आजको युग सूचना र प्रविधिको युग हो । हातमा रहेको एउटा मोबाइल फोनबाट संसारका जुनसुकै कुनामा भएका घटना केही सेकेण्डमै थाहा पाउन सकिन्छ । सामाजिक सञ्जालले मानिसलाई अभिव्यक्ति स्वतन्त्रताको अवसर दिएको छ, सूचना आदानप्रदानलाई सहज बनाएको छ र समाजमा लुकेका विषयलाई सार्वजनिक बहसमा ल्याउने महत्वपूर्ण माध्यम बनेको छ । पछिल्लो समय सामाजिक सञ्जालको यही शक्ति गलत प्रयोगका कारण चुनौती बन्दै गएको छ । सकारात्मक सन्देशभन्दा नकारात्मक, उत्तेजक, अपुष्ट र भ्रमपूर्ण सामग्री तीव्र गतिमा फैलिन थालेका छन । सामाजिक सञ्जाललाई नियमन र नियन्त्रण कसले गर्ने ?
सामाजिक सञ्जाल आफैंमा खराब माध्यम होइन । यसको प्रयोग कसरी गरिन्छ भन्ने कुरा महत्वपूर्ण हो । सामाजिक सञ्जालमार्फत विपद्का बेला उद्धार र राहतका लागि सहयोग जुटाउन सकिन्छ । रक्तदान, स्वास्थ्य, शिक्षा, रोजगारी, सामाजिक अभियान तथा जनचेतनाका कार्यक्रमलाई व्यापक बनाउन सकिन्छ । कुनै व्यक्तिले भोगेको अन्याय सार्वजनिक भएपछि सम्बन्धित निकायको ध्यानाकर्षण हुन सक्छ । स्थानीय तहका गतिविधिदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनासम्मको सूचना नागरिकले तत्काल प्राप्त गर्न सक्छन् । यस अर्थमा सामाजिक सञ्जाल लोकतन्त्रको एउटा प्रभावकारी माध्यम पनि बन्न सक्छ ।
समस्या त्यतिबेला सुरु हुन्छ, जब सत्यभन्दा सनसनी महत्वपूर्ण बन्न थाल्छ । एउटा भिडियोको केही सेकेन्डको दृश्य हेरेर पूरै घटनाको निष्कर्ष निकाल्ने प्रवृत्ति बढेको छ । कसैको व्यक्तिगत जीवन, चरित्र, परिवार वा प्रतिष्ठासँग जोडिएका विषय प्रमाणबिना सार्वजनिक गर्ने क्रम बढ्दै गएको छ । कुनै घटना घट्यो भने सत्य तथ्य बुझ्नुभन्दा पहिले नै सामाजिक सञ्जालमा आरोपप्रत्यारोप सुरु हुन्छ । कतिपय अवस्थामा पीडितलाई नै थप पीडा हुने गरी सामग्री सार्वजनिक गरिन्छ ।
अझ चिन्ताजनक कुरा के छ भने नकारात्मक सामग्री धेरै छिटो फैलिने गरेको देखिन्छ । मानिसको स्वभाव नै त्यस्तो छ कि असामान्य, उत्तेजक, विवादास्पद र भावनात्मक सामग्रीप्रति ध्यान बढी जान्छ । त्यसैले सामाजिक सञ्जालमा धेरै ‘भ्यु’ वा ‘लाइक’ पाउन खोज्नेहरूले जानाजान उत्तेजक शीर्षक, अधुरो सूचना र विवादास्पद सामग्री प्रयोग गर्ने गरेका छन । यसले पत्रकारिता, सामाजिक उत्तरदायित्व र व्यक्तिगत मर्यादाबीचको सीमा कमजोर बनाउँदै लगेको छ ।
