लमही बजार समग्र देउखुरी क्षेत्रकै महत्वपूर्ण व्यापारिक तथा आवागमनको केन्द्र हो । पूर्व पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको लमही बजार हुँदै दैनिक हजारौँ मानिस तथा सयौँ सवारीसाधन आवतजावत गर्छन् । पछिल्लो समय बढ्दो जनसंख्या, तीव्र शहरीकरण, अव्यवस्थित व्यापारिक गतिविधि, सवारीसाधनको चाप र पर्याप्त पूर्वाधारको अभावका कारण लमही बजारको स्वरूप क्रमशः अस्तव्यस्त बन्दै गएको देखिन्छ ।
बजारलाई सफा, सुन्दर, व्यवस्थित र सुरक्षित बनाउने जिम्मेवारी स्थानीय सरकारको मात्र होइन यहाँका उद्योगी, व्यापारी, व्यवसायी, राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज, प्रहरी प्रशासन र आम नागरिक सबैको साझा दायित्व हो ।
सबैभन्दा पहिले बजारको फोहोर व्यवस्थापनलाई प्रभावकारी र व्यवस्थित बनाउन आवश्यक छ । बजारका विभिन्न स्थानमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ । घर, पसल, होटल तथा व्यवसायबाट निस्कने फोहोरलाई कुहिने, नकुहिने र पुनः प्रयोग गर्न मिल्ने गरी छुट्याउने व्यवस्था गर्न सकिन्छ । मुख्य बजार क्षेत्र, तरकारी बजार, मासु पसल, होटल तथा रेस्टुरेन्टलगायत बढी फोहोर उत्पादन हुने क्षेत्रका लागि छुट्टै व्यवस्थापन प्रणाली आवश्यक छ । नियमित रूपमा फोहोर उठाउने, सार्वजनिक स्थानमा पर्याप्त डस्टबिन राख्ने र फोहोर व्यवस्थापनसम्बन्धी जनचेतना अभियान सञ्चालन गर्ने हो भने बजारको स्वरूपमा ठूलो परिवर्तन ल्याउन सकिन्छ ।
त्यस्तै तरकारी बजार, मासु पसल, होटल तथा रेस्टुरेन्ट, लत्ताकपडा, खाद्यान्नलगायतका व्यवसायलाई निश्चित क्षेत्र वा क्लस्टरमा व्यवस्थित गर्न सकिन्छ । अहिले जताततै फैलिएका व्यापारिक गतिविधिलाई योजनाबद्ध रूपमा व्यवस्थापन गर्न सके बजार सुन्दर मात्र होइन, ग्राहकका लागि पनि सहज बन्नेछ । मासु पसल तथा तरकारी बजारमा सरसफाइ, ढल निकास र फोहोर व्यवस्थापनलाई विशेष प्राथमिकता दिनुपर्छ । खाद्य पदार्थ बिक्री हुने स्थानमा स्वास्थ्य तथा सरसफाइको मापदण्ड अनिवार्य रूपमा पालना गराउनुपर्छ ।
ट्राफिक व्यवस्थापन लमहीको अर्को प्रमुख चुनौती हो । बजार क्षेत्रमा लामो दूरीका बस, छोटो दूरीका सवारीसाधन, ट्रक, जीप, टेम्पो तथा अटो–रिक्साको आवागमन व्यवस्थित गर्न आवश्यक छ । यात्रुवाहक सवारीसाधनले जहाँ पायो त्यहीँ यात्रु चढाउने र ओराल्ने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाएको छ । त्यसैले निश्चित बसपार्क, निश्चित पार्किङ क्षेत्र तथा निश्चित यात्रु चढाउने–ओराल्ने स्थान तोकिनुपर्छ । अटो–रिक्साका लागि पनि व्यवस्थित स्ट्यान्ड बनाउनुपर्छ ।
लमही बजारको पार्किङ व्यवस्थापन तत्काल ध्यान दिनुपर्ने विषय हो । सडकको किनारामा जथाभावी सवारी पार्किङ गर्दा सडक साँघुरो हुने र पैदल यात्रुलाई समेत समस्या हुने गरेको छ । बजार क्षेत्रका सम्भावित स्थान पहिचान गरी व्यवस्थित पार्किङ स्थल निर्माण गर्न सकिन्छ । निजी क्षेत्रसँग सहकार्य गरेर बहुउद्देश्यीय पार्किङको अवधारणा अघि बढाउन पनि सकिन्छ ।
