभन्दा सहभागिता, अनुशासन, इमानदारी र खेलभावनालाई महत्त्व दिनुपर्ने धारणा राख्नुभयो ।

विद्यालयले अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रम आयोजना गर्नु सकारात्मक रहेको उहाँले बताउनुभयो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्