कुनै व्यक्तिको हत्या, आत्महत्या, बलात्कार, दुर्घटना वा अन्य संवेदनशील घटनामा समेत घटनाको वास्तविकता पुष्टि नहुँदै फोटो, भिडियो र व्यक्तिगत विवरण सार्वजनिक गर्ने प्रवृत्ति देखिन्छ । यस्तो सामग्रीले पीडित परिवारलाई मानसिक पीडा थप्न सक्छ । बालबालिका संलग्न घटनामा त झनै बढी संवेदनशीलता आवश्यक हुन्छ । अपराध अनुसन्धानमा असर पार्ने, पीडितको पहिचान खुलाउने वा समाजमा घृणा र उत्तेजना फैलाउने सामग्री सार्वजनिक गर्नु जिम्मेवार व्यवहार होइन ।
त्यसैले सामाजिक सञ्जाल नियमनको पहिलो जिम्मेवारी प्रयोगकर्ताकै हो । हामीले आफ्नो मोबाइलबाट के पोस्ट गर्दैछौँ, कसको फोटो वा भिडियो राख्दैछौँ, त्यसले कसैलाई असर गर्छ कि गर्दैन, सूचना सत्य हो कि होइन भन्ने सोच्न आवश्यक छ । ‘पहिले पोस्ट गरौँ, पछि सत्य थाहा पाइहाल्छौँ’ भन्ने प्रवृत्तिले समाजलाई गम्भीर समस्यातर्फ लैजान सक्छ ।
दोस्रो महत्वपूर्ण जिम्मेवारी सञ्चारमाध्यम र सामग्री निर्माताको हो । पत्रकारिता र सामाजिक सञ्जालको सामग्रीबीच फरक भए पनि दुवैमा जिम्मेवारी आवश्यक हुन्छ । धेरै मानिससम्म पुग्ने भएकाले सामाजिक सञ्जालमा सामग्री उत्पादन गर्ने व्यक्तिले पनि तथ्य जाँच, स्रोतको विश्वसनीयता, भाषा र सामाजिक प्रभावबारे सोच्नुपर्छ । भ्युज, फलोअर र लाइक बढाउने उद्देश्यले समाजमा डर, घृणा वा भ्रम फैलाउनु कुनै पनि हालतमा उचित होइन ।
तेस्रो जिम्मेवारी राज्यको हो । राज्यले सामाजिक सञ्जाललाई पूर्ण रूपमा नियन्त्रण गर्ने नाममा नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नु हुँदैन । आलोचना गर्न पाउने अधिकार लोकतन्त्रको आधार हो । सरकार, राजनीतिक दल, नेता, कर्मचारी वा सार्वजनिक संस्थाको आलोचना भयो भन्दैमा त्यसलाई सामाजिक सञ्जाल नियन्त्रणको बहाना बनाउनु हुँदैन । झुटा सूचना, साइबर अपराध, चरित्र हत्या, धम्की, ठगी, बालबालिकामाथिको शोषण, घृणा फैलाउने सामग्री तथा आपराधिक गतिविधिलाई कानुनी दायरामा ल्याउन प्रभावकारी संयन्त्र भने आवश्यक छ ।
महत्वपूर्ण कुरा के हो भने नियमन र नियन्त्रण एउटै कुरा होइनन् । नियन्त्रण भन्नाले सबै कुरा रोक्नु भन्ने बुझिन सक्छ, जबकि नियमन भनेको निश्चित कानूनी र नैतिक सीमाभित्र रहेर स्वतन्त्रताको संरक्षण गर्नु हो । सामाजिक सञ्जालमा स्वस्थ बहस, आलोचना र विचारको स्वतन्त्रता कायम राख्दै आपराधिक तथा हानिकारक गतिविधिलाई रोक्नु नै उचित नियमन हो ।
यसका लागि नेपालमा डिजिटल साक्षरता बढाउनु आवश्यक छ । विद्यालय तहदेखि नै विद्यार्थीलाई सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, साइबर सुरक्षा, गलत सूचना पहिचान, गोपनीयता र डिजिटल व्यवहारबारे शिक्षा दिनुपर्छ । अभिभावकले पनि आफ्ना बालबालिकाले मोबाइलमा के हेरिरहेका छन् भन्नेबारे संवाद गर्नुपर्छ । मोबाइल खोस्ने वा सामाजिक सञ्जाल चलाउन नदिनेभन्दा सही र गलत सामग्री छुट्याउन सिकाउनु प्रभावकारी हुन्छ ।
सामाजिक सञ्जाल कम्पनीहरूको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ । हिंसा, बाल शोषण, ठगी, घृणात्मक अभिव्यक्ति तथा स्पष्ट रूपमा गैरकानूनी सामग्रीविरुद्ध उनीहरूले प्रभावकारी रिपोर्टिङ र कारबाहीको व्यवस्था गर्नुपर्छ । यस्तो व्यवस्था पारदर्शी हुनुपर्छ, ताकि सामान्य आलोचना वा असहमतिको आवाजलाई गलत रूपमा हटाउने अवस्था नआओस् ।
सरकार, सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता, प्रविधि कम्पनी, नागरिक समाज र शैक्षिक संस्थाबीच सहकार्य आवश्यक छ । सामाजिक सञ्जाललाई बन्द गरेर समस्या समाधान हुँदैन । बरु नागरिकलाई जिम्मेवार बनाउँदै, कानूनलाई स्पष्ट र प्रभावकारी बनाउँदै तथा गलत सूचनाविरुद्ध तथ्यमा आधारित सूचना प्रवाह बढाउँदै जानुपर्छ ।
आज हामीले एउटा प्रश्न आफैंलाई पनि सोध्नुपर्ने बेला आएको छ- “मैले सामाजिक सञ्जालमा के योगदान गरिरहेको छु ?” यदि हामी दिनभर अरूको गल्ती खोज्ने, अपमान गर्ने, गाली गर्ने, अपुष्ट सूचना फैलाउने र विवाद बढाउने काम मात्रै गर्छौँ भने समस्या सामाजिक सञ्जालमा मात्र छैन, हाम्रो प्रयोग गर्ने तरिकामा पनि छ ।
सामाजिक सञ्जाल समाजकै ऐना हो । त्यहाँ जे देखिन्छ, त्यो हाम्रो समाजको सोच, व्यवहार र संस्कारसँग पनि जोडिएको हुन्छ । त्यसैले सामाजिक सञ्जालमा नकारात्मकता बढ्दै गयो भनेर सरकार वा सामाजिक सञ्जाल कम्पनीलाई दोष दिएर हामी उम्किन सक्दैनौँ । परिवर्तनको सुरुवात प्रयोगकर्ताबाटै हुनुपर्छ ।
अबको आवश्यकता सामाजिक सञ्जाल बन्द गर्ने होइन जिम्मेवार बनाउने हो । अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्दै झुट, घृणा, हिंसा, अपराध र चरित्रहत्याविरुद्ध कडा कानूनी व्यवस्था हुनुपर्छ । सकारात्मक सामग्रीलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्छ । सत्य सूचना, ज्ञान, शिक्षा, सामाजिक चेतना र सिर्जनशीलतालाई प्राथमिकता दिनुपर्छ ।
सामाजिक सञ्जाललाई नियमन र नियन्त्रण गर्ने जिम्मेवारी एउटै निकायको मात्र होइन । राज्यले कानून बनाउने, सम्बन्धित निकायले कार्यान्वयन गर्ने, सामाजिक सञ्जाल कम्पनीले जिम्मेवार प्रणाली बनाउने, सञ्चारमाध्यमले सत्यतथ्यमा आधारित सामग्री दिने र नागरिकले विवेकपूर्ण प्रयोग गर्ने हो भने मात्रै डिजिटल समाज स्वस्थ बन्न सक्छ । सामाजिक सञ्जाल हाम्रो हातमा रहेको शक्तिशाली औजार हो । यसले समाज बनाउन पनि सक्छ, बिगार्न पनि सक्छ ।

प्रतिक्रिया दिनुहोस्