भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीले मानव बस्ती नै उजाड र सखाप पार्ने गरी विनाश मच्चाएपछि प्रभावित क्षेत्रमा अहिले त्रास, पीडा र अन्योलको अवस्था सिर्जना भएको छ । कतिपय स्थानमा घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ भने धेरै परिवार विस्थापित हुने अवस्था आएको छ । बाढी र पहिरोका कारण भएको वास्तविक मानवीय क्षतिको यकिन विवरण तत्कालै भन्न सक्ने अवस्था छैन ।
विपद्को यस्तो भयावह समयमा सबैभन्दा ठूलो प्राथमिकता भनेको मानव जीवनको रक्षा, उद्धार, उपचार र प्रभावित नागरिकलाई सुरक्षित स्थानमा पुर्याउनु हो । त्यसका लागि नेपाल सरकारका सुरक्षा निकायहरू उद्धार तथा राहत कार्यमा खटिएका छन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सम्बन्धित निकायका सुरक्षाकर्मीहरू जोखिम मोलेर उद्धारमा जुटिरहेका छन । स्थानीय तह, प्रशासन, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा विभिन्न सामाजिक संघसंस्थाहरूले पनि आ–आफ्नो स्थानबाट सहयोग गरिरहेका छन ।
भोटेकोशीको बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका जिल्लामा समेत क्षति पुर्याएको खबरले देशभर चिन्ता बढाएको छ । कतिपय ठाउँमा सडक अवरुद्ध भएका छन्, कतिपय बस्ती सम्पर्कविहीन बन्न पुगेका छन । सञ्चार तथा यातायातका साधनमा अवरोध हुँदा प्रभावित क्षेत्रको वास्तविक अवस्था बाहिर ल्याउनसमेत कठिनाइ भइरहेको छ । यस्तो अवस्थामा राज्यका सबै संयन्त्रबीच प्रभावकारी समन्वय हुनु अत्यन्त आवश्यक छ ।
विपद्को समयमा राज्यका निकाय र सुरक्षाकर्मीको उद्धार प्रयाससँगै आम नागरिकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । सामाजिक सञ्जालको यो युगमा एउटा फोटो वा भिडियो केही सेकेन्डमै हजारौँ मानिससम्म पुग्न सक्छ । सबै फोटो वा भिडियो सार्वजनिक गर्नु उचित हुँदैन । विशेषगरी मृत्यु, घाइते, आफन्त गुमाएका परिवार, बालबालिका तथा पीडित नागरिकका संवेदनशील दृश्यहरू सामाजिक सञ्जालमा राख्दा उनीहरूको पीडा झनै बढ्न सक्छ ।
विपद्को समयमा सूचना पनि राहतजत्तिकै महत्वपूर्ण हुन्छ । कुन ठाउँमा सडक अवरुद्ध छ, कहाँ उद्धार भइरहेको छ, कुन स्थान सुरक्षित छ, कहाँ राहत तथा उपचारको व्यवस्था छ भन्ने यथार्थ सूचना नागरिकसम्म पुर्याउन सकियो भने धेरैको ज्यान जोगाउन सकिन्छ । त्यसैले सामाजिक सञ्जाल प्रयोगकर्ताले कुनै सूचना पोस्ट गर्नुअघि त्यसको सत्यता जाँच गर्न आवश्यक छ । अपुष्ट समाचार, हल्ला, पुराना फोटो तथा भिडियो वा अतिरञ्जित सामग्री फैलाएर त्रास सिर्जना गर्नु हुँदैन ।
अहिले पीडित परिवारलाई सबैभन्दा बढी आवश्यक परेको कुरा सहानुभूति, सुरक्षा, राहत र भरोसा हो । उनीहरूको दुःखलाई सामाजिक सञ्जालमा भाइरल बनाउने विषय होइन, मानवीय संवेदनासँग जोडेर हेर्नुपर्छ । कसैको घर बगिरहेको दृश्य, आफन्तको मृत्यु वा घाइते अवस्थाका तस्वीर तथा भिडियो सार्वजनिक गर्नुअघि त्यसले सम्बन्धित परिवारमा पार्ने मनोवैज्ञानिक असरबारे सोच्नुपर्छ । पीडितको गोपनीयता, सम्मान र भावनाको सम्मान गर्नु हाम्रो मानवीय दायित्व हो ।
त्यसैगरी उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी र सरकारी कर्मचारीलाई अनावश्यक दबाब दिने, बाटो अवरुद्ध गर्ने वा भीड बढाउने काम गर्नु हुँदैन । उद्धारका क्रममा प्रयोग भइरहेका सडक तथा हेलिप्याडमा अनावश्यक भीडभाड गर्दा उद्धार कार्य प्रभावित हुन सक्छ । त्यसैले सम्भव भएसम्म सुरक्षाकर्मी तथा सम्बन्धित निकायलाई सहयोग गर्नु नै अहिलेको आवश्यकता हो ।
विपद् कसैको व्यक्तिगत समस्या होइन, यो सम्पूर्ण समाजको साझा चुनौती हो । यस्तो अवस्थामा राजनीतिक आस्था, जात, धर्म, क्षेत्र वा व्यक्तिगत मतभेदभन्दा माथि उठेर मानवीय सहयोगमा जुट्नुपर्छ । स्थानीय समुदायले सुरक्षित स्थान पहिचान गर्ने, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने, वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा अपांगता भएका व्यक्तिलाई प्राथमिकतामा राख्ने काम गर्न सक्छ ।
सरकारले पनि प्रभावित क्षेत्रको यथार्थ विवरण संकलन गरी उद्धार, राहत, उपचार, अस्थायी आवास तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिनुपर्छ । विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक छ । प्रभावित नागरिकले आफू एक्लो नभएको अनुभूति गर्ने गरी राज्य उपस्थित हुनुपर्छ ।
आज भोटेकोशी र अन्य प्रभावित क्षेत्रमा परेको विपद् भोलि अन्य कुनै ठाउँमा पनि आउन सक्छ । त्यसैले विपद्लाई राजनीतिक बहस वा सामाजिक सञ्जालको सनसनी बनाउनेभन्दा मानवीय संवेदना, जिम्मेवार सूचना र सामूहिक सहयोगको अवसरका रूपमा लिनुपर्छ ।
यो राष्ट्रिय विपद्को घडी हो । त्यसैले हामी सबै संयमित बनौँ । पीडित परिवारलाई थप पीडा हुने फोटो तथा भिडियो सामाजिक सञ्जालमा राख्ने काम नगरौँ । अपुष्ट सूचना फैलाउने होइन, सत्य र उपयोगी सूचना प्रवाह गरौँ । उद्धारमा खटिएका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय तह, प्रशासन तथा स्वयंसेवकलाई आवश्यक सहयोग गरौँ ।
विपद्को घडीमा हाम्रो एउटा जिम्मेवार कदमले कसैको जीवन बचाउन सक्छ, एउटा गलत सूचना वा असंवेदनशील व्यवहारले कसैको पीडा झनै बढाउन सक्छ । त्यसैले अहिलेको आवश्यकता आलोचना होइन, सहयोग हो; सनसनी होइन, सत्य सूचना हो; र विभाजन होइन, एकता हो ।
आउनुहोस्, विपद्को यो कठिन घडीमा सबै एकजुट बनौँ । पीडित परिवारको साथमा उभिऔँ, उद्धार र राहत कार्यमा सहयोग गरौँ र मानवीय संवेदनालाई सर्वोच्च प्राथमिकता दिऔँ ।

प्रतिक्रिया दिनुहोस्