लमहीमा विद्युत् महसुल नतिर्ने ग्राहकको भटाभट लाइन काटिने

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २३ आश्विन २०८३, शुक्रबार
2 Min Read
Aa

दाङ – नेपाल विद्युत् प्राधिकरण लमही वितरण केन्द्रले विद्युत् महसुल तथा शुल्क समयमै भुक्तानी नगर्ने ग्राहकको विद्युत् लाइन काट्ने जनाएको छ । केन्द्रले एक सूचना जारी गर्दै विद्युत् महसुल बुझाउन तोकिएको समयभित्र भुक्तानी नगर्ने तथा मिटर रिडिङ भएको मितिले ६० दिनसम्म महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न सकिने कार्यालय प्रमुख ज्ञान बहादुर फर्सालले जानकारी दिए ।

विद्युत् वितरण विनियमावली, २०७८ को विनियम ३१ तथा विद्युत् महसुल सङ्कलन विनियमावली २०७८ को विनियम १० बमोजिम विद्युत् सेवा लिएका ग्राहकले समयमै महसुल बुझाउनुपर्ने प्राधिकरणले स्पष्ट पारेको छ त्यसैले समयमै महसुल तिर्न कार्यालय प्रमुख फर्सालले उपभोक्तालाई आग्रह गरेका छन् ।

त्यसैगरी विद्युत् लाइन काटिएका ग्राहकले बाँकी रहेको विद्युत् महसुल तथा शुल्क अनलाइन प्रणालीमार्फत भुक्तानी गरी लाइन पुनः जडान गर्न लाग्ने ८५७.५० शुल्क बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

ग्राहकको सहजताका लागि लमही वितरण केन्द्रले असोज २४ र २५ गते शनिबार तथा आइतबार पनि विभिन्न महसुल सङ्कलन काउन्टर खुला राख्ने जनाएको छ । विद्युत् लाइन पुनः जडान गर्न तथा आवश्यक जानकारी लिन ग्राहकलाई सम्बन्धित काउन्टरमा सम्पर्क गर्न केन्द्रले आग्रह गरेको छ ।

विद्युत् महसुल बुझाउनेसम्बन्धी जानकारीका लागि ग्राहकले आय प्रमुखको मोबाइल नम्बर ९८६१५७९६९५ मा सम्पर्क वा ह्वाट्सएप गर्न सक्नेछन् । त्यसैगरी लाइन पुनः जडान तथा ठेगानासम्बन्धी जानकारीका लागि भालुवाङ, गढवा, रिहार, लमही र कोइलाबासका नो–लाइट सेवामा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

प्राधिकरणले विद्युत् सेवा नियमित रूपमा उपयोग गर्न तथा लाइन काटिने अवस्था आउन नदिन निर्धारित समयमै विद्युत् महसुल भुक्तानी गर्न ग्राहकलाई आग्रह गरेको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्