दाङ – विश्वशान्तिको मुहान लुम्बिनीलाई भारतको उत्तरपूर्वी राज्यहरूसँग सिधा जोडेर बृहत्तर बौद्ध तथा सांस्कृतिक सर्किट निर्माण गर्ने पहल सुरु भएको छ । धार्मिक तथा अध्यात्मिक पर्यटनको अथाह सम्भावना भए पनि सोचे अनुरूप पूर्वाधार र बजारीकरण हुन नसकिरहेका बेला निजी क्षेत्र र स्थानीय निकायको संयुक्त पहलमा सीमापार पर्यटन अभिवृद्धि रणनीति अघि बढाइएको छ ।
यसै क्रममा लुम्बिनी होटेल सङ्घ नेपाल र उत्तरपूर्व भारतीय पर्यटन महासङ्घ (नर्थ इस्ट इन्डिया टुरिज्म फेडेरेसन) बिच लुम्बिनीमा बुधबार सम्झौता भएको छ । सम्झौताले लुम्बिनी र भारतका आठ उत्तरपूर्वी राज्यहरू आसाम, मेघालय, अरुणाचल, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरा र सिक्किमबिच सिधा पर्यटन सञ्जाल विस्तार गर्ने बाटो खोलेको छ ।
प्रस्तावित रणनीति अनुसार लुम्बिनीलाई केवल एक गन्तव्य मात्र नभई सम्पूर्ण क्षेत्रीय यात्रा मार्गको ‘केन्द्रीय ट्रान्जिट र वितरण हब’ का रूपमा विकास गरिने छ । भारतका उत्तरपूर्वी राज्यमा ठुलो सङ्ख्यामा रहेका बौद्ध धर्मावलम्बी तथा तीर्थयात्रीलाई लुम्बिनी ल्याउने र लुम्बिनी आएका पर्यटकलाई बुद्ध जीवनसँग जोडिएका रामग्राम, तिलौराकोट, देवदह जस्ता छिमेकी ऐतिहासिक स्थलसम्म पुर्याएर बसाइ अवधि लम्ब्याउने लक्ष्य राखिएको छ ।
पर्यटन व्यवसायीले नाका सहजता र यातायात सञ्जाल सुधारमा विशेष जोड दिएका छन् । पूर्वी नाका काँकडभिट्टा हुँदै लुम्बिनीसम्मको स्थलमार्ग र आगामी दिनमा हवाई सम्बन्धलाई सहज बनाउन दुवै देशका केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारसमक्ष संयुक्त वकालत गर्ने सहमति भएको छ ।
लुम्बिनी होटेल सङ्घका अध्यक्ष लीलामणि शर्माका अनुसार यो समझदारी दुई देशका पर्यटकीय सम्भावना जोड्ने दीर्घकालीन पुल बन्ने छ । अध्यक्ष शर्माले भन्नुभयो, “हामीले विहार र उत्तर प्रदेशपछि पहिलो पटक उत्तरपूर्वी भारतका पर्यटन व्यवसायीसँग यसरी हात मिलाएका हौँ । यसले नेपालको पूर्वी नाका हुँदै लुम्बिनीसम्म पर्यटक भित्र्याउन ठुलो मद्दत पुग्ने छ ।”

प्रतिक्रिया दिनुहोस्