कांग्रेस नेताद्वय पाण्डे गिरी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मनोनीत

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २० आश्विन २०८३, मंगलवार
3 Min Read
Aa

दाङ – नेपाली काङ्ग्रेसका निवर्तमान महासमिति सदस्य मोहन गिरी र निवर्तमान क्षेत्रीय सभापति भेषराज पाण्डे केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मनोनीत हुनुभएको छ । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले गिरी र पाण्डेलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मनोनीत गर्नुभएको हो ।

युवा पुस्तालाई प्राथमिकता दिने तथा ‘जेनजी’ पुस्ताले उठाएका मागलाई पार्टीले सम्बोधन गर्दै नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्ने धारणा राख्दै गिरी र पाण्डेले असोज १२ गते सम्पन्न नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी फिर्ता लिनुभएको थियो ।

पार्टीको नेतृत्वमा नयाँ पुस्तालाई अवसर दिनुपर्ने र संगठनमा पुस्तान्तरणको प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकतालाई आत्मसात् गर्दै दुवै नेताले आफ्नो उम्मेदवारी फिर्ता लिएर युवा पुस्तालाई अघि बढाउने वातावरण निर्माणमा योगदान दिनुभएको थियो । उम्मेदवारी फिर्ता लिएका दुवै नेतालाई पार्टी सभापति थापाले अहिले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मनोनीत गर्नुभएको हो ।

मोहन गिरी लमही नगरपालिका–७ का बहालवाला वडा अध्यक्ष हुनुहुन्छ । उहाँ दोस्रो कार्यकालका लागि वडा अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा समेत वडा नम्बर ७ मा नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार बनेका सबै उम्मेदवारलाई निर्वाचित गराउन गिरीको महत्वपूर्ण भूमिका रहेको थियो । दोस्रो कार्यकालको निर्वाचनमा समेत काङ्ग्रेसका सबै उम्मेदवारलाई विजयी गराउन उहाँले प्रभावकारी भूमिका निर्वाह गर्नुभएको थियो ।

स्थानीय तहमा जनप्रतिनिधिको जिम्मेवारीसँगै गिरी पार्टी संगठनमा समेत सक्रिय रहँदै आउनुभएको छ । उहाँ लमही नगरपालिकाको प्रवक्ताको जिम्मेवारीमा समेत हुनुहुन्छ । वडा तहदेखि नगर हुँदै पार्टी संगठनमा निरन्तर सक्रिय गिरीलाई स्थानीय तहमा काङ्ग्रेसको संगठन विस्तार र जनसम्पर्कमा प्रभावशाली नेताका रूपमा हेरिन्छ ।

त्यस्तै, भेषराज पाण्डे नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ को दुई कार्यकाल क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालिसक्नुभएका अनुभवी नेता हुनुहुन्छ । लामो समयदेखि पार्टी संगठनमा सक्रिय पाण्डेले क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहँदा संगठनलाई चलायमान बनाउन तथा पार्टीका विभिन्न गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउन भूमिका निर्वाह गर्नुभएको थियो ।

संगठनमा आएको चुनौतीपूर्ण परिस्थितिमा समेत कार्यकर्तासँग निरन्तर समन्वय गर्दै पार्टीलाई बलियो र गतिशील बनाउन भूमिका खेल्ने नेताका रूपमा पाण्डेको पहिचान बनेको छ । दुई कार्यकाल क्षेत्रीय सभापति भएर जिम्मेवारी निर्वाह गरिसकेपछि उहाँले नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्ने समयको माग रहेको भन्दै १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी फिर्ता लिनुभएको थियो ।

गिरी र पाण्डेको उम्मेदवारी फिर्तीलाई त्यसबेला पार्टीभित्र पुस्तान्तरण र युवालाई नेतृत्वमा अवसर दिने सकारात्मक सन्देशका रूपमा हेरिएको थियो । दुवै नेताले आफूहरूभन्दा नयाँ पुस्तालाई अघि बढाउनुपर्ने धारणा सार्वजनिक रूपमा राख्दै निर्वाचनको प्रतिस्पर्धाबाट पछि हट्ने निर्णय गर्नुभएको थियो ।

अहिले पार्टी सभापति गगनकुमार थापाले दुवैलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मनोनीत गरेसँगै उहाँहरूको योगदान र उम्मेदवारी फिर्ताको निर्णयलाई समेत पार्टी नेतृत्वले सम्मान गरेको देखिएको छ । संगठनमा लामो समयदेखि सक्रिय तथा क्षेत्रीय र स्थानीय तहमा जिम्मेवारी निर्वाह गरिसकेका गिरी र पाण्डेको मनोनयनले दाङ–१ को काङ्ग्रेस राजनीतिमा समेत चासो बढाएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्