बजारलाई सुरक्षित बनाउन ट्राफिक सिग्नल, जेब्रा क्रसिङ, सडक बत्ती, गति सीमासम्बन्धी सूचना बोर्ड, ‘नो पार्किङ’ बोर्ड तथा अन्य चेतनामूलक संकेत राख्न आवश्यक छ । विद्यालय, अस्पताल, बजार तथा बढी भिडभाड हुने स्थानमा पैदल यात्रुको सुरक्षालाई विशेष प्राथमिकता दिनुपर्छ । सडक काट्ने स्थानमा जेब्रा क्रसिङ र आवश्यक ठाउँमा आकाशे पुल वा सुरक्षित पैदलमार्ग निर्माण गर्ने विषयमा पनि अध्ययन गर्नुपर्छ ।
त्यसैगरी पूर्व–पश्चिम महेन्द्र राजमार्गलाई लमही बजार क्षेत्रमा आवश्यकताअनुसार फराकिलो र व्यवस्थित बनाउन सम्बन्धित निकायसँग स्थानीय सरकारले निरन्तर समन्वय गर्नुपर्छ । सडक विस्तार गर्दा नागरिकको घरजग्गा तथा व्यवसायमा पर्ने प्रभावलाई कानुनी प्रक्रिया र उचित समन्वयमार्फत समाधान गर्नुपर्छ । विकासका नाममा विवाद सिर्जना गर्ने होइन, दीर्घकालीन योजनासहित सबै पक्षको सहभागितामा सडक विस्तार अघि बढाउनुपर्छ ।
लमही–कोइलाबास सडकको अतिक्रमण हटाएर सडक क्षेत्र व्यवस्थित गर्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ । सडकको क्षेत्राधिकारभित्र बनेका अनधिकृत तथा अव्यवस्थित संरचना हटाउन कानूनी प्रक्रिया अघि बढाउनुपर्छ । यस्तो काम गर्दा सबैलाई समान व्यवहार, उचित सूचना र आवश्यक समन्वय गर्नुपर्छ । सडक फराकिलो र सुरक्षित भयो भने त्यसको प्रत्यक्ष लाभ स्थानीय व्यापारी, व्यवसायी र सर्वसाधारण सबैलाई हुनेछ ।
बजारको सौन्दर्यका लागि हरियाली र खुला सार्वजनिक क्षेत्र पनि आवश्यक छ । सडकको छेउछाउमा योजनाबद्ध रूपमा वृक्षरोपण, फूलबारी तथा हरित क्षेत्र निर्माण गर्न सकिन्छ । बजारका विभिन्न स्थानमा आकर्षक चौपारी, विश्रामस्थल निर्माण गर्नुपर्छ । बजार घुम्न आउने नागरिक तथा यात्रुका लागि शुद्ध पिउने पानी, सार्वजनिक शौचालय र आराम गर्ने ठाउँ आवश्यक छन् । यस्ता पूर्वाधारले बजारलाई व्यवस्थित मात्र होइन, पर्यटकीय दृष्टिले समेत आकर्षक बनाउन मद्दत गर्छ ।
लमही बजारका बीचबीचमा रहेका खोल्सा, नाला तथा पानी निकासका संरचनालाई सफा र व्यवस्थित गर्न पनि उत्तिकै जरुरी छ । खोल्सा तथा नालामा फोहोर फाल्ने प्रवृत्ति रोक्नुपर्छ। वर्षायाममा पानी जम्ने र डुबान हुने समस्या समाधान गर्न उचित ढल तथा पानी निकास प्रणाली निर्माण गर्नुपर्छ । दीर्घकालीन रूपमा बजारको ढल व्यवस्थापनका लागि छुट्टै योजना बनाउन आवश्यक छ ।
त्यस्तै बजारका विद्युत् तथा तार व्यवस्थापन, सडक बत्ती र सार्वजनिक पूर्वाधारमा पनि ध्यान दिनुपर्छ । जताततै झुन्डिएका तारले बजारको सौन्दर्य बिगार्नुका साथै जोखिमसमेत बढाउन सक्छ । सम्बन्धित निकायसँग समन्वय गरी तार व्यवस्थापन तथा सम्भव भएसम्म भूमिगत तार प्रणालीतर्फ अघि बढ्न सकिन्छ ।
लमही बजारलाई व्यवस्थित बनाउन व्यवसायीको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । प्रत्येक व्यापारीले आफ्नो पसल अगाडिको क्षेत्र सफा राख्ने, सडक तथा सार्वजनिक स्थान अतिक्रमण नगर्ने, फोहोर जथाभावी नफाल्ने र ग्राहक तथा पैदल यात्रुलाई सहज हुने वातावरण बनाउने प्रतिबद्धता जनाउनुपर्छ । स्थानीय सरकारले आवश्यक मापदण्ड बनाएर त्यसको नियमित अनुगमन गर्न सक्छ ।
निजी क्षेत्र र उद्योगी व्यवसायीसँग साझेदारी गरेर बजार विकासका विभिन्न काम अघि बढाउन सकिन्छ । सार्वजनिक शौचालय, खानेपानी, चौपारी, हरियाली, सडक बत्ती, पार्किङ तथा अन्य पूर्वाधार निर्माणमा सार्वजनिक निजी साझेदारीको अवधारणा उपयोगी हुन सक्छ ।
लमहीलाई साँच्चिकै व्यवस्थित शहर बनाउन राजनीतिक दलबीच पनि साझा सहमति र सहकार्य आवश्यक छ । विकासका विषयलाई राजनीतिक विवादको विषय नबनाई दीर्घकालीन योजनाका रूपमा अघि बढाउनुपर्छ । जुन दल सत्तामा भए पनि शहर विकासका आधारभूत विषयमा सबै राजनीतिक दल एक ठाउँमा उभिन सके त्यसको सकारात्मक परिणाम जनताले पाउनेछन् ।
सामाजिक संघसंस्था, युवा क्लब, टोल विकास संस्था, नागरिक समाज र सञ्चारमाध्यमले पनि जनचेतना फैलाउने अभियान चलाउन सक्छन् । ‘मेरो बजार, मेरो जिम्मेवारी’ भन्ने भावना प्रत्येक नागरिकमा विकास गर्नुपर्छ । सडकमा फोहोर फाल्ने, सार्वजनिक संरचना बिगार्ने, ट्राफिक नियम उल्लंघन गर्ने वा सार्वजनिक स्थान अतिक्रमण गर्ने प्रवृत्तिविरुद्ध सामाजिक चेतना आवश्यक छ ।
लमहीलाई दुर्घटना न्यूनीकरण गर्ने सुरक्षित शहर बनाउन प्रहरी र ट्राफिक प्रहरीको भूमिका पनि महत्वपूर्ण छ । नियमित ट्राफिक सचेतना कार्यक्रम, विद्यालय तथा कलेजमा सडक सुरक्षा शिक्षा, हेल्मेट र सीटबेल्ट प्रयोगसम्बन्धी अभियान, तीव्र गतिमा सवारी चलाउनेमाथि निगरानी तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिविरुद्ध कडाइ आवश्यक छ ।
लमही बजारको विकास कुनै एक निकायको प्रयासले मात्र सम्भव छैन । स्थानीय सरकारसँग योजना र नेतृत्व हुनुपर्छ, प्रदेश तथा संघीय सरकारबाट आवश्यक बजेट र पूर्वाधार सहयोग हुनुपर्छ, व्यापारी तथा उद्योगीले सहयोग गर्नुपर्छ, राजनीतिक दलले सहकार्य गर्नुपर्छ, प्रहरी प्रशासनले सुरक्षा र ट्राफिक व्यवस्थापन गर्नुपर्छ र नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।
लमही हाम्रो शहर हो । यसको सौन्दर्य, स्वच्छता, सुरक्षा र भविष्य पनि हामी सबैको साझा जिम्मेवारी हो । आजैदेखि योजनाबद्ध रूपमा फोहोर व्यवस्थापन, ट्राफिक तथा पार्किङ व्यवस्थापन, सडक विस्तार, अतिक्रमण नियन्त्रण, ढल निकास, हरियाली, खानेपानी, सार्वजनिक शौचालय, चौपारी तथा सुरक्षित पैदलमार्ग निर्माणमा ध्यान दिन सकियो भने लमहीलाई देउखुरीकै नमुना शहर बनाउन सकिन्छ ।
साझा संकल्प, सहकार्य र व्यवहारिक कार्यान्वयन आवश्यक छ । स्थानीय सरकार, राजनीतिक दल, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था, प्रहरी प्रशासन र आम नागरिक सबैले हातेमालो गर्ने हो भने लमही बजारलाई साँच्चिकै सुन्दर, सफा, स्वच्छ, व्यवस्थित, हरियालीयुक्त र दुर्घटनामुक्त शहर बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्