भारत सरकारको सहयोगमा सुन्दरहरैँचामा विद्यालयको नयाँ भवन निर्माण

दाङ समाचार
दाङ समाचार २१ आश्विन २०८३, बुधबार
1 Min Read
Aa

दाङ – भारत सरकारको सहयोगमा मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालयको नयाँ भवन निर्माण गरिएको छ ।

नवनिर्मित भवनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह र सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।

भारतीय दूतावासका अनुसार विद्यालय भवन उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण गरिएको हो । भवन निर्माणले विद्यालयको शैक्षिक वातावरण सुधार गर्नुका साथै विद्यार्थी र शिक्षकलाई सहज सिकाइ वातावरण उपलब्ध गराउन सहयोग पुग्ने मुख्यमन्त्री कार्कीले बताउनुभयो ।

दूतावासका अनुसार भारत सरकारले उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत नेपालका सातै प्रदेशका ७४ जिल्लामा हालसम्म ६०५ वटा परियोजना सञ्चालन गरिसकेको छ । कोशी प्रदेशमा मात्रै १०३ वटा र मोरङमा १७ वटा परियोजना कार्यान्वयनमा छन् ।

त्यस्तै भारतले कोशी प्रदेशलाई १५० वटा एम्बुलेन्स र ६२ वटा स्कुल बस उपलब्ध गराएको छ । तीमध्ये मोरङ जिल्लाले २१ वटा एम्बुलेन्स र १७ वटा स्कुल बस प्राप्त गरेको दूतावासले जनाएको छ ।

शिक्षा, स्वास्थ्यलगायत प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माण गरी स्थानीय विकास र समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गरिएको दूतावासले